राष्ट्रिय गीतमा १५ महिने शिशुको ताली, क्रान्तिकारी १० जोडीलाई सम्मान यसपालि

राष्ट्रिय गीतमा १५ महिने शिशुको ताली, क्रान्तिकारी १० जोडीलाई सम्मान यसपालि

‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची–महाकाली–२, प्रकृतिका कोटीकोटी सम्पदाको आँचल, वीरहरुका रगतले स्वतन्त्र र अटल । ज्ञानभूमि, शान्तिभूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल..........’ अस्ति भरतपुर महानगरपालिकाको सभाहलमा राष्ट्रिय गीतको आवाज घन्किँदा एउटी १५ महिने शिशु जानीनजानी थपडी बजाउन खोज्दै थिइन् । साउन्ड सिस्टमसँगै सहभागी सबैले राष्ट्रको सम्मानमा उभिएर राष्ट्रिय गीत गाउँदा अभिभावकको काखमा रहेकी अवोध बालिकाले आफैं दुई हात जोडेर रमाउँदै ताली पिट्न लागेको दृश्यले माहोल रोमाञ्चित भएको थियो । बोलीसमेत नफुटेकी बच्चीको त्यो बालसुलभ व्यवहारले एकपछि अर्काे क्रान्तिकारी कदमहरु चाल्दै नेपालकै नमूना महानगरको प्रसिद्धि पाउन सफल भरतपुर महानगरपालिकाबाटै अब नेपालमा राष्ट्रियताको मूल फुट्ने र सम्पूर्ण देशबासीमा राष्ट्रप्रेमको भाव उर्लिने सुनौलो संकेत गरेको हो कि !
 

सामन्ती संस्कारको अवशेषको रुपमा रहेको जातीय विभेद तोड्न कानुन बनाएरै अन्तरजातीय विवाहलाई प्रोत्साहन एवम् प्रेरित गर्ने काम पनि भरतपुरले शुरु गरेको छ । यस्तो कदम मुलुकका अन्य स्थानीय सरकारले चालेको सुनिएको छैन । सदियौंदेखिको लैंगिक विभेदको निरन्तरतास्वरूप रहँदै आएको समाजको पितृसत्तात्मक सोच कहाँ निर्मूल भइसकेको छ र ? गर्भपरीक्षण तथा पहिचान गरी भ्रूण हत्या गरेर कैयौं छोरीहरुलाई नजन्मिँदै मार्ने प्रवृत्ति अझै विद्यमान छ । अशिक्षा, अन्धविश्वास र रुढिवादको जालो ठाउँ–ठाउँमा देखिन्छ । छोरीहरुको उच्च शिक्षाको लागि जन्मिनेबित्तिकै 'छोरी बीमा' गरी रकम जम्मा गरिदिने अत्यन्त सराहनीय कदम पनि भरतपुरबाटै सुरुवात भएको छ ।

महानगरवासीलाई निःशुल्क खानेपानीको व्यवस्थादेखि ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरुलाई सरकारी अस्पतालमा निःशुल्क ओपिडी टिकटको व्यवस्था मेयर रेनु दाहालको दुवै कार्यकालका साहसिक निर्णय हुन् । भौतिक प्रगतिमा पनि अग्रणी महानगरको रुपमा लम्किएर कार्यसम्पादन मूल्यांकनमा सर्वाेत्कृष्ट हुँदै आएको भरतपुर र नेतृत्वको प्रशंसा नगर्ने सायदै होलान् ! कोरोना कहर, आर्थिक मन्दी लगायतले थलिएको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि राष्ट्रियस्तरकै कार्यक्रमजसरी ‘घुमौं भरतपुर’ नाराकासाथ ‘भ्रमण वर्ष २०२४’ को भव्य चाँजोपाँजो मिलाइनु पनि चानचुने विषय थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन गरिएको कार्यक्रममा सहभागी हुन आएका प्रमुख दलका सबै शीर्ष नेताहरुले समेत भरतपुर महानगरपालिका र यहाँकी मेयर रेनु दाहालको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

भरतपुर भ्रमण वर्षले चितवनलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने, सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न पर्यटन प्रवद्र्धनको निम्ति कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो सात वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिंगो देशलाई नै एउटा सन्देशमात्र दिएको नभई यथार्थमा नेतृत्व नै गरिरहेको सगर्व कहे । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय सरकारको विकासको मूल नेतृत्व नै भरतपुर महानगरपालिकाले गरिरहेको बताए भने रास्वपा सभापति रवि लामिछानेले पनि मेयर रेनु दाहाल र भरतपुर महानगरपालिकाको टिमको सक्रियताको तारिफ गरे ।

रेनुको नेतृत्वमा भरतपुरमा द्रुत गतिमा विकास भइरहेको भन्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने ‘तपाईं (रेनु दाहाल) पुष्पकमल दाहालको मात्र छोरी होइन, नेपालकै छोरी हो ।’ अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विकास कसरी गर्ने ? भनी अरु पालिकाहरुले भरतपुरबाट सिक्नुपर्ने बताएका थिए । नेपालको मध्यभागमा अवस्थित भरतपुर महानगरपालिका देशकै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समेत बताए । कार्यक्रममा केही ढिलो आएका अर्का पूर्वप्रम केपी ओलीले पनि भरतपुरको प्रशंसामा केही शब्द खर्चिएका थिए ।

