अघिअघि छवि...पछिपछि रवि..

अघिअघि छवि...पछिपछि रवि..
सुन्नुहोस्

सर्वसाधारणले सहकारीमा बचत गरेको अरबौैं रकम अपचलनको अभियोगमा नेपाल प्रहरीले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशी बन्जाडेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । जोशीलाई हिजो रुपन्देही लगिएको छ भन् लामिछानेलाई पोखरामा राखिएको छ । 

अनुसन्धानका लागि बुटवल लगिएका जोशीसँग रुपन्देही जिल्ला सरकारी वकील कार्यालयमा आज बयान लिइएको छ । बिहान ११ बजेदेखि साँझ साढे ६ बजे सम्म उनलाई सरकारी वकिल कार्यलयमा बयान लिइएको थियो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडकोे बचत रकम जिबि राई र रविसँग मिलेर अपचलन गरेको अभियोगमा उनलाई त्यहाँ पुर्याइएको हो ।

जिल्ला सरकारी वकील कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार उनलाई ५७ वटा प्रश्न सोधिएको छ । उनको बयानको आधारमा रविलाई पनि रुपन्देहीमा ल्याइने सम्भावना छ । यद्यपी जिल्ला न्यायाधिवक्ताले सो विषयबारे प्रष्ट उल्लेख गरेका छैनन् । तर पोखरामा सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएपछि तिहार अगाडि नै रविलाई पनि रुपन्देही लैजान सकिने सम्भावना रहेको बताइन्छ ।

जिबि, रवि र छवि मिलेर गोरखा मिडिया नेटवर्क सञ्चालन गरेका थिए । जिबी राई अध्यक्ष, लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेको उक्त कम्पनीले ग्यालेक्सी टेलिभिजन सन्चालन गरेको थियो । नेपालको नम्बर वान टेलिभिजन बनाएर मिडिया साम्राज्य खडा गर्ने सपना बोकेका रविको काल्पनिक सपनाको पछि लाग्दा बन्जाडे यतिखेर इन्तु न चिन्तु झैँ देखिन्छन् । रुपन्देही जिल्ला अदालत बाहिर भेटिएका बन्जाडेका एक जना नातेदारले नाम नखुलाउने शर्तमा भने, ‘डिआईजी साप स्ट्रेट फर्वार्ड मान्छे, रिटायर्ड लाइफमा मिडियामा जोडिँदा ठीकै होला, त्यसमा चल्तीको पत्रकार लामिछानेले चलाएको टेलिभिजन राम्रै चल्ला भनेर जोडिनुभयो । तर रवि र जिबीको अपराधको भारीले यो जुनीमा उठ्नै नसक्नेगरी थिचिनुभयो ।’

ती आफन्तले त्यसो भने पनि छवि काठमाण्डौं प्रहरी प्रमुख हुँदा हर्बोको अनुसन्धान गर्ने क्रममा जिबीसँग जोडिएको बताउनेहरु पनि छन् । स्रोतका अनुसार जिल्ला सरकारी वकील कार्यलय रुपन्देहीमा सोधिएको ५७ वटा प्रश्नको जवाफ दिने क्रममा छविले लामिछाने र राईको नाम बारम्बार लिएका छन् ।

बुटवलको सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार र अन्य सहकारीबाट गरेर गोरखा मिडियामा ६२ करोडभन्दा बढी रकम लगानी भएको अनुसन्धानमा खुलेको छ । उनीहरुको टिमले बुटवलको सुप्रिमसँगै पोखराको सूर्यदर्शन, वीरगञ्जको सानो पाइला, नेपालगञ्जको समानता र काठमाण्डौंको स्वर्णलक्ष्मी  सहकारीबाट अरबौं अपचलन गरेको देखिन आएको छ । सोही  अभियोगमा पोखरामा अनुसन्धानपछि छविलाई रुपन्देही पुर्याइएको हो । उनको बयान हुने थाहा पाएपछि सुप्रिम सहकारी पीडितहरुले जिल्ला अदालत, रुपन्देही अगाडि प्रदर्शन गर्दै आफ्नो बचत फिर्ताको माग गरेका थिए ।

 
छविसँगै सहकारी ठगीका अभियुक्तहरु रवि र जिबीलाई पनि पक्राउ गरेर रुपन्देही ल्याउनुपर्ने सहकारी पीडितहरुको माग छ । रुपन्देहीमा १० हजार ३९१ सर्वसाधारणको रकम अपचलन भएको बताइन्छ । पसलबाट कमाएको रकम सुरक्षाको लागि सहकारीमा राख्दा अहिले घर न घाटको भएको सुप्रिमका बचतकर्तामध्येका एक दामोदर खनालले बताए । जोशी कुनैबेला रुपन्देहीको प्रमुख प्रमुख थिए । तर, आज मिडियाको अगाडि पर्न नसकेर छेलिएका थिए । प्रहरी र सरकारी वकीलको सहयोगमा उनी बयानका लागि निजी कारमा आएका थिए । तर फर्कंदा मिडियाकर्मीको बाक्लो उपस्थिति देखिपछि प्रहरीको गाडीमा मुख लुकाएर चढेका थिए । उनको अनुहार नदेखियोस् भनेर प्रहरीले नै सहयोग गरेको देखिन्थ्यो । प्रहरीले गाडी नै भित्र लगेर उनलाई निकै सावधानीपूर्वक बाहिर ल्याएको थियो । बेलैमा बयान सकिए पनि झमक्कै रात परेपछि मात्रै अदालत परिसरबाट बाहिर निकालिएको हो ।

प्रहरीले बयानका लागि उनलाई सेतो रंगको बा.६ च ४५१५ नम्बरको इको फोर्ड गाडीमा बुटवलबाट भैरहवास्थित सरकारी वकील कार्यलय पुर्याएको थियो । जिल्ला न्यायाधिवक्ता पौडेलसँगै बयानको क्रममा बुटवलका डिएसपी विजयराज पण्डित र जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक यमलाल बन्जाडे उपस्थित थिए । 

इन्सपेक्टर बन्जाडे अभियुक्त छबिलालका नजिकका नातेदार भएको बताइन्छ । प्रहरीले नियम विपरित बञ्जाडे र जोशीलाई उक्त सहुलियत दिएको देखिन्छ । हिरासतमा पनि जोशीलाई अन्य अभियुक्तसँगै राखिएको छैन । 

भैरहवामा विद्युत लोडसेडिंग सम्बन्धी आन्दोलन चर्किंदा तत्कालीन एसपी बन्जाडेले प्रहरी बल प्रयोग गरेका थिए । सोही समय लोडसेडिंगबाट पीडितहरुको प्रहारमा उनको दाँत भाँचिएको थियो । डिआईजीबाट सेवा निवृत्त भएपछि भैरहवामा सञ्चालित दुई वटा क्यासिनोमा समेत उनले व्यावसायिक साझेदारी गर्दै आएको बताइन्छ ।
 
छविलाई अब वीरगञ्ज, नेपालगञ्ज र काठमाण्डौंमा बयानका लागि लगिने छ । त्यसपछि रविलाई पनि कास्कीबाट रुपन्देही, पर्सा, बाँके हुँदै काठमाडौंसम्म पुर्याउने तयारी प्रहरीको छ । रवि र छवि पक्राउ परे पनि जिबी राई हालसम्म फरार छन् ।

 

टिप्पणीहरू