माधव नेपालविरुद्धको हल्ला बालकोटबाटै फैलाइएको मेटमणिको दाबी

माधव नेपालविरुद्धको हल्ला बालकोटबाटै फैलाइएको मेटमणिको दाबी

नेकपा एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणको विपक्षमा नलाग्ने भएको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले सरकारको पक्षमा उभिने निर्णय गरेको छ । 

सरकारमै रहेका माधवकुमार नेपाल र उपेन्द्र यादवले नेपाली काँग्रेससँग मिलेर वैकल्पिक गठबन्धन निर्माणको कसरत गरेपछि त्यसलाई काउण्टर दिन अशोक राई समूहले जसपा नेपाल विभाजन गरेको चर्चा चलिरहेको छ । उपेन्द्र नेतृत्वको जसपाबाट विद्रोह गरेर छुट्टै दल दर्ता गराएका नेताहरुले त्यस्तो दाबी गरेका छन् । 

जसपा विभाजनपछि प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीसमेत फुट्नसक्ने टिप्पणी एकाएक चर्चामा आयो । यस्तो स्थितिमा आज बसेको बैठकले पार्टीमा कुनै बिग्रह नआएको र सबै सांसद एकढिक्का रहेको निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले पार्टीका बारेमा चलाइएका हल्ला भ्रमपूर्ण रहेको बताए । नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा सरकारलाई रचनात्मक सुझाव दिने निर्णय आजको बैठकले गरेको उनले जानकारी दिए ।  

पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले भने आफ्ना कार्यकर्ता र समर्थकलाई हतोत्साही गराउन बालकोटमा बसेर ‘एकीकृत समाजवादी फुट्दै छ’ भन्ने हल्ला चलाइएको दाबी गरेका छन् । योजनावद्ध रुपमा हल्ला चलाइएको बताउँदै उनले त्यसले कुनै असर नपार्ने बताए  ।

‘एकीकृत समाजवादीका कार्यकर्ताहरु, समर्थक र शुभचिन्तकहरुलाई डिमोरोलाइज गर्न सकिन्छ कि भनेर बालकोटमा बसेर प्रि–प्लानका साथ फैलाइएको अफवाह मात्रै थियो । यसमा हामीलाई कहीँ चासो पनि आउँदैन । विभाजनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउँछ’, सांसद चौधरीले भने, ‘ठूला दल नै विभाजनका लागि भूमिका निर्वाह गर्ने, आफ्नो कोठामा बोलाएर निर्देशन गर्नेकुरा गैरराजनीतिक असंसदीय कुराको रुपमा हामीले लिएका छौँ ।’

ठूला दलकै कारण लोकतान्त्रिक व्यवस्था कमजोर बनेको दाबी गरेका उनले जसपा विभाजनमा एमाले र माओवादी केन्द्रको भूमिका रहेको संकेत गरे ।

टिप्पणीहरू