काभ्रेपलाञ्चोकका सहकारी पीडितसँग उजुरी मागियो

काभ्रेपलाञ्चोकका सहकारी पीडितसँग उजुरी मागियो

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले यू.एम. बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी मागेको छ । बनेपा नगरपालिका १० मा रहेको सहकारीमा निक्षेप जम्मा गरेका पीडित निक्षेपकर्ताहरुलाई उजुरी दिन प्रहरीले आग्रह गरेको छ । 

जिप्रकाले सूचना जारी गर्दै पीडित बचतकर्ताहरुलाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेण्ट, मुद्दती प्रमाणपत्र र सम्बन्धित पीडितको नागरिकतासहित उजुरी दिन सूचित गराएको छ । 

‘सम्पूर्ण पीडित बचतकर्ताहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेण्ट, मुद्दती प्रमाणपत्रलगायतको र सम्बन्धित पीडित बचतकर्ताहरुको नागरिकतासमेतको परिचय खुल्ने कागजातहरु सहित कानुनबमोजिम ढाँचामा जाहेरी दरखास्त लिई मुद्दाको हदम्याद समेतलाई मध्यनजर गरी यस श्री जिल्ला प्रहरी कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा सम्पर्क राख्न हुन बचतकर्ताहरुमा सूचित गरिन्छ’, सूचनामा उल्लेख छ । 

उक्त सहकारीको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठसहितले बचतकर्ताको छ करोड ४७ लाख ५७ हजार ८५५ रुपैयाँ हिनामिना गरेको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का दिनेश श्रेष्ठसहित ७९ जनाले जिप्रकामा जाहेरी दिएका थिए । 

गत जेठ २२ गते जाहेरी दर्ता भएको जिप्रकाले जानकारी दिएको छ । सो सहकारी ठगीको विषयमा अनुसन्धान भइरहेकालाई बाँकी रहेका पीडित बचतकर्तासँग पनि उजुरी आह्वान गरिएको जनाइएको छ ।

टिप्पणीहरू