ढुक्क भएर नेपालमा लगानी गर्न महासंघ अध्यक्षद्वारा विदेशी व्यवसायीलाई आग्रह

ढुक्क भएर नेपालमा लगानी गर्न महासंघ अध्यक्षद्वारा विदेशी व्यवसायीलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताउनुभएको छ । जेनेभामा आयोजित ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राख्नुभएको हो ।

जुन ३ तारिखदेखि स्विट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकालले रोजगारदाताको प्रतिनिधत्व गर्दै सम्बोधन गर्नुभएको बताइएको छ । नेपालका रोजगारताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको उहाँको भनाई छ ।

सामाजिक सुरक्षा, लैगिंक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरुलाई नेपालमा लगानी बढाउन पनि आग्रह गरे । भारतसँग १० हजार मेगावाट विद्युत खरिद सम्झौता भएको र बंगलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

भारत र चीन जस्ता धेरै जनसंख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिलस्टेसनहरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उल्लेख गर्नुभएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सूचना प्रविधि, कृषिजन्य उद्योगलगायत उत्पादनमूलक क्षेत्रहरु पनि नेपालमा लाभका क्षेत्र रहेको उहाँको भनाई छ । 

लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अंगीकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागीलाई जानकारी गराउनुभयो ।

सम्मेलनका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आईओई) का उच्चपदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको छ ।

टिप्पणीहरू