कसैलाई भने साठी वर्ष बिताउँदा पनि नागरिकता छैन

कसैलाई भने साठी वर्ष बिताउँदा पनि नागरिकता छैन

घानाबाट उच्च शिक्षा हासिल गर्ने क्रममा सन् १९७७ मा बेलायत आएका नेल्सन सार्डे पढाइ सकेर एकाउण्टेन्ट बने ।

साउथ ह्याम्पटनबाट शुरु भएको बेलायती जीवन व्यवस्थित बन्दै गएको थियो । काम पाएपछि घरजम पनि भयो । सन् १९९० मा घर बेचेर उत्तरतिर बसाइँ सरे । त्यहाँ गएको अर्को वर्षदेखि आफ्नै पसल सञ्चालन गरे । न्युज पसल बिहान ४ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुन्थ्यो । सन् २०२२ सम्म त्यो पसल चलाए । २४ वर्षको हुँदा बेलायत पसेका नेल्सनले करिब ५० वर्ष मिहिनेतका साथ इज्जतको जीवन बिताए तर अहिले बेलायती नागरिकता पाउन ८० वर्षको उमेर पार गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले अन्याय गरेको भन्दै आफूलाई तुरुन्त नागरिकता प्रदान गर्नुपर्ने मागसहित उनी अदालतको शरणमा पुगेका छन् ।

मध्यम परिवारका नेल्सनको शुरुका वर्ष मूलतः अध्ययनमा सीमित रह्यो । घरबाट पठाएको खर्चले नै दैनिकी चलाउनसक्ने भएकाले पढाइमा राम्रो थियो । घानामा देखापरेको चरम आर्थिक समस्या समाधान गर्न नसकेको कारण दोस्रोपटक सन् १९८१ डिसेम्बर ३१ मा विरोध चर्किएसँगै सबैलाई नजरबन्द गरेर राउलिंग्सले सैनिक शासन चलाएपछि भने जन्मथलोबाट पैसा आउने अवस्था रहेन । त्यसपछि विभिन्न स्थानमा काम गर्न थाले ।

बिहान ७ बजेबाट कलेज शुरु हुने र ४ बजे सकिने भएकाले यही अवधिमा मात्र काम गर्न सम्भव थियो । यति गर्दा पनि बचाएको पैसाबाट घरसमेत किन्न सकेका थिए । त्यतिबेला बाहिरबाट आउनेहरूका लागि खासै कडाइ थिएन । उनले काम गर्ने, ट्याक्स तिर्ने, घर किन्ने सबै कुरामा कुनै कानुनी अड्चन सहन परेन । यहाँका मानिस र वातावरण सबै मन परेको थियो । त्यतिबेलासम्म यहींकै गोरीसँग विवाह पनि गरिसकेका थिए । तर, उनीहरूबीच त्यति लामो समय सम्बन्ध कायम हुन सकेन । दोस्री श्रीमतीबाट दुई छोरा जन्मेका थिए । उनीहरूलाई राम्रो शिक्षा दिएर समाजमा स्थापित गराउने ध्येय थियो । नभन्दै बाबुले भनेजस्तै कडा मिहिनेत गरेर ज्याकोब र आरोनले विश्वविद्यालयको पढाइ सकी अनुसन्धान वैज्ञानिक र सार्वजनिक सम्बन्ध कार्यकारी निर्देशकको रुपमा काम गरिसकेका छन् । 

पासपोर्ट अफिसले उनी यताको नागरिक नभएको कारण बेलायत बस्न पाउने कानुनी अधिकार नभएको निर्णय सुनाएपछि जीवनमा उथलपुथल शुरु भयो । नसोचेको, नचिताएको अवस्था भोग्नुपर्यो ।

