बेचन झा समातिएपछि शरणार्थी प्रकरणमा नयाँ ट्विस्ट

बेचन झा समातिएपछि शरणार्थी प्रकरणमा नयाँ ट्विस्ट
सुन्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका दुई जना हिजो साँझ पक्राउ परेका छन् । राजधानीको बौद्धबाट एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसँगै बेचन झालाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

बादल गृहमन्त्री रहेका बेला उनको सचिवालयमा कार्यरत प्रतिकले नेपालीहरुलाई भुटानी शरनार्थी बनाएर पठाउने खेलमा संलग्नता रहेको प्रहरीको दाबी छ । उनीहरुविरुद्ध अदालतमा मुद्दासमेत दर्ता छ ।

तर उक्त प्रकरण अनुसन्धानको अन्तिमतिर गत वर्ष जेठमा नयाँ पात्रको उदय भएको थियो । प्रहरीले आफ्नो अनुसन्धान र छानबिन सकाएर पक्राउ परेका १६ जना र आरोपित अरु १७ जनालाई विभिन्न अभियोगमा मुद्दा चलाउनुपर्ने निश्कर्षसहितको राय सरकारी वकिलको कार्यालय, काठमाडौंलाई दिएकोमा प्रकरण छानबिनमा बेचन झा नामका नयाँ बिचौलियाको प्रवेश भएको थियो । 

बिचौलियाको उपमा पाएका उनको ‘ब्याकग्राउण्ड’ बारे धेरै कुरा बाहिर आइसकेको छैन । ‘काँग्रेसका एक जना वरिष्ठ नेतासँग जोडिएको भेउ पाइएको छ । राजनीतिक वृत्तमा प्रभावशाली भनिएको पनि पाइयो । भारतीय नेक्सस राम्रो भएकाले उतै बस्ने गरेको जानकारी पाइएको छ,’ गृह मन्त्रालय उच्च स्रोतले अघिल्लो वर्षको जेठमा दाबी गरेको थियो ।

प्रकरणमा संलग्न बेचनलाई कसैले तराईको भनेका छन् भने कसैले पारीको समेत भन्न भ्याएका छन् । तराईको भन्नेमध्ये पनि बेचनलाई कसैले पर्साको, कसैले सर्लाही र कसैले सप्तरीको भनेका छन् । तर उनको वास्तविक ठेगाना एक वर्षअघिसम्म पत्ता लागेको थिएन । बेचन स्वयमले आफ्नो पूर्वराष्ट्रपतिसँग सम्बन्ध भएको बताएका थिए, ससुराली नेपालमा भन्ने कुरो खुलेको थियो । 

आखिर बेचन झाले गरे के ? कसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए ? अनुसन्धान तथा छानबिनमा संलग्न प्रहरी अधिकृतहरुमध्ये एक जनाने त्यतिबेलै भनेका थिए, ‘प्रकरण गिरोहका सदस्य सानु भण्डारीलगायतले ल्वाईंल्वाईं चेक काटेर उसको खातामा रकम हालेको देखियो । अन्तिम समयमा मात्र उबारे खबर आयो । दुई दिनअघि समातिएको भए अहिले नै जेल जानेको संख्या १७ हुने रहेछ ।’ उनको हिमालय बैंकमा रहेको खातामा दुई करोड एकै पटक जम्मा गरेको देखिएको छ ।

उनीविरुद्ध भारतमा समेत ठगीको आरोपमा मुद्दा दायर भएको बताइन्छ । तर उताबाट भागेर नेपालमा बसोबास गर्दै आएका झा नेपालबाट पनि बेपत्ता भएको आशंका थियो ।

टिप्पणीहरू