अध्यक्ष दाहालको विदेश भ्रमणबारे सिंहदरबारमा चर्चा

अध्यक्ष दाहालको विदेश भ्रमणबारे सिंहदरबारमा चर्चा

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर–व्यवस्थापिका संघ(आईपीयु) को १४९ औँ महासभामा नेपाली प्रतिनिधि मण्डलको सहभागिता उपलब्धिमूलक र सफल रहेको बताउनुभएको छ ।

स्वीट्जरयाण्डको जेनेभामा आयोजित आईपीयूको महासभामा सहभागिता जनाएर आज स्वदेश फर्कनुभएका उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पत्रकार सम्मेलन गरी भ्रमण अर्थपूर्ण र सफल भएको दाबी गर्नुभएको हो । सम्मेलनको उच्चस्तरीय सत्रमा आफूले विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा आधारित सम्बोधन गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । 

सम्बोधनको क्रममा विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समतामूलक पहुँच सुनिश्चित गर्न यस क्षेत्रलाई साझा हितको विषयका रुपमा हेर्नुपर्नेमा जोड दिएको पनि उहाँको भनाई छ ।

‘सूचना प्रविधिको क्षमता, विकास र पहुँचमा देशभित्र र देशहरुबीच ठूलो अन्तर छ। अझै पनि साढे दुई अरब भन्दा बढी मानिसहरुको सूचना प्रविधिमा पहुँच छैन', दाहालले भन्नुभयो, 'विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समान पहुँच सुनिश्चित गर्न तथा अनुसन्धान, विकास, स्रोत परिचालन र युवाहरूको सहभागिता बढाउनका लागि प्रविधिमा समान पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा उठाइयो ।'

उहाँले प्रविधिको तीव्र विकासले ल्याउने साइबर असुरक्षा, गोपनीयता भंग, नकारात्मक सामग्रीको प्रचार, आर्टिफिसियल इन्टेलिजेन्सको दुरुपयोगजस्ता जोखिम न्यूनीकरण गर्न आवश्यक नीति नियम निर्माणमा विश्वका व्यवस्थापिकाहरुबीच सहकार्यको आवश्यकताबारे पनि उल्लेख गरिएको बताउनुभयो । 

यस्तै, जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव र त्यसले पुर्याउने क्षति न्यूनीकरणका लागि प्रविधि उपलब्ध गराउन विश्व समुदायलाई आह्वान गरेको उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष दाहालले महासभामा सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने दिशामा अघि बढिरहेकोले अन्तर्राष्ट्रियस्तरबाट थप प्राविधिक र योजनागत सहायताको लागि आग्रह गरिएको पनि बताउनुभयो । लोकतन्त्रको सुदृढीकरण र अन्तर्राष्ट्रिय मुद्दाको समाधानका लागि सहकार्य र साझेदारी गर्न आईपीयूको महत्त्वपूर्ण भूमिका रहने उहाँको विश्वास छ । 

महासभामा विभिन्न राष्ट्रका संसदीय प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटवार्ता गरेको उल्लेख गर्दै उहाँले सबै भेट उपलब्धिमूलक रहेको जनाउनुभयो । 

१८१ राष्ट्र सदस्य रहेको आईपीयूको १४९ औं महासभामा १३० भन्दा बढी राष्ट्रका झण्डै १५ सय प्रतिनिधि र कतिपय देशका पर्यवेक्षकको पनि सहभागिता रहेको थियो । 

टिप्पणीहरू