बहिदार मामाले सच्चाइदिएका थिए कर्णेलको नागरिकता

बहिदार मामाले सच्चाइदिएका थिए कर्णेलको नागरिकता

संयुक्त राष्ट्र संघको मुख्यालय,न्यूयोर्कमा कार्यरत कर्णेल डिरेन्द्र मल्ल अघिल्लो सातादेखि भद्रकालीस्थित सैनिक मुख्यालयको हिरासतमा छन् । उनीमाथि नागरिकतामा मिति सच्याएको र अनुशासनहीन काम गरेको आरोपमा छानबिन भइरहेको सैनिक जनसम्पर्क अधिकृत सहायक रथी गौरव केसीले बताए ।

सेनाको औपचारिक स्रोतले उनीमाथि आवश्यक अनुसन्धान र छानबिन भइरहेको बताए पनि विस्तृत रुपमा जानकारी दिएको छैन । तर,अनौपचारिक स्रोतले मल्लको नागरिकतामा फरक परेको जन्म मिति र सैनिक अनुशासनबारे सोधपुछ र अनुसन्धान भइरहेको दाबी गरेको छ ।

‘उनको नागरिकतामा करेक्सन गरिएको पाइएको छ । मामा बहिदार रहेछन् । एसएलसीको क्यारेक्टर सर्टिफिकेट र नागरिकतामा जन्ममिति परक परेको देखिएपछि उनै बहिदार मामाले नागरिकता प्रमाणपत्रमा करेक्सन गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ स्रोतले भन्यो । मल्लले एसएलसी सर्टिफिकेटअनुसार नागरिकता सच्याएको पाइएको हो । 

तर, त्यसरी करेक्सन गर्दा जिल्ला प्रशासन कार्यालयको ढड्डामा भने सच्याइएको थिएन । नागरिकतामा मात्रै मिलाएको  पाइएपछि फरेन्सिक जाँचबाट पता लागेको हो । सेनाले त्यसबारे मौनता साँधेको र रक्षा मन्त्रालयले पत्ता लगाएको बुझिएको छ । 

यसअघि आगामी प्रधान सेनापतिको लाइनमा बसेका ताराध्वज पाण्डे विरक्तिएर अष्ट्रेलिया पुगेका छन् । सर्टिफिकेट काण्ड लागेपछि जागिर छाडेर हिँडेका पाण्डे छ महिनाको लागि भनेर गएका थिए ।

रक्षा मन्त्रालयले जिल्ला प्रशासन कार्यालयसँग आवश्यक सोधपुछ गरेपछि नागरिकता र ढड्डामा जन्म मिति फरक परेको पाइएको हो । त्यसपछि अमेरिकाको न्युयोर्कबाट बोलाएर उनीमाथि फर्जी नागरिकता पेश गरेको आरोपमा आवश्यक अनुसन्धान थालिएको छ । 

भक्तपुरको मल्ल नेवार परिवारका उनका पिताको थरसमेत फरक परेको अर्को तथ्य खुलेको छ । एसएलसी क्यारेक्टर सर्टिफिकेट र नागरिकतामा जन्ममितिसँगै पिता र छोराको थर फरक परेको बताइन्छ । जन्ममिति बहिदार मामाको सहयोगमा सच्चाइए पनि थर सच्चाउन महाभारत भएको देखिन्छ ।

यता, सेनाको तालिम निर्देशनालयका प्रमुख सन्तोष ढकाल पनि विवादमा तानिएका छन् । तालिम निर्देशनालय मातहतको खेलकुद केन्द्रमा तालिमेहरुको पैसा मनपरी खाएको आरोप छ । कमाण्डरलाई ढिम्किन नदिएर कृति नामक महिला मेजर मार्फत् खरिदलगायत आम्दानी हुने सबै क्षेत्रमा हात हालेर ‘लखनउ लुट’ मच्चाइएको जनआस्थालाई प्राप्त रक्षा मन्त्रालयलाई बुझाइएको उजुरीमा उल्लेख छ । 

सन्तोषले चर्को चलखेल र खेलोफड्कोसँगै आफ्ना हाकिमहरुविरुद्ध छिर्के दाउ हानेपछि उनीविरुद्ध लुकेका विषय एकाएक बाहिर आउन थालेको बताइन्छ । त्यस्तै यसअघि आगामी प्रधान सेनापतिको लाइनमा बसेका ताराध्वज पाण्डे विरक्तिएर अष्ट्रेलिया पुगेका छन् । सर्टिफिकेट काण्ड लागेपछि जागिर छाडेर हिँडेका पाण्डे छ महिनाको लागि भनेर गएका थिए । तर यताको पारा झन् गएगुज्रेको देखेपछि केही समय अझै उतै बस्ने जवाफ पठाएको पारिवारिक स्रोतको दाबी छ ।

टिप्पणीहरू