उनले सञ्चालन गरेको पसल सामाजिक क्रियाकलापबारे जानकारी लिने स्थानको रुपमा विस्तार भएको थियो । गाउँठाउँमा हुने प्रायः सबै कार्यक्रममा उनको परिवारको सक्रिय सहभागिता रहन्थ्यो । अपर्झट आइपर्दा सकेजति सहयोग गर्दै आएका थिए । एकपटक आफ्नो सामुन्ने डेलिभरी ड्राइभरमाथि केही मानिसले बेसबलको ब्याटले हिर्काएर सामान चोरी गर्न लागेको देखेर उनलाई बचाउन पुगे । यसबापत सन् २००७ मा स्थानीय प्रहरीले बहादुरीको पद्वीसमेत दिएको थियो । यहाँका नागरिकले अनिवार्य रुपमा जुरीको सदस्यका हैसियतमा केही साता निःशुल्क सेवा गर्नुपर्ने व्यवस्था छ । जो जसले यस्तो पत्र पाउँछ, उनीहरूले नाइँनास्ती गर्ने कुरै हुँदैन ।

कसको पालो कहिले आउँछ भन्नेचाहिँ थाहा हुँदैन । सबैको पालो आउँछ भन्ने पनि छैन । तर, नेल्सनले भने जुरीको काम पनि गरिसकेका थिए । अन्य देशहरूमा जस्तो यहाँ यति उमेरपछि नागरिकता दिनुपर्छ भन्ने कानुनी व्यवस्था छैन । देश छाडेर कहीं कतै नजानेहरूले जिन्दगीभरि नागरिकता लिने प्रक्रियामा सहभागी हुनुपर्दैन । पासपोर्टले नै नागरिकताको काम गर्छ । अन्य सम्पूर्ण काम भइरहेको र आफू कतै जान नपरेको कारण नेल्सनले पासपोर्ट लिन आवश्यक ठानेका थिएनन् । आफू बेलायती भइसकेको कुरामा कहिल्यै शंका गरेनन् । 

सन् २०१९ मा आमाको देहावसान भएको खबर आयो । त्यसो त उनी आफैं पनि क्यान्सर रोगको उपचार गराइरहेका छन् । एकपटक घाना पुग्ने इच्छा जागेपछि पासपोर्ट बनाउन निवेदन दिए । पासपोर्ट अफिसले उनी यताको नागरिक नभएको कारण बेलायत बस्न पाउने कानुनी अधिकार नभएको निर्णय सुनाएपछि जीवनमा उथलपुथल शुरु भयो । नसोचेको, नचिताएको अवस्था भोग्नुप¥यो । कर्मचारीहरूले उनलाई यो देशमा बस्ने हो भने कामको लागि १० वर्ष बस्ने बाटोबाट निवेदन दिन सुझाए । त्यसको लागि सात हजार पाउण्ड निवेदन शुल्क र झण्डै १० हजार ५ सय पाउण्ड स्वास्थ्य उपचार खर्च लाग्ने भयो । यो सब थप आर्थिक भार हुने भयो, जुन उनीसँग उपलब्ध पनि थिएन ।

तर, बाध्य भएर यसका लागि फारम भरे  । विडम्बनाको विषय, उनले भुलवस अर्को कुनै फाराम भरेको कुरा गत वर्षमात्र थाहा भयो । अब फेरि नयाँ फाराम भर्दा अर्को १० वर्ष कुर्नुपर्ने र त्यतिबेलासम्म ८४ वर्ष पुग्ने देखियो । उनीमाथि परेको यो कानुनी बज्रपातका कारण सबै जना चकित परेका छन् । छरछिमेकहरू त आश्चर्यचकित पर्ने नै भए, देशैभरि उनीमाथि अन्याय भएको ठानिएको छ । कानुनलाई आमरुपमा मात्र नलिइकन व्यक्तिगत परिस्थितिको आधारमा पनि व्याख्या गरिनुपर्ने बहस चलेको छ ।

