मीटरब्याज पीडितसँग निवेदन माग

मीटरब्याज पीडितसँग निवेदन माग
सुन्नुहोस्

अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मीटरब्याज पीडितसँग निवेदन मागेको छ । पीडितहरुलाई सम्बोधन गर्दै आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन भनेको हो । 

कर्जा लिने र दिने व्यक्तिबीच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरुको शुरुदेखि हालसम्मको अवस्था यथार्थ खुल्नेगरी निवेदन दिन आयोगले आग्रह गरेको छ । मीटरब्याज पीडितहरुको यथार्थ समस्या समाधानका लागि तथ्याङ्क संकलन र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले निवेदन माग गरिएको आयोगले जनाएको छ । 

आयोगले आज सूचना जारी गर्दै २१ दिनभित्र निवेदन दिन सूचित गराएको छ । 

‘अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी विषयमा पीडित पक्षहरुबाट लेनदेन वा ऋण–कर्जा लिने व्यक्ति (आसामी) र ऋण–कर्जा दिने व्यक्ति (साहु) बीच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरुको शुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्नेगरी यस आयोगबाट निवेदन संकलन गर्नुपर्ने भएकोले अनुचित लेनदेनका पीडितहरुको यथार्थ समस्या समाधानको प्रयोजनका लागि तथ्याङ्क संकलन र आवश्यक कारबाही अघि बढाउन’, सूचनामा उल्लेख छ । 

आयोगका अनुसार पीडितहरुले भर्नुपर्ने निवेदन फाराम गृह मन्त्रालयको बेभसाइटमा राखिएको छ । त्यहाँबाट फाराम डाउनलोड गरेर सिडियो कार्यालयमा दर्ता गराउनुपर्नेछ । फारामसँगै लेनदेनसम्बन्धी लिखत, भर्पाइ, टिपोट, शर्तनामा वा सम्झौतालगायतका प्रतिलिपि पनि पेश गर्नुपर्ने जनाइएको छ ।
 

टिप्पणीहरू