हवल्दारसम्मलाई पनि रविले हटाए

सहकारीको ठगीकाण्ड अब झन् शंकास्पद

हवल्दारसम्मलाई पनि रविले हटाए

गृहमन्त्रीको ठगी चाल, अनुसन्धान गर्ने प्रहरीको बेहाल ! सहकारी ठगीमा संलग्न रवि लामिछानेमाथि अनुसन्धान गर्ने थुप्रै प्रहरी यसरी सेकिएका छन् ।

सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपीहरु रुगम कुँवर र दुर्गा दाहालमात्रै हैन, कास्की प्रहरीमा मुद्दा अभियोजन गर्न खटिएका हवल्दारसम्म बाँकी रहेनन् । कास्कीको सूर्यदर्शन सहकारी ठगीमा रविको संलग्नताबारे भर्खरै महानगरपालिकाले बुझाएको ३४ सय १० पृष्ठको प्रतिवेदनले धरै कुरा खुलस्त पारेको छ । उनी गृहमन्त्री हुनुअघिसम्म करिव करिव निश्कर्षमा पुगेको अनुसन्धानलाई प्रहरीले उल्ट्याइदिएको छ । यसबीच, कास्कीका एसपी मोहन थापाको खुट्टामात्रै लग्लगाएन, अनुसन्धानलाई रविअनुकूल पारिदिएबापत कास्की प्रहरीको मुद्दा फाँटमा काम गर्ने इन्स्पेक्टर सूर्यबहादुर राना पुरस्कृत भई कुस्त रकम उठाइने नाकामा सरुवा भए । उनलाई महोत्तरीको भारतीय सीमावर्ती क्षेत्र गौशालामा इञ्चार्ज बनाएर पठाइएको छ । १७८ टोली, अर्थात् ०७४ का इन्स्पेक्टर रानाले रवि मन्त्री भएपछि मुद्दामात्रै मिलाइदिएनन्, बिदामा बसेर सरुवा माग्न काठमाडौं पुगे । त्यसक्रममा विशेष सुरक्षा गण बेलचौतारा, तनहुँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्य शाखा (अपरेशन) हेर्ने अर्का इन्स्पेक्टर भुवन बरामले रानाको अनुपस्थितिमा मुद्दा फाँट सम्हाले । उनले रवि लामिछाने भनेको को हो ? भन्ने कुरा खुल्ने गरी, अर्थात् ती व्यक्ति गृहमन्त्री रवि नै हुन् भन्ने कागजी प्रमाण संकलन गरे । उनका बैंक खाता नम्बरहरु खुलाउन राष्ट्र बैंकलाई चिठी लेखे । कतैबाट यो कुरा रविको कानमा पुग्यो । र, एसपी मोहनलाई सोधे । मोहनले बुझ्दा त्यस्तो काम भुवनले गरेको पत्ता लाग्यो ।

प्रहरीको कुनै पनि हाकिमले आफूमातहतका कर्मचारीको संरक्षण गर्नुपर्नेमा आफू चोख्खिन तल्लो दर्जाका कर्मचारीको पोल खोल्ने र दुःख दिने आइजिपीदेखिकै बानीलाई मोहनले पनि निरन्तरता दिए । रविसँग उक्त चिठी लेखिएको विषयमा कार्यालय प्रमुखका हैसियतले मोहनले माफ मागे । अनि, उक्त चिठी लेख्ने आफ्नो मुद्दा फाँटका सबै कर्मचारीको विवरण दिए । त्यसमध्ये जिप्रकामा हाजिर भएको सात महिनामात्रै पुगेका भुवन बराम पर्वततिर लखेटिए । कम्प्युटर टाइप गर्ने हवल्दारसम्मले सुख पाएनन्, त्यहाँबाट लखेटिए । त्यसपछि इन्स्पेक्टर सरुवाको कारण खोज्दै हिँडे । जवाफ पाए, सीधै गृहमन्त्रीको आदेशमा भएको ! 

यसअघि नै बैंक स्टेटमेन्ट छानवीन गर्न कस्सिँदा एआइजी किरण बज्राचार्य सिआइबीबाट तानिएकी थिइन्, त्यो लहरो हवल्दारसम्म पुगेको हो । जबकि रविले पोखराको सूर्यदर्शन सहकारीबाट रकम लिनका लागि निवेदन दिएको, त्यसमा सही गरेको कागजात महानगरपालिकाको अनुसन्धानले नै पुष्टि गर्छ । हुँदाहुँदा कालिमाटी प्रहरीमा रहेको स्वर्णलक्ष्मी सहकारीबाट ४६ लाखका दरले २ पटक पैसा लिएको प्रमाण देखिने एउटा प्रतिवेदनसँग डराएर एसएसपी भूपेन्द्र खत्रीलाई काठमाडौं प्रहरी परिसरबाट हटाइयो । प्रहरीको विभागीय मन्त्री भएको बेला छानवीन गराएर क्लिन चिट लिनुपर्नेमा उल्टै प्रहरीलाई दुःख दिने काम भइरहेको रास्वपाकै केही नेताको भनाइ छ । 