नेल्सनले आफ्नो शारीरिक समस्या त झेल्दै आएका थिए तर कानुनी लफडा पनि थपिएपछि सन् २०२२ देखि ३१ वर्षदेखि चलाउँदै आएको व्यवसायलाई बिट मारेका छन् । जीवनभर गरेको दुःख, मिहिनेत र तिरेको ट्याक्सबाट बाँकी जीवन आनन्दसँग बिताउने सपना देखेका उनले आफू यस देशको नागरिकसम्म नभएको पत्याउनु परिरहेको छ । लामो समयदेखि यस देशमा आएर बसेका तर कुनै कागजात नभएकाहरूलाई समेत सरकारले एक विशेष विण्डरस योजनामार्फत नागरिकता वा यहाँको कानुनी मान्यता दिने बाटो छ । नेल्सनले यो उपाय नसुझाएका हैनन् तर त्यसबाट पनि न्याय पाउन सकेनन् । 

सामान्यतया कानुनी रूपमा पाँच वर्ष बसोबास गरेपछि यहींको नागरिक हुने आधार बन्दछ । १ जनवरी १९८३ अगाडिसम्म यो देशमा जन्मेका बालबालिका केही कारणबाहेक यहाँको नागरिक बन्न सक्थे । विवाहमार्फत पनि यहाँको नागरिक बन्न सकिन्छ । नेल्सनको हकमा उनले नागरिक बन्न नपाउने कुनै कारण थिएन तर प्रक्रियागत रुपमा भने नागरिकता प्राप्त गरेका थिएनन् । नागरिकको हैसियतमा सम्पूर्ण दायित्व र अधिकारहरू प्राप्त गरे पनि यहाँको राहदानी लिन आवश्यक नपरेसम्म यसबारे केही चासो नदेखाउनु पनि उचित नै हो ।

नागरिकता स्वतः प्राप्त नहुने भएकाले यो अवस्था आएको देखिन्छ तर नेल्सनको हकमा गृह मन्त्रालयले जुन अडान लिएको छ, यसले भने उनीमाथि अन्याय परेको सबैको बुझाइ छ । यति लामो समय बसिसकेर पनि फेरि १० वर्षको बाटोबाट नागरिकता लिन भन्नु, गलत फाराम भरिएको दुई वर्षपछाडि थाहा पाएर पुनः अर्को दश वर्ष कुर्नुपर्छ भन्नुलाई कहीं कतैबाट उचित मान्न सकिँदैन । 

यो सब सहेर उनले आफू १० वर्ष बाँचिने वा मरिने ठेगान नभएको तर मर्नुअगाडि बेलायती नागरिक हुँ भन्न पाउनुपर्ने अडानसहित अदालत जाने बताएका छन् । यसमा लाग्ने खर्च जुटाउन छोराले क्राउड फण्डिङबाट अभियान शुरु गरेका छन् । उनलाई साँच्चिकै अन्याय परेको कारण म्यानचेष्टर इमिग्रेसन एड युनिटका वकिल निकोला वर्गेसले सहयोग गर्ने भएकी छन् । वर्गेसका अनुसार गृह मन्त्रालयले नेल्सनको हकमा विशेष निर्णय गरेर तुरुन्त नागरिक घोषणा गर्नुपर्छ । 

यो विषय अदालतमा प्रवेश गरिसकेको छ, अब केही समयमा छिनोफानो लाग्ने नै छ । मृत छोरीको छेउमा आफ्नो अन्त्येष्टि होस् भन्ने इच्छा जाहेर गरिसकेका नेल्सनको रहर बेलायती भएर पूरा हुने हो या झण्डै ६ दशक बसेर पनि बेलायती हुन नसकेको एक आप्रवासीको रुपमा जीवनलीला समाप्त हुने हो, त्यो त भविष्यले नै बताउने छ । यता नेपालमा नागरिकता फालाफाल छ, जसले जे गरे पनि हुन्छ तर बेलायतको कथा भने बेग्लै छ । यता नेपालमा नागरिकता फालाफाल छ, जसले जे गरे पनि हुन्छ तर बेलायतको कथा भने बेग्लै छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू