गृहमन्त्रीलाई दोहोरी साँझमा पस्न आग्रह, भित्रको सबै थाहा भएको दाबी

गृहमन्त्रीलाई दोहोरी साँझमा पस्न आग्रह, भित्रको सबै थाहा भएको दाबी

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ‘ग्ल्यामर्स’को बहानामा ‘भल्गारिटी’ बढेको बताउनुभएको छ । उहाँले पछिल्लो समय कला क्षेत्रमा बढ्दै गएको भल्गारिटीले नेपाली मौलिक संस्कृति नै धरापमा पर्दै गएको उल्लेख गर्नुभएको  छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको टोलीसँगको भेटघाटमा उहाँले उक्त धारणा राख्नुभएको हो । गायक पशुपति शर्माले विभिन्न सांस्कृतिक महोत्सवमा कलाकारको अनुशासनलाई नियमन गरिदिन गृहमन्त्रीलाई आग्रह गरेका थिए । 

‘विभिन्न मेला–महोत्सवमा बुबाआमा दिदिबहिनीहरु आउनुभएको हुन्छ, त्यहाँ उच्छृखंल प्रस्तुतीहरु हुन थाले, कतिपय शब्दहरु म आफैं पनि सुन्न सक्दिनँ’, उनले भने, ‘अमर्यादित र अनुशासनमा नबस्ने कलाकाहरुलाई हेर्न निकाय नभएर हो कि ? हुँदा हुँदा राम्रा कलाकारलाई पनि अलिकति उफ्रिनै पर्ने रहेछ भन्ने लाग्न थाल्यो, यो राम्रो होइन । यसमा तपाईंहरुले ध्यान दिनुपर्यो !’ 

जवाफमा गृहमन्त्री लामिछानेले तालुकदार निकायहरुसँग समन्वय गरेर उच्छृखंल प्रस्तुतीलाई नियन्त्रणमा ल्याउने आश्वासन दिनुभएको बताइएको छ । उहाँले भन्नुभयो, ‘तपाईंहरुले संस्कृति बचाउन खोज्नु भएको राम्रो हो । तर अरुको सिर्जनालाई मूल्यांकन गर्ने निकै जटिल काम हो । कस्तो सिर्जनालाई छाडा र कस्तोलाई राम्रो भन्ने ? यो गाह्रो छ । कसैको सिर्जनालाई अपाच्य भन्दिने हो भने फेरि सिर्जना बुझेकै रहेनछ भन्नलान् भन्ने पीर । यसका बाबजुद पनि तपाईं हामी जिम्मेवार मान्छेले यसलाई सच्याउनुपर्छ । म यसबारेमा संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयसँग समन्वय गरेर चाँडै अघि बढ्छु ।’ 

भेटघाटमा गायक बद्री पंगेनीले दोहोरी साँझमा देखिँदै गएको अराजकता नियन्त्रण र नियमन गरिदिन गृहमन्त्रीलाई आग्रह गरेका थिए । ‘हुन त म आफैँ २०÷२२ वर्ष दोहोरी साँझमा काम गरेँ, तर अहिले दोहोरी साँझहरु नाम मात्र कै भए’, उनले भने, ‘बाहिर नाम दोहोरी साँझ छ, भित्रै अर्कै चल्छ । विदेशी गीत बजाएर उच्छृखंल नाच चलिरहेको हुन्छ । कि बाहिर नाम दोहारी साँझ नराख्नु पर्यो, राखेपछि भित्र पनि दोहोरीको मौलिक संस्कृति झल्किनुपर्यो । यसमा गृह मन्त्रालयले कानुन बनाएर हुन्छ कि अनुगमन गरेर हुन्छ, केही गरिदिनुपर्यो !’ 

गृहमन्त्रीले आफूले पनि पछिल्लो समय दोहोरी साँझहरुमा मनोरञ्जनको नाममा भल्गारिटी बढेको स्वीकार गर्नुभएको भेटमा पुगेका एक जना कलाकारले बताए । यसका लागि गृह मन्त्रालयले चाँडै नियमनको कदम चाल्ने जानकारी दिइएको छ । उहाँले भन्नुभयो, ‘उनीहरु (दोहोरी साँझ) लाई पनि अरु गीत बजाउन पाईंदैन भन्न त सकिन्न । यहाँ त असल उद्देश्यका साथ राम्रो काम गर्दा पनि कुन नियमबाट गरिस् भन्ने हुन्छ क्या । यहाँ त बडो गाह्रो पो छ त । चोर समाउँदा पनि किन कठालोमा समाइस्, हातमा समाउनु पर्दैन ? वा खुट्टामा समाउनु पर्दैन भन्ने खालको जमात पो छ त । तर ढुक्क गर्नुस् तपाईंहरुको मागलाई हामी सम्बोधन गर्न हामी चाँडै ठोस कदम चाल्छौँ ।’

 

टिप्पणीहरू