रवि हिरासतमा, उपसभापतिसहित अन्य नेताविरुद्ध प्रहरीमा जाहेरी

रवि हिरासतमा, उपसभापतिसहित अन्य नेताविरुद्ध प्रहरीमा जाहेरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसहित नौ जना केन्द्रीय नेताविरुद्ध काठमाडौँ प्रहरी परिसरमा जाहेरी परेको छ । 

सहकारी ठगी अभियोगमा पक्राउ परेका रवि लामिछानेको बचाउमा आन्दोलन गरेको आरोपमा सिन्धुलीका युवराज सफलले आज दिउँसो भद्रकाली पुगेर जाहेरी दर्ता गराएका हुन् । उनीहरुलाई तत्काल पक्रेर कानुनबमोजिम कारवाही गर्न माग गरिएको छ । 

सहकारी ठगीको आरोपमासभापति लामिछाने शुक्रबार पार्टी कार्यालय, बनस्थलीबाट पक्राउ परेका थिए । कास्की प्रहरीको हिरासतमा रहेका उनको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता शनिबारदेखि विरोध प्रदर्शनमा उत्रिएका छन् । 

प्रदर्शनको नाममा रास्वपाका नेता–कार्यकर्ताले अदालतको काम कारवाही र सरकारको अनुसन्धानमा भाँजो हालेर मुद्दा प्रभावित पार्न खोजेको जाहेरीमा उल्लेख छ । 

युवराजले दर्ता गराएको जाहेरी दरखास्तमा अर्याल र वाग्लेसहित रास्वपाका सांसदहरु हरी ढकाल, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, सुमना श्रेष्ठ, तोशिमा कार्की, मनिष झाले र नेता गणेश कार्कीले मुलुकी अपराध संहित ०७४ को दफा (५०) अनुसार राजद्रोहको कसुर गरेको दावी छ । 

उनीहरुमाथि मुलुकी अपराध संहित ०७४ को दफा (५०) को उपदफा ४ बमोजिम तीन वर्ष कैद र ३० हजारसम्मको जरिवाना हुनुपर्ने जाहेरकर्ताको जिकिर छ । ‘...निज आरोपितहरुलाई तत्काल पक्राउ गरी कानुनबमोजिम हदैसम्मको कारवाही गर्न माग गर्दछु’, जाहेरीमा लेखिएको छ ।

टिप्पणीहरू