महिला सशक्तिकरणका लागि ‘रुई’ परियोजना

महिला सशक्तिकरणका लागि ‘रुई’ परियोजना

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले ‘रुई’ परियोजना सञ्चालनमा ल्याएको छ । आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका स्थानीय महिलाहरुको सशक्तिकरणका लागि गाउँपालिकाले सो परियोजना शुरु गरेको हो । 

'वर्ल्ड फुड प्रोग्राम'सँग समन्वय गरेर पाँच वर्षे परियोजना सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए । उत्पादनमूलक क्षेत्रमा महिलाहरुको सहभागिता बढाएर उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु परियोजनाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । 

अध्यक्ष चौधरीका अनुसार यस परियोजनामा ३४ समूहका नौं सयभन्दा बढी महिलाको प्रत्यक्ष सहभागिता रहेको छ ।

‘यो परियोजना वर्ल्ड फुड प्रोग्राम र गाउँपालिकाको समन्वयमा भएको हो । छिन्नमस्ताको वडा नम्बर ३ र ५ का महिलाहरुले समूह बनाएर विभिन्न तालिम लिइरहनुभएको छ । हाल कृषि, लघु उद्यम तथा उत्पादन मुलुक क्षेत्रमा सघाउनेलगायतका प्रशिक्षण दिइरहेका छौं । त्यसैगरी, बीऊ बिजन पनि सहयोग गरिरहेका छौं’, उनले भने । 

परियोजनाअन्तर्गत गत वैशाख १७ गते वडा नम्बर ३ का ६३१ जनालाई ६ हजार ७२० केजी र वडा नम्बर ५ मा १० केजीको दरले एक हजार ५७५ केजी धानको बिऊ वितरण गरिएको उनले जानकारी दिए । त्यस्तै, कोदो, गहुँ, आलु, तरकारीलगायतका बिऊ पनि वितरण गरिएको छ । 

पाँच वर्षे यस परियोजनाका लागि पाँच अर्ब रुपैयाँ लागत लाग्ने पालिकाले जानकारी दिएको छ ।
 

टिप्पणीहरू