यता पर्न थाल्यो उता फैलाइएको आतंकको प्रभाव

यता पर्न थाल्यो उता फैलाइएको आतंकको प्रभाव

अन्तराष्ट्रिय उडान भर्ने भारतीय वायुसेवा कम्पनीका विमानमा बम राखेको एकपछि अर्को भ्रमपूर्ण सूचनाका कारण भारतीय हवाइ सेवामा गम्भीर प्रभाव परेको छ । यसबाट पछिल्लो एक महिनामा चार अर्ब भारतीय रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको जनाइएको छ । 

देशका विभिन्न विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्न लागेका र उडिरहेका जहाजमा बम राखिएको गलत सूचना फैल्याइएपछि हवाई कम्पनीहरु समेत त्रसित छन् । भारतको उड्ययन मन्त्रालयलाई उद्धृत गर्दै दैनिक भाष्करले जनाएको छ, ‘सात सयभन्दा बढी जहाजले यात्रुलाई विभिन्न गन्तव्यमा पुर्याइरहेका छन् । तर, बम राखेको गलत सूचनाका कारण गत जुनदेखि अहिलेसम्म १३ सय करोड क्षति पुगेको छ ।’ 

जुन महिनामा एकैदिन ४३ वटा जहाजमा बम राखेको हल्ला फैलाइयो । त्यसबाट इन्डिगो एयर, अकाश एयर, भिस्तारा एयरसहित दर्जनौँ वायुसेवा कम्पनीले उडान रोकेका थिए भने कतिपयलाई तत्काल डाइभर्ट गरिएको थियो । 

गत शुक्रबार पनि इण्डिया एक्सप्रेस र भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना फैल्याइयो । लण्डन उडेको भिस्ताराको विमानलाई फ्याङ्कफर्ट र इण्डिया एक्सप्रेसको विमान जयपुर डाइभर्ट गरिएको थियो । पछिल्लो दुई सातामा भारतबाट विभिन्न गन्तव्यमा उडान भरेका र भर्न ठिक्क परेका डेढ सयभन्दा बढी विमानमा बम राखिएको हल्ला फैलाइएको छ ।

यसैबीच आज नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एअरको विमानमा पनि बमको हल्ला फैलाइयो । तर, जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ४ बजे सकुशल अवतरण गरेको थियो ।

टिप्पणीहरू