भरतपुर महानगरपालिकामा अन्तरजातीय बिहे गर्ने जोडीलाई सम्मान कार्यक्रम गर्न थालेको चार वर्ष भयो । पहिलो र दोस्रो वर्ष तीन-तीन जोडी, तेस्रो वर्ष सात र यसपटक १० जोडीलाई सम्मान गरिएको छ । गत आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गर्ने जोडी, उनीहरुका सन्तान र केहीको अभिभावक पनि आएका थिए । अहिले संविधानले नै जातीय विभेद तथा छूवाछुतको अन्त्य गरेको छ । फलत: नेपाली समाजमा पछिल्लोसमय जातीय विभेद तथा छूवाछूतका घटना धेरै कम भएको सबैले स्वीकार्नैपर्छ । तर आमूल परिवर्तन हुन बाँकी नै छ ।

नामको पछाडि लेखिने थरलाई त्यसै जात भनी काम न काज सोही शब्दको आधारमा आफूलाई ठूलोजाति भन्न पाएकाहरुको कुप्रथालाई मलजल गर्ने कुटिल प्रपञ्च छँदैछ । त्यसमाथि कैयौं पीडितहरु नै कुसंस्कारको दासी भइदिँदा समाजमा अझै संघर्ष, चेतना, विद्रोह र क्रान्तिको खाँचो देखिन्छ । सदियौंदेखि परम्पराको नाममा समाजमा विषकै रुपमा घोलिएर रहेको सामन्ती संस्कारलाई ध्वस्तै पार्न सबै जातजातिबीच प्यारो, सुमधुर, कुटुम्बीय सम्बन्ध बढाउनैपर्छ । भरतपुरमा स्थानीय सरकारको तर्फबाट गरिएको यो नीतिगत व्यवस्था पनि एक महत्वपूर्ण क्रान्तिकारी कदम हो ।

माओवादी जनयुद्धको जगमा र त्यसकै बलमा मुलुकमा राज्यव्यवस्था परिवर्तन भएर नयाँ संविधान जारी भई दलित तथा उत्पीडनमा परेका शोषित, निमुखा जनताले धेरै हदसम्म न्याय तथा अधिकार पाउन सकेको यथार्थचित्र चलचित्र प्रसाद–२ मा समेत प्रस्टरुपमा चित्रित छ ।
 
जातीयताको निहुँमा अल्पसंख्यकहरुमाथि अत्यन्त नीच, क्रूर, पाशविक रुपमा अमानवीय व्यवहार गरिँदै आइयो । कुकुर, बिरालोलाई घरमा हुले तर सानो जात भनेर मान्छेकै छोराछोरीलाई छि-छि, दूरदूर गरी घरमा छिराएनन् सामन्ती ढाेंगीहरुले । त्यो कुसंस्कारको धङधङी अहिले पनि समाजमा कायमै छ । यसलाई जरैदेखि उखेलेर निमिट्यान्न पार्न स्थानीय सरकारले पनि जिम्मेवारी लिने जमर्काे गरेको जनाउँदै भरतपुर महानगर प्रमुख रेनु दाहाल भन्छिन्, ‘कुपरम्परालाई तोड्नैपर्छ । हामीले नगरे कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ?’ भरतपुर महानगरपालिकामा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न एकलाख रुपैयाँ नगदसहित नवविवाहित जोडीलाई गरिँदै आएको यो सम्मान कार्यक्रमले अरुलाई पनि सकारात्मक सन्देश गएको भन्दै मेयर रेनुले यसलाई निरन्तरता दिँदै जाने बताएकी छिन् ।  

नामको पछाडि लेख्दै आएको शब्दलाई नै जात भनी त्यसैको आधारमा अहिलेसम्मै दलित र गैरदलित भनेर मान्छेलाई विभक्त गरिँदै आएको हाम्रो देश–समाजमा यस्तो अन्तरजातीय बिहे पनि दलित भनिने केटा र गैरदलित भनिएकी केटीबीच मात्रै प्रायशः हुँदै आएको छ । गैरदलित भनिने पुरुषले दलित भनिनेकी छोरी बिहे गरेर घर हुलेको खासै पाइन्न । भरतपुरमा अहिलेसम्म सम्मानित २३ जोडीमा पनि एक दम्पतिमात्रै देखिए, भरतपुर–१४ का विवश महतो र प्रतिमा सुनारको जोडी । यो अवस्थालाई मध्यनजर गर्दै मेयर रेनु भन्छिन्, ‘गैरदलित केटाले दलित केटी बिहे गर्ने क्रम सुरुवात् भएको छ, यसलाई पनि हामीले प्रोत्साहन गर्नुछ ।’

यसपालि सम्मानित हुने अन्यमा भरतपुर–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ बाट नवीन विक र कमला श्रेष्ठ, भरतपुर–११ बाट विवेक सुनार र अम्बिका कार्की, भरतपुर–१६ बाट सुशील परियार र सुस्मिता बुढाथोकी, भरतपुर–२५ बाट अविनाश सुनार र मिना भुजेल, भरतपुर–१४ का पदमबहादुर विक र फूलमाया लावती, भरतपुर–१५ का विनोद परियार र अरुणा राई अनि भरतपुर–६ बाट सुवास विक र माया कुमाल रहेका छन् ।

अझ थर फेर्ने प्रचलनसमेत बढ्दै गयो भने यो जातीयता र जातीय विभेदको घेरो छिट्टै मेटिनेछ । बाबुआमाको नागरिकतामा थर भनेर लेखिँदै आएको शब्द नै बच्चाको नामको पछाडि राख्न जरुरी छैन । बच्चाको जन्मदर्ता गर्दा आफूलाई मनपर्ने वा राम्रो लाग्ने शब्द नामथरको रुपमा मज्जाले लेख्न सकिने केही वर्षअघि चितवनका सिडिओ सुरेन्द्र पौडेलको भनाइसमेत राखेर जनआस्थामा ‘ब्रह्मज्ञान नै नभएको तिमी कसरी बाहुन ?’ शीर्षकमा लेखसमेत छापिइसकेको छ । मान्छेको आफ्नो पहिचानको अधिकार आफ्नै हातमा भएको भन्दै आफ्नो इच्छाले नामथर राख्न पाउने अर्थात् बाबुआमाको नागरिकताकै थर बच्चाले पनि लेख्नैपर्ने बाध्यता कानुनमा नरहेको जनाउँदै प्रमुख जिल्ला अधिकारीे भन्छन्, ‘त्यसको लागि जन्मदर्ता गर्दा नै मिलाउनुपर्छ ।’

बाबुआमाको नामथर नागरिकतामा जे लेखिएको भएपनि बच्चाको जन्मदर्ता गर्दा नामथर भनी अमन चयन, क्रान्ति वीर, प्रेम गीत आदि इत्यादि समेत राख्न पाइने सिडिओ बकाइदा बताउँछन् । ‘थर नै लेख्दिनँ, एक शब्दको नाम मात्र राख्छु भनेपछि पाइन्छ’, उनले भने । यसरी सबैले पीडितहरुले अहिले कायम रहेको थर फेर्न थाले भने जातीय विभेदको खाडल छिट्टै पुरिने सिडिओ पौडेलको पनि बुझाइ छ ।

अन्तरजातीय बिहेपनि मागेर भन्दा भागेरै ज्यादा गरिरहनुपरेको छ । त्यहाँ सम्मानित एक दम्पतीको बिहेचाहिँ अन्तरजातीय भएपनि मागेरै भएको बताइयो । शान्ति घर्तीकी आमा विष्णुमाया लिम्बुले भनिन्, ‘ड्याङ्गै दिएँ । किन डराउने समाजसित  ? अरुसित ?  आफ्नो कुरा हो नि ! दुवैले एकअर्कालाई मन पराउने, माया गर्ने भएपछि हामीले किन छुटाउने ?’

भरतपुरको यो कार्यक्रमले दम्पतिलाई आदर्श र जिम्मेवार बन्न उत्तिकै प्रेरित गरेको छ ।  महानगरपालिकाकी स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले परिवर्तनको संवाहक बनेर लागिपरिरहन उनीहरुलाई अनुरोधसमेत गरिन् ।

कार्यक्रममा सम्मानित आशिष विकले अहिलेसम्म कतै नसुनेको नमूना काम भरतपुर महानगरले गरेको भन्दै खुशी व्यक्त गरे । मानव–मानवबीच विभेद होइन, समान व्यवहार गरौं भन्ने मर्मलाई स्थापित गर्ने उद्देश्यले भरतपुरमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान कार्यक्रम अगाडि बढाइएको भनाइ राख्दै उपमेयर चित्रसेन अधिकारीले हामी मानव हौं, विभेद हुनुहुँदैन भनेर विवाह बन्धनमा बाँधिने ती जोडीहरुलाई परिवर्तनको लागि मसिहाकै संज्ञा दिए ।

यसरी भरतपुरलाई हरेक कुरामा उत्कृष्ट महानaगर बनाउने प्रयत्न भइरहँदा अब राष्ट्रियताको सवालमा पनि मुलुकमा आवश्यक क्रान्तिकारी कदम भरतपुरबाटै चालिने र महानगरले नै त्यसको नेतृत्व गर्ने विश्वास जनतामा जागेको छ । प्रतीक्षा गर्नुहोस्, भरतपुर चितवनबाट राष्ट्रियतासम्बन्धी अर्को खोज तथा अनुसन्धानमूलक लेखसमेत अबको केही दिनमा हामी प्रकाशित गर्दैछौं । – अजय गोर्खाली

टिप्पणीहरू