रविले सूर्यदर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड पोखराको जनरल भौचरको लेजरमा मार्च १७, २०२४ मा भेरिफिकेशन गर्दा १६ लाख ३० हजार र त्यसपछि १ करोड ३० लाख ८८ हजार ७ सय ३३ रुपैयाँ लगेको देखिन्छ । प्रश्न उठ्छ– नलिएको पैसाको भौचर कसरी खडा भयो ? जबकि, लेजरमा रवि लामिछाने, गोरखा मिडिया भनेरै पैसा निकाशा भएको छ । जर्नल, अर्थात् अन्तिममा चाहिँ हिसाब मिलान गर्दै राफसाफ गरिएको छ । त्यसैबाट उनले रकम लिएको प्रमाणित हुन्छ । सूर्यदर्शन व्यवसायिक कर्जा भनेर एक करोड लगेको र कर्जासम्बन्धी आन्तरिक पत्र जारी भएको छ । १४ दशमलव ७५ प्रतिशत व्याज, अर्थात्, व्याजको दर घट्दो छ । अनि, उम्किने दाऊ खोज्दै नक्कली ठेगाना लेखाइएको छ, ‘पोखरा– ८, सिर्जनाचोक’ भनेर । त्यस्तो ठेगाना लेख्दै एक करोड ऋण प्रवाह गरियो । त्यसको व्याज करिव १६ लाख र अर्को वर्षको १४ लाख देखाइएको छ । रविको दावी छ, ‘माइन्युट गरेको छैन । निवेदन दिएको छैन ।’

पोखरा महानगरपालिकाले गरेको अनुसन्धानमा महानगरका कर्मचारीमात्रै संलग्न छैनन् । महानगरकै बासिन्दा तथा लेखा परीक्षक अनिल लामिछाने, सहकारी विज्ञ दीपकप्रकाश आचार्य र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) बाट खटाइएका एकजना अधिकृतले दिनरात लगाएर ३४ सय १० पृष्ठको प्रतिवेदन तयार पारेका हुन् । त्यसक्रममा सूर्यदर्शन सहकारीको आइटी हेर्ने कर्मचारी भविश्वर पराजुलीलाई जेलबाट ल्याएर सोधपुछ गरियो, सफ्टवेयर खोल्न लगाइयो र विवरणहरु खिच्ने काम गरियो । एउटै कम्प्युटरमा विभिन्न फाइल खोल्नका निम्ति १०–१२ वटा पासवर्ड र युजर नेम राखिएको थियो । यति मिहिन ढंगले गरिएको अनुसन्धानपछि बुझाइएको उक्त प्रतिवेदन प्रहरीले सबै खोलिसकेको छैन । 

सूर्यदर्शनले सर्वसाधारणसँग पैसा उठाएकोमात्रै देखिन्छ, ३ वर्षदेखि अन्त लगानी छैन । जति पैसा दिइएको छ, गोर्खा मिडिया, रवि लामिछानेहरुका नाममा मात्रै देखिन्छ । अर्थात्, पैसा उठाएर बाटो लाग्ने नियत राखेको प्रष्ट छ । यसरी गोर्खा मिडियामा मात्रै अर्बकै हाराहारीमा रकम गएको छ । रविका नाममा ५०–५० लाख रुपैयाँ गोर्खा मिडियामा लगिएको छ ।

रविका भित्रिया

गृहमन्त्री भएपछि रविको ‘कोर टिम’ झन् मजबुत बनेको छ । सबभन्दा सघन सहयोगी हुन्, वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त । भूपू एआइजी दिवेश लोहनी सुशीलका भाञ्जा । एसपी हुँदा पर्सामा बसेका । त्यही जिल्लामा एक कार्यकाल कमाण्ड सम्हालेका र अहिले लुम्बिनी प्रदेशतिर कार्यरत एक जना एसपीको हुण्डी कारोबारीको सूचनामा पहुँच छ । तिनले पाएको सूचनाअनुसार हुण्डी कारोबारीको अर्को पक्षसँग दिवेशमार्फत रविसम्म सम्बन्ध जोडिएको बताइन्छ । अहिले रवि गृहमन्त्री भएपछि दिवेशले ‘मेरो सबथोक चल्छ’ भनेको प्रमाण जिल्ला प्रहरीसँग छ, तर भन्न मिलेको छैन । त्यहाँ रविको ‘कोर टिम’ लाई महिनावारी दिनुपर्छ भनेर धन्दा चलेको छ । पहिला जिल्ला चलाएका एसपीले काठमाडौंको एउटा भोजमा दिवेशलाई तथानाम गाली गरेको देख्ने प्रहरीहरु अहिले पनि काठमाडौंमै छन् ।

यसअघि एसपी तानेको, डिएसपी सरुवा गरेको सबै दिवेशको सल्लाहमा हो ।  अर्कातिर, कालिकोटको रास्कोटमा अस्पताल खोल्ने विषयमा रवि लामिछाने फाउण्डेशनका नाममा ल्याइएको रकमको अनुसन्धान सिआइबीले गरिरहेको थियो । उक्त रकमको स्रोत, परिमाण, वैधानिकता र अस्पताल सञ्चालनका प्रक्रियाबारे सिआइबीमा छानबिन चल्दाचल्दै एआइजी किरण बज्राचार्यलाई हटाइएको छ । 
 

टिप्पणीहरू