देशलाई दुर्नाम बनाउन ठालुकै देन

देशलाई दुर्नाम बनाउन ठालुकै देन

मन्त्रिपरिषद् बैठकले गत साता गरेको ८ देशका राजदूत नियुक्ति सिफारिस उदेकलाग्दो छ । कतिले थाहै नदिई नाम प्रस्ताव गरिएको भन्दै अस्वीकार गरेका छन् त कोही म्यानपावर सञ्चालक र कोही विदेशको पिआरधारी छन् । सरकारले ज्ञान, अनुभव र रुचिभन्दा पनि भागबण्डामा नाम दिएपछि निकै आलोचना भएको छ । बेलायतका लागि नेपाली राजदूतमा सिफारिस डा. विजन पन्त जन्मजात नै कांग्रेसी हुन् । तर अहिले माओवादीको कोटामा पद पाएका छन् । 

गोरखा स्थायी घर भएका पन्त हाल अक्सफोर्ड विश्वविद्यालयको प्रोभर्टी एण्ड ह्युमन डेभलपमेण्ट इनिसियटिभका सल्लाहकार हुन् । उनी इन्स्टिच्युट अफ पब्लिक पोलिसी एण्ड एक्सन रिसर्चमा कार्यकारी प्रमुख पनि छन् । 

श्रीमती, बालबच्चा लामो समयदेखि ग्लोस्टरसायरमा बसोवास गर्छन् । बेलायत निवासी पन्त माओवादी कोटाबाट यतैको राजदूतमा सिफारिस भएपनि उनलाई गत असार २, २०७१ मा सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको विकास तथा सामाजिक सल्लाहकारमा नियुक्त गरेको थियो । नेविसंघबाट राजनीति शुरु गरेका पन्त लामो समयदेखि बेलायतमै छन् । श्रोतका अनुसार उनीसंग बेलायतको पिआरसमेत छ । युनिभिर्सिटी अफ लिभरपुलमा समेत लेक्चरर रहेका उनी भिजिटिङ प्रोफेसर हुन् ।

कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीले उनलाई बधाई दिइरहेका छन् । भारतले नेपालतामा नयाँ संविधान निर्माणताका अनावश्यक दबाब दिएको बारे नयाँ पत्रिकामा लेख लेखेपछि सल्लाहकारबाट राजीनामा दिनुपरेको थियो । सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यवसायी अबुसुफ्यान खान मुसलमानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको छ  । नेपालीको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदीमा श्रमिक पठाउँदै आएका मुसलमान साउदी अरबमा श्रमिक पठाउने इशान ओभरसिजका सञ्चालक हुन् । सन् २००४ देखि साउदीमा काम गर्दै आएका छन् ।

उता, दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सुशील प्याकुरेलले उक्त पद नै अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूत सिफारिस हुनुअघि आफूसँग कुनै विमर्श नगरिएको र विगतमा सरकारले तय गरेको मापदण्ड पनि ख्याल नगरेको भन्दै पद अस्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाइसकेका छन् ।

मन्त्रिपरिषद् बैठकले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ । रेग्मी बेलायतका लागि २१ औं राजदूतको रूपमा आएर ८ महिना नपुग्दै फिर्ता बोलाइएका थिए । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार छानिएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू