लेबनानमा तैनाथ नेपाली फौज सुरक्षित, गम्भीर समस्याको सम्भावना न्यून

लेबनानमा तैनाथ नेपाली फौज सुरक्षित, गम्भीर समस्याको सम्भावना न्यून
सुन्नुहोस्

प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाउँदै आवश्यक परे आपतकालीन उद्धारका योजना बनाएको बताएका छन् ।

युद्धग्रस्त क्षेत्रमा खटिएका नेपाली शान्ति सैनिकहरुको उद्धार आवश्यक परेको खण्डमा आपतकालीन योजना बनाउन रक्षा मन्त्रालय र सेनाबीच समन्वय भैरहेको जानकारी दिएका छन् । त्यहाँ रहेका नेपाली सैनिक बंकरमा पूर्णतः सुरक्षित रहेको पनि प्रधान सेनापतिले स्पष्ट पारे ।

रक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ’सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ । तर त्यो असहज स्थितिमा पनि उनीहरु पूर्णतया सुरक्षित छन् । बंकरहरुमा बसेका छन् । कथंकदाचित ठूलै खालको स्थिति आयो भने त्यस्तोमा के गर्ने भन्नेमा हेडक्वार्टरले त्यसको योजना बनाउँदै छ ।’

इजरायल र लेबनानको चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध जारी छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल)अन्तर्गत १३ सय २९ नेपाली सैनिक सिरिया र लेबनानमा तैनाथ छन् । तर राष्ट्रसंघले शान्ति स्थापनार्थ त्यहाँ खटिएका सैनिक फिर्ता नहुने बताइसकेको छ ।

प्रधानसेनापति सिग्देलका अनुसार नेपाली सैनिकहरु केही असहज अवस्थामा रहेको भएपनि आत्तिनुपर्ने अवस्था छैन । शान्ति सेनामा रहेका नेपाली फौजलाई अफ्ठ्यारो पर्ने सम्भावना कम रहेको उनको दाबी छ ।

‘५२ जना सिरियामा छन् । एक हजार ३२९ जनाको फौज शान्ति सेनामा छ । तीमध्ये अहिले अलिकति अप्ठ्यारो स्थितिमा रहेका सैनिकहरु भनेको केही मात्रै छन्’, उनले भने, ’उनीहरुको अवस्थाको हकमा सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने लडाईं भइरहेको ठाउँ हो । उनीहरु द्वन्द्वको बीचमा छन् । गोली हानाहान भइरहेको क्षेत्रमा छन् । हामी त्यहाँ रहेका नेपाली सेनासँग प्रत्यक्ष सम्पर्कमा छौँ । हाम्रो फौजलाई अप्ठ्यारो पार्ने सम्भावना कम छ ।’

टिप्पणीहरू