सरकारका उपलब्धि कागजमै सीमित

सरकारका उपलब्धि कागजमै सीमित

नेपाली काँग्रेसको समर्थनमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सय दिन पुग्नै लागेको छ । हनिमुन पिरियड मानिने यस अवधिमा सरकारका उपलब्धिबारे चर्चा भैरहेको छ । 

मन्त्रीहरुले धमाधम उपलब्धि सार्वजनिक गरिरहेका छन् । तर, अधिकांश उपलब्धि चैं कागजमा सीमित देखिन्छ । 

यसैबीच संघीय मामिला तथा समान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कार्यभार सय दिनको उपलब्धि आज सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले २५ बुँदेमा समेटेर आफूले गरेका मुख्य काम सार्वजनिक गरेका हुन् । 

जसमा संघीय निजामती सेवालाई सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा दफादार छलफल शुरु भएकोदेखि प्रशासन सुधारका लागि गरेका कामको विवरण समेटिएको छ । मन्त्री गुप्ताले स्थानीय तहको वित्तिय जोखिम, संस्थागत क्षमता विकास र आर्थिक विकास क्षेत्र समावेश गरी एकीकृत मूल्यांकनको कार्यविधि ढाँचा बनाइएको कुरालाई पनि उपलब्धिका रुपमा उल्लेख गरेका छन् । 

त्यस्तै, प्रशासकीय संगठनका संरचनालाई कार्यबोझको आधारमा समय सापेक्ष बनाउन विभिन्न मन्त्रालय, दूतावास, नियोग, हुलाक तथा कारगार कार्यालयबाट २१० दरबन्दी कटौती गरेको विषय पनि उपलब्धिमा परेका छन् । 

२५ जना राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई उच्च व्यवस्थापन तथा नेतृत्वको तालिम दिइएको र ४० जना कर्मचारीलाई उत्कृष्ट निजामति पुरुष्कार प्रदान गरिएको पनि उनले जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि आजै सय दिने उपलब्धि बाहिर ल्याएका छन् । यस अवधिमा स्वास्थ्य बीमा ५ लाख पुर्‍याउने घोषणादेखि स्वयंसेविकालाई निःशुल्क यातायातका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरिएको विषय उनको मुख्य उपलब्धिमा समावेश छ । 

मन्त्री पौडेलले देशभरका संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सुरु गरिएको तथा १७ अस्पतालमा अनलाइन प्रणाली शुरु गरिएको जानकारी गराएका छन् । संघीय अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मतको लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको पनि उनले बताए । 

शहीद गंगालाल अस्पतालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ट्रमा सेन्टर शिलान्यास गरिएको, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत एमबीबीएस पठनपाठनका लागि निर्णय भएको पनि मन्त्री पौडेलको उपलब्धि बुँदामा उल्लेख छ । 

हिजो कृषि तथा पशुपंन्छी विकासमन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलगायत केही मन्त्रीहरुले हिजै सय दिनको उपलब्धि सार्वजनिक गरेका थिए । कार्यभार सम्हालेदेखि दूध किसानलाई भुक्तानी दिनेदेखि स्टार्टअप अनुदानजस्ता महत्वपूर्ण काम भएको मन्त्री अधिकारीको दावी छ । 

दुई करोड माछाका भुरा किसानहरूलाई वितरण गरेको, साढे एक लाख वस्तुभाउमा कृत्रिम गर्भाधान सेवा प्रवाह गरिएको र कृषकहरुलाई विभिन्न उत्पादनमुलक तालिम दिइएको विषय उनको मुख्य उपलब्धिमा परेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुले भोलि उपलब्धि सार्वजनिक गर्ने बताइएको छ ।

टिप्पणीहरू