बालुवाटार जानुअघि प्रचण्डलाई लाज लाग्नुपर्ने एमाले नेताको टिप्पणी

बालुवाटार जानुअघि प्रचण्डलाई लाज लाग्नुपर्ने एमाले नेताको टिप्पणी
सुन्नुहोस्

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाजै नमानी हिजो राति बालुवाटारमा ज्ञापन पत्र बुझाउनुभएको बताएका छन् । उनले अध्यक्ष प्रचण्डको विगत र वर्तमानप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका हुन् ।

आफैँ विवादास्पद व्यापारीको घरमा बस्दै आएकाले एमाले विरुद्ध लाञ्छना लगाउन नहुने उनको भनाई छ । गएराति प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा बुझाइएको ज्ञापनपत्रका दुई वटा बुँदा देखेपछि आफूलाई रमाइलो लागेको उनले उल्लेख गरेका छन् ।

‘वर्षौँदेखि कालोसूचीका विवादास्पद व्यापारीको घरमा बस्ने, अनेक व्यापारीसँग कारोबारमा जोडिने र आफ्नो वैवाहिक वर्षगाँठसमेत व्यापारीकै घरमा मनाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयमले कत्ति पनि अप्ठेरो नमानी पहिलो नम्बरमै हस्ताक्षर गरेर नेकपा (एमाले) ले खुल्ला र पारदर्शी रूपमा आफ्ना शुभेच्छुक व्यवसायीबाट जग्गा प्राप्त गरेको कुरालाई गैरकानुनी र सुशासनको उपहास देख्नुभएछ, हिम्मत भए त्यो ज्ञापनपत्र बुझाउन जानुभन्दा पहिला खुमलटारस्थित आफूले हक भोग गरिरहेको, शारदाप्रसाद अधिकारीको भनिएको घर छाडेको भए हुन्थ्यो नि’, रिजालले फेसबुकमा लेखेका छन् ।

उनले विगतमा अध्यादेश ल्याएर एमाले फुटाएको सन्दर्भ पनि उल्लेख गरेका छन् । स्वयम् प्रचण्डले वर्तमान सरकारले अध्यादेश ल्याएर निरंकुशता लाद्न खोजेको भन्नु लज्जास्पद भएको बताए । 

लेखेका छन्, ‘आफ्नै पहलमा अध्यादेश ल्याएर तीन वर्षअघि नेकपा (एमाले) विभाजन गर्ने र त्यही अध्यादेशबाट लाभ प्राप्त गरेका पार्टीले चाहिँ अध्यादेश ल्याएर वर्तमान सरकारले सरकार टिकाउन र दुई दलीय तानासाही लाद्न खोजेको आरोप लगाउनु पनि अर्को रोचक पक्ष छ ।’ कम्तीमा माओवादी र एकीकृत समाजवादीसँग त्यसको विरोध गर्ने नैतिक हैसियत नरहेको उनको ठहर छ ।

टिप्पणीहरू