भरतपुरमा नयाँ पाहुना दाैंतरी, हामी सबै बाटोकै चौतारी

भरतपुरमा नयाँ पाहुना दाैंतरी, हामी सबै बाटोकै चौतारी

भरतपुर महानगरपालिकाको प्रशासन सम्हाल्न कोशीबाट भर्खरै आएका प्रमुख प्रशासकीय अधिकृत अस्ति आफैं विभिन्न शाखा–महाशाखा चहारेर कर्मचारीहरुसँग चिनापर्ची गर्दै कार्यालयको हालचाल बुझ्न व्यस्त देखिन्थे । नेपाल सरकारका सहसचिव लक्ष्मीप्रसाद पौडेल कोशी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रदेश सचिवको रुपमा कार्यरत थिए । 

गत बिहीबार पंक्तिकार पुग्दा पनि भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखामा छिरेर मुद्दाको अवस्था बुझ्दै गर्दा भेटिए  । नयाँ हाकिमले सुरुमै ‘के छ मुद्दाको अवस्था ?’ भनी सोधेपछि कानुन शाखाका कर्मचारीले सर्वाेच्च अदालतमा १०/१२, अनि उच्च र जिल्ला समेतमा गरी समग्रमा २०/२५ वटा मुद्दा अदालतमा पुगेर विचाराधीन रहेको जानकारी गराए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले यहाँको स्थानीय र प्रदेशको पनि कार्यविधि देखाउन सम्बन्धित कर्मचारीहरुलाई भने ।’ यतिबेला दिनको करिब ११ः२० भएको थियो ।

यसपछि सँगैको आन्तरिक व्यवस्थापन तथा खरिद शाखामा नयाँ हाकिमको प्रवेश भयो । हाकिम नै कार्यकक्षमा आउँदा सबै कर्मचारीहरुले दुई हात जोड्दै कुर्सीबाट उठेर स्वागत–सम्मान गरेका थिए । यसैगरी शाखा प्रमुख झलककुमार श्रेष्ठ आफ्नै कार्यकक्षमा देखिन्थे । जिन्सी शाखामा पुगेर हाकिमले मेकानिकल इन्जिनियरको नाम सोध्दासोध्दै विवश केसी टुप्लुक्क आइपुगे । प्रमुख प्रशासकीय अधिकृतले सरसफाइमा प्रयोग हुने सामान केके छन् ? भनी जान्न चाहे । भरतपुरमा दुईवटा जेसीबी र दुईवटा कम्प्याक्टर रहेको बताइयो । ७/८ वटा ट्याक्टरसमेत रहेको कर्मचारी रोशन तामाङ. बताउँछन् । यहाँ हाकिमले यो पनि सोधे, ‘ब्रुमर छ कि छैन हामीसँग ?’ विवशले भने, ‘भर्खरै नयाँ आछ सर ।’ 

आन्तरिक व्यवस्थापन शाखा रहेको प्रशासकीय भवनको सबैभन्दा माथिल्लो तलामा फर्निचर लगायतका पुराना थोत्रा जिन्सी सामानहरु भद्रगोल हालतमा देखेपछि कर्मचारीहरुलाई उतिबेलै उनले भनेका थिए, ‘बरु बाहिर टहरा बनाएर सार्न मिल्छ भने सारिहालौं १’ ‘मूल्याङ्कन गरेर लिलाम गरिदिए हुन्छ’ पनि उनले भनेका थिए । यसैबीच, आज हेर्दा छरपष्ट रहेका सबै सामानहरु त्यहाँबाट हटाइसकिएको पाइयो । 

सो दिन उपभोक्ता हित संरक्षण समितिको अफिसमा केहीबेर कुरा गरेर निस्किएपछि हाकिम लक्षमीप्रसाद राजश्व शाखाको भवनतिर लम्किएका थिए । राजस्व फाँटबाट बाहिरिँदै गर्दा नजिकैको अर्काे भवनबाट योजना, शिक्षा, भौतिक पूर्वाधार लगायत शाखाका प्रमुख तथा कर्मचारीहरु प्रशासकीय भवनतिरै आउँदा जम्काभेट भयो । हाकिमलाई बाटोमै भेटेपछि उनीहरुले भने, ‘तपाईंतिरै जाँदै थियौं ।’ त्यहाँबाट उनीहरु फेरि हाकिमको प्रतीक्षामा आफ्नै कार्यकक्षतिर लागे ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल उक्त राजस्व शाखाकै भवनको भर्याङ उक्लिएर माथिल्लोे तलामा रहेका विभिन्न शाखा तथा फाँटहरुको निरीक्षणतर्फ लागे । नक्सा शाखामा पुगेर अनलाइन तथा डिजिटलाइजेसन भए, नभएको सोधे । त्यहाँकी कर्मचारीले पुरानो नक्सा पनि स्क्यान गरेर डिजिटलाइजेसन गरिरहेको जानकारी गराइन् । यसपछि रोजगार, वातावरण तथा सरसफाइ शाखामा हाकिमको आगमन भयो । सरसफाइका सुपरभाइजर अभय तिमिल्सिनालाई ‘केही समस्या छ, छैन ?’ भनी सोधियो । अभयले ‘धेरै छ सर !’ भनी सुनाएपछि तत्काल हाकिमले उनलाई भने, ‘सानो–सानो पनि नछुटाउनुहोला !’

त्यहाँबाट निस्किएर योजना तथा बजेट शाखामा पुग्दा शाखा प्रमुख सन्तोष आचार्य बाहिर फिल्डमा गएको अरु कर्मचारीले अवगत गराए । योजनाको त्रैमासिक प्रगति प्रतिवेदनबारे नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिज्ञासामा कर्मचारीहरुले वडास्तरीय कार्यक्रमको वडाले नै बनाउने र नगरस्तरी कार्यक्रमको महानगरले नै बनाउने गरेको बताएपछि हाकिमले भने, ‘कम्पायर त गर्नुपर्यो नि !’ 

खरिद इकाइ, शहरी पूर्वाधार फाँट पनि सरर नियालेपछि फलामको भर्याङ उक्लिँदै माथि शैक्षिक प्रशासन महाशाखामा हाकिम पुगेका थिए । ठिक त्यसैबेला त्यहाँ सुस्तमस्थिति भएकाहरुलाई पढाउने एक विद्यालयका पदाधिकारीहरु शिक्षक थप्नुपर्ने प्रस्ताव लिएर आएका रहेछन् । ३४ जना विद्यार्थी भएको विद्यालयमा दुईजना मात्र शिक्षक रहेको र भवन पनि सानो भएको भन्दै उनीहरु सहयोगको माग गर्दै थिए । बताइएअनुसार यस्ता विद्यालयमा ३०/४० वर्षका मान्छे पनि पढ्न बस्छन् । सुस्तःमनस्थिति कल्याण विद्यालय श्रीपुरका अध्यक्ष कर्णबहादुर सुवेदीले आफ्नै २३ वर्षकी छोरी पढ्दै गरेकी जनाए । 

यहाँ छलफलकै बीच प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘बौद्धिक अपाङ्गता सामान्य खाले हो भने बाँसुरी, मादल, सुकुल आदि बनाउने सीपमूलक तालिम दिएर आयआर्जनमा लगाउन सकिन्छ ।’ उच्च अवस्थाका लागि संरक्षण गृह बनाएर व्यवस्थापन गर्न उपयुक्त हुने विचार प्रमुख प्रशासकीय अधिकृतले राखे । ‘आफ्नै हिसाबले मनोरञ्जन गर्ने हो शिक्षक थप्नु पर्दैन’, उनले भने, ‘भवनको व्यवस्थापन गर्ने, खाने लगायतका सुविधा भने बढाउन सकिन्छ ।’ 

यसपछि हाकिम विपद् व्यवस्थापन तथा आपतकालीन उद्धार शाखामा पुगे । वारुणयन्त्रबारे जानकारी माग्दै कर्मचारीहरुलाई यो पनि भने, ‘आर्मी शासन जस्तो हुन्छ । आर्मीकै युनिफर्म छ, छैन ?’ यस सम्बन्धमा इञ्चार्ज देवेन्द्रराज रेग्मीले पहिले आर्मीकै ड्रेस भएपनि संकटकालमा जुधेको भनी फेरिएको स्मरण गराए । भरतपुरमा तीनवटा वारुणयन्त्र रहेको जानकारी पनि देवेन्द्रले गराए । हाकिमले वारुणयन्त्रको चालु हालत र क्षमता पनि सोधेका थिए भने गैंडाकोट नगरपालिकालाई समेत वारुणयन्त्रको लागि भरतपुरले नै सहयोग पुर्याइरहेको कर्मचारीहरुले बताए । पूर्वी चितवनतिरका चारवटा नगरपालिका मिलेर खैरहनीमा राखेका हुँदा अब भरतपुरको एउटा वारुणयन्त्रलाई पश्चिम चितवनतिर लैजाने तयारी गरिएको पनि कर्मचारीहरुले सुनाए । 
पर्यटन शाखामा पुगेर कर्मचारीहरुसँग रमाइलो ढंगले गफिँदै नयाँ प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ‘आफू त पाहुना !, राखुञ्जेल बस्ने !’ भनेपछि वरिष्ठ सहायक कर्मचारी लक्ष्मीदेवी शर्माले उस्तै रमाइलो जवाफ फर्काउँदै हाकिमको स्वागतमा यसरी भनिन्, ‘हामी सबै चौतारीकै बटुवा त हो नि सर !

अहिले भरतपुर महानगरपालिकामा प्रायः सबै शाखामा युवा कर्मचारी नै भेटिन्छन् । लक्ष्मीप्रसाद पौडेल पनि युवा नै भएकाले उनी आउँदा खुसी देखिएका कर्मचारीहरुमा नयाँ उत्साहको सञ्चार भएको महशुस समेत गरिएको छ ।’ यसपछि आफ्नै कार्यकक्षमा फर्केका हाकिम टेबुलमा आएका केही कागजात प्रमाणित गरेर मेयर रेनु दाहालसँग भेट्ने तरखरमा थिए ।

टिप्पणीहरू