सडकबाट राजदूत कसरी छान्ने होला ?

सडकबाट राजदूत कसरी छान्ने होला ?
सुन्नुहोस्

रवि लामिछानेको पार्टीले राजदूत छनोट गर्न आवेदन मागेपछि अनेकथरी तर्क–वितर्क उठेको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि निरन्तर सत्तामा रहेको नेपाली कांग्रेसले राजदूत नियुक्तिको विषयलाई हल्का बनायो । कांगे्रस सत्तामा भएको बेलाका सबैजसो सरकार र मन्त्रीले हुने नहुुनेलाई राजदूत बनाए । कतिपटक आफ्ना बाहिरिया सेक्स पार्टनरलाई पनि विदेश पठाए ।

विदेशमा मुलुकको सरकारी र औपचारिक प्रतिनिधित्व गर्ने संवेदनशील पद भएकाले राजदूत नियुक्तिसम्बन्धी विषय जहिल्यै सार्वजनिक चासोको विषय हुँदै आएको हो । राजदूत कस्तो मान्छेलाई कसरी बनाउने भन्ने कुरा रविले बुझेको देखिएन । भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति पढेको, बुझेको, अध्ययन–अनुसन्धान गरेको, देशको संवैधानिक–कानुनी प्रणाली र राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, भौगोलिक र बदलिँदो आवश्यकता बुझेको, राजनीतिक प्रणाली र लोकतन्त्र बुझेको, लोकतन्त्रप्रति निजी लगाव र व्यक्तिगत अपनत्व भएको मानिस राजदूतको लागि उपयुक्त हुन्छ । यस्ता संवेदनशील पक्षलाई बेवास्ता गर्दै सस्ता प्रचारवाजीको लागि सडकमा लगेर दर्जनौँ मान्छेको लाइन लगाउनु कच्चा र केटाकेटीपन भयो । जसले कूटनीति मर्यादा सस्तो बनाउने देखिन्छ । मुलुक नबुझेको, लोकतन्त्रान्त्रिक प्रणाली र व्यवस्थाप्रति स्वयंलाई विश्वास र भरोसा नभएको, लोकतान्त्रिक भावना नभएको, देश र भूराजनीति नजान्ने मान्छे डिग्री भए पनि राजदूतको लागि अक्षम हो ।

राजनीति नै नबुझेको डिग्रीधारी कसरी राजदूत हुन्छ ? राजदूत पद कूटनीतिक भए पनि राजनीति, भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र शक्तिद्वारा सञ्चालित हुने विषय हो । यसैलाई अनदेखा गरेर सडकमा राजदूतको लाइन लगाउनु बच्चा कार्य हो । संस्थागत हुन नसकेको वा पार्टी नै बन्न नसकेको प्रमाण हो । पार्टीको विदेश विभाग र केन्द्रीय कमिटीको बैठकबाट सम्भावित पात्रमध्ये छान्ने कुरा सही हुन सक्छ । राजदूत कस्तो पद हो ? खासमा किन राजदूत नियुक्ति गरिन्छ ? राजनीतिक क्षेत्रबाट राजदूत प्रस्ताव गर्दा आवश्यक न्यूनतम शैक्षिक, राजनीतिक र संवैधानिक आधारबारे रवि र उनको दल अनभिज्ञ देखियो । राजदूतको विज्ञापन रत्नपार्कमा लाइन लगाएर गरिने हो ? त्यसरी राजदूतलाई हल्का बनाउने ? वा कसैले कुनै विषयमा प्राप्त गरेको डिग्रीलाई मात्र आधार बनाउने ? ३३ वटा मुलुकमा नेपालका राजदूतावास, तीन वटा अन्तर्राष्ट्रिय नियोग र सात वटा महावाणिज्य दूतावास भएकोमा परराष्ट्र सेवाका उच्च अधिकारी तथा राजनीतिक नियुक्तिबाट सिफारिस हुने गरेको छ । अमेरिका, बेलायत, चीन, जापान, जर्मनी आदि देशको अभ्यास त्यही हो ।

मुलुकको प्रतिनिधि भएर विदेशमा काम गर्ने प्रमुख भएकाले त्यो पद सम्मानित र उच्च हुन्छ तर विगतमा यो पदमा आफ्ना निकटकालाई मात्र नियुक्ति गर्दा बदनाम बनाइयो । सडकको विज्ञापनले सही मान्छे आउँदैन । राजदूतलाई अन्तर्राष्ट्रिय कानुनले नै निश्चित अधिकार, सुविधा र छुट दिएको छ । सिद्धान्ततः संयुक्त राष्ट्रसंघका प्रत्येक सदस्य मुुलुकको अधिकार बरोबर हुने भए पनि अन्तर्राष्ट्रिय राजनीतिमा भएको शक्तिले राजदूतका हैसियतमा फरक पार्ने गरेको छ । राजदूतको कूटनीतिक क्षमताको कारण दुई देशबीचको सम्बन्ध सुधार हुन सक्छ ।

जान्नेलाई छान्ने भन्ने रविले विश्वविद्यालयको डिग्री भएको मान्छे मात्रलाई सक्षम व्यक्ति भन्ने सोचेको पाइयो । राजदूत हुन निम्न आधार आवश्यक हुन्छ : भूराजनीति र कूटनीति बुझेको, समग्रतामा मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, भौगोलिक र अन्य विविधता जानेको,  नेपाली समाजको प्रवृत्ति, स्वभाव र आवश्यकता थाहा पाएको र देशको राजनीतिक–संवैधानिक प्रणाली बुझेको हुनु आवश्यक हुन्छ । मुुलुक र प्रणालीको खास प्रतिनिधित्व गर्नै नसक्ने मान्छे डिग्रीवाला भएर मात्र हुने होइन । राजनीति नै बुझेन भने डिग्रीको के अर्थ ? यहाँ राजनीति भनेको चाहिँ कुनै दलमा सदस्य भएको अर्थमा सीमित गरेर बुझ्ने होइन । राजनीतिलाई पूरै अलग गरेर राजदूतलाई बुझ्नु हुँदैन । कूटनीति आफैँमा राजनीतिको एउटा शाखा हो । राजनीतिशास्त्रलाई अलग गरेर कूटनीति जानिँदैन । सत्य यही हो । राजदूतको सार्वजनिक विज्ञापन गरेर माग गरेको कुरा कतिलाई राम्रो लाग्ने भए पनि त्यो हल्का तरिका भयो । पार्टीबाट आवश्यक मापदण्ड बनाउने कुराचाहिँ ठीक छ ।

राजदूत छान्न प्रत्येक मुलुकका विभिन्न कानुनी र स्थापित प्राक्टिस रहेका हुन्छन् । सबैजसो मुलुकले सरकारी सेवा र राजनीतिक नियुक्तिका दुवै विधिलाई लागु गर्दै आएको देखिन्छ । सरकार सत्तामा नयाँ दल आएसँगै नयाँ राजदूत फेर्ने प्रचलन नौलो होइन । अमेरिका, भारत, चीन, जापान सबैतिर त्यस्तो अभ्यास भएको देखिन्छ । नेपालमा पनि त्यही अभ्यास भएको वा हुँदै आएको छ । चीनमा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्य गरेका, पढेका, अंग्रेजी जानेका र स्वच्छ छवि भएकालाई राजदूत बनाउने गरिएको देखिन्छ । यसरी विभिन्न खालका राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास भएको देखिए पनि पार्टीमा पाँच दर्जन बढीका लाइन लगाएर राजदूत हुनै योग्य नभएका व्यक्ति र मान्छेलाई नेपाली नागरिकता भएको वा केही शैक्षिक प्रमाण पत्र भएको आधारमा राजदूतजस्तो संवेदनशील सम्मानित पदलाई त्यसरी हल्का बनाउने हो भने देशको कूटनीतिक क्षमता ध्वस्त बन्दै जान्छ ।  रवि र उनको दलले गरेको यस खालको हल्का,  सस्तो र केटाकेटी पाराले उनको सोच उदाङ्गो पारेको देखिन्छ ।

टिप्पणीहरू