छोराछोरीको नाम, प्रज्ञाको बदनाम

छोराछोरीको नाम, प्रज्ञाको बदनाम
सुन्नुहोस्

ज्ञान विज्ञान साहित्यको विकास र सम्बद्र्धन गर्ने काम गरिरहेको परिचित निकाय छ नेपाल प्रज्ञा प्रतिष्ठान । राजाको शासनकालमा राजकीय प्रज्ञा प्रतिष्ठान भनिने प्रज्ञा प्रतिष्ठान अहिले नेपाल प्रज्ञा प्रतिष्ठान भएको छ । संघीयतापश्चात् स्थानीय सरकारले पनि स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्न थालेपछि प्रज्ञा प्रतिष्ठानको चर्चा स्थानीय स्तरसम्मै पुगेको छ । तर यो सन्दर्भ कला साहित्य संस्कृति र ज्ञान विज्ञानको क्षेत्रमा काम गर्ने प्रज्ञा प्रतिष्ठानको नभएर भिन्न प्रकृतिले चर्चामा छ ।

ललितपुर महांकाल गाउँपालिकाको केन्द्र गोटिखेलमा नेकपा माओवादीका नेता रहेको एउटा गैरसरकारी संस्थाले बागमती प्रदेश स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दा प्रज्ञाको नाम विभिन्न ढंगले जोडिएको छ । खासमा प्रज्ञा स्मृति प्रतिष्ठान नामक संस्था माओवादी नेताहरूले स्थापना गरेका रहेछन् प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा । यो प्रतिष्ठान प्रज्ञा स्मृति प्रतिष्ठान भए पनि कार्यक्रम आयोजना गर्ने सन्दर्भमा सबैको साझा भन्ने पार्न प्रज्ञा प्रतिष्ठान भन्दै सहभागीहरू र सरोकारवालालाई बोलाउने गरिएको पाइएको छ । 

प्रज्ञा स्मृति भलिबल प्रतियोगिताको आयोजना गर्न प्रतिष्ठानले कार्यक्रम संयोजक डोल्मा गोले उपाध्यक्ष रहेको महांकाल गाउँपालिकालाई पहिलो अनुरोध गरेको थियो । गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले नेताका छोराछोरीको स्मृतिमा गौरवको प्रतियोगिताहरू आयोजना गर्दा विवादमा जोडिने भन्दै उक्त कार्यक्रमको आयोजना प्रस्ताव छलफलमै लैजान नमानेपछि प्रतिशोधको भावना लिएर उपाध्यक्ष डोल्माले एमाले,  एकीकृत समाजवादी,  विप्लव नेतृत्वको नेकपालगायतको अलग्गै भेलासमेत गरी प्रधानमन्त्री जाने कार्यक्रम भन्दै माहौल बनाउने प्रयास गरिरहेकी छन् ।

१ करोड ५० लाख रूपैयाँ लागत अनुमान गरिएको कार्यक्रम भन्दै डोल्मासंग निकट केही व्यक्तिहरूले वागमती प्रदेशभित्रका विभिन्न स्थानीय तहसँग मोटो रकम डिल गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसमेत भरतपुर महोत्सव उद्घाटनको शैलीमा चितवन गए जसैगरी आउने भन्दै प्रचार गरी आर्थिक सहयोग संकलन गरिरहेका छन् । 

प्रायः छलफलमा प्रज्ञा प्रतिष्ठान नै भन्ने गरेका आयोजक समितिका व्यक्तिले चलाखीपूर्ण ढंगले लिखित दस्तावेजमा भने प्रज्ञा स्मृति प्रतिष्ठान नै लेखेका छन् । नेकपा माओवादीसम्बद्ध राजनीतिक नियुक्तिप्राप्त ललितपुर जिल्ला खेलकुद विकास समिति सहआयोजक भनिए पनि प्रचण्ड परिवारका सदस्यहरूको स्मृतिका नाममा खेलकुद आयोजनामार्फत आफ्नो शक्ति प्रदर्शनको अभ्यास गरेको भन्दै विरोध भइरहेको छ भने प्रज्ञाको नाम चर्चा चलाएर प्रज्ञा प्रतिष्ठानको बदनाम गराइएको भन्दै साहित्यिक,  प्राज्ञिक तथा कला संस्कृति सम्बद्धहरूले पनि असहमति जनाएका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू