नीजि सम्पत्तिमाथिको अधिकारमा अतिक्रमण गरेको आरोपमा मेयरविरूद्ध पक्राउ आदेश

नीजि सम्पत्तिमाथिको अधिकारमा अतिक्रमण गरेको आरोपमा मेयरविरूद्ध पक्राउ आदेश
सुन्नुहोस्

बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई, सदस्य चन्द्रमान श्रेष्ठ र वडा नम्बर ८ का अध्यक्ष सुमन तामाङलाई एक महिनाको कैद सजाय सुनाएको छ । 

स्थानीय एकजना ज्येष्ठ नागरिकले आफ्नो जग्गालाई नगरपालिकाले बलजफ्ती कब्जा गरेको र त्यसमा संरचना बनाइदिएको भन्दै ०७७ भदौ ३० गते निवेदन दिएका थिए । उक्त मुद्दामा अदालतले उक्त आदेश गरेको हो । 

अदालतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २३८(१६) अनुसार प्रतिवादीहरूलाई जनही १ महिना कैद सजाय तोकेको प्रष्ट पार्दै भनेको छ, ‘पालिकाले निवेदकको सम्पत्ति सम्बन्धी हक अधिकारलाई अतिक्रमण गरेको  देखिन आएको छ । यसो गर्ने अधिकार राज्यको हुँदैन, प्रतिवादीले अदालतको फैसलाको सम्मान नगरी अदालतको फैसलाको नै अवज्ञा गरेको समेत देखिन आएको छ ।’ 

कैदको हकमा प्रतिवादीहरुले ६० दिनभित्र संरचना हटाइ निवेदक एवम् वादीलाई चलन दिइ कब्जा छाडि दिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न नपर्ने पनि फैसलामा उल्लेख गरिएको छ । ‘प्रतिवादीहरूले ६० दिनमा संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाई दिन लाग्ने खर्च प्रतिवादीहरुमध्ये बूढानीलकण्ठ नगर पालिकाबाट असुल गर्नू’, फैसलामा भनिएको छ ।

टिप्पणीहरू