रुस युक्रेन युद्ध र सम्भावित परिदृश्य

रुस युक्रेन युद्ध र सम्भावित परिदृश्य

सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमा विशेष सैन्य अपरेसन सुरु गरेको थियो । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता प्राप्तिको लागि युक्रेनको निरन्तर प्रयास र रुसको कडा चेतावनीका बीचमा रुसले विशेष सैन्य अपरेशन सुरु गरेको थियो, जुन हालसम्म पनि जारी छ । युक्रेनलाई उक्त संगठनमा सामेल नहुन र रुस आफ्नो राष्ट्रिय सुरक्षा र सम्प्रभुतामा कतैबाट पनि आँच आउने स्थिति भएमा जुनसुकै कदम चाल्नसक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निरन्तर चेतावनीलाई अमेरिकालगायत नेटो राष्ट्रहरुको उक्साहटमा युक्रेनी राष्ट्रपतिले वेवास्ता गर्नु नै आजको स्थितिको प्रमुख कारण हो ।

रुस–युक्रेन युद्धले अहिलेको विश्वको आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक नक्सामा व्यापक फेरबदल आउन सक्ने अनेक विश्लेषण भइरहेको छ । युद्धको साढे दुई वर्षको अवधिमा विकसित घटनाक्रम र विश्वभरको तीव्र ध्रुवीकरणले तेस्रो विश्वयुद्धको उद्गमस्थलको रूपमा यस द्वन्द्वस्थापित हुनसक्ने देखिन्छ ।

प्रथम विश्वयुद्धको समाप्तिपछि, सन् १९२२ मा रुस–युक्रेनसहित १५ वटा समाजवादी गणतान्त्रिक मुलुक मिलेर सोभियत युनियनको स्थापना भएको थियो । दोस्रो विश्वयुद्धको अन्त्यसँगै, समाजवादी आन्दोलनको उदय र त्यसको विश्वव्यापी प्रभावलाई आर्थिक, राजनीतिक तथा सैन्य शक्तिका हिसाबले टक्कर दिन सोभियत संघविरुद्ध सामूहिक सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिकाको नेतृत्वमा, क्यानडा र धेरै पश्चिमी युरोपेली राष्ट्रहरू समावेश गरेर, सन् १९४९ मा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को स्थापना गरिएको थियो । नाटो स्थापनाको प्रारम्भिक समयमा दोस्रो विश्वयुद्धमा थिलोथिलो परेका युरोपेली मुलुकमध्ये बेलायत, जर्मनी, फ्रान्सलगायतलाई आर्थिक रुपमा सबल बनाउन जोड दियो । यी देशहरूलाई सोभियत युनियनको बढ्दो गतिविधिमा नियन्त्रण गर्न प्रतिरोधी पर्खालको रूपमा प्रयोग गर्न सकियोस् । योसँगै संयुक्त राज्य अमेरिकाले आर्थिक रूपमा बलियो, पुनः सशस्त्र, र एकीकृत युरोपलाई कम्युनिष्ट विस्तारको रोकथामको लागि महत्वपूर्ण ठान्यो । यसका लागि, अमेरिकी राज्यसचिव जर्ज मार्शलले युरोपलाई ठूलो मात्रामा आर्थिक सहायताका कार्यक्रम प्रस्ताव गरे । परिणामस्वरूप युरोपेली “रिकभरी प्रोग्राम“ नामको मार्शल प्लानले युरोपको आर्थिक एकीकरणलाई मात्र सहयोग पुर्याएको थिएन, अमेरिका र युरोपबीचमा राजनीतिक, सैन्य र आर्थिक शक्तिका सम्बन्धमा साझा चासो र सहयोगको विचारलाई थप बढावा दियो ।

सोभियत संघले उक्त मार्शल प्लानमा भाग लिन अस्वीकार गर्यो । फलस्वरुप समग्र युरोपमा पूर्व र पश्चिमबीचको सामरिक विभाजनलाई बलियो बनाउन मद्दत पुग्यो । तर सन् १९९१ मा सोभियत संघको पतन भयो । यो सँगै युक्रेनले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गर्यो । यसले रुस र युक्रेनबीच, विशेषगरी युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई लिएर, तनाव निम्त्यायो ।

नेटोको बढ्दो प्रभाव र युरोपेली मार्शल प्लानको कार्यान्वयनमा तीव्रता आएपछि युक्रेनमा रुस समर्थक र युरोपेली संघ समर्थक समूहहरूबीच वैचारिक रुपमा गहिरो विभाजन निम्तियो । धेरै युक्रेनीहरूको पश्चिमा नाटो र इयुसँग एकीकरण गर्ने इच्छा रुससँग घर्षणको स्रोत बनेको छ, जसले युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रभित्रको रूपमा हेर्छ । रुस लामो समयदेखि नेटोको पूर्वी विस्तारको बारेमा चिन्तित थियो । युक्रेनको नाटोमा सामेल हुने इच्छालाई औपचारिकता नभए पनि रुसले आफ्नो राष्ट्रिय सम्प्रभुताको लागि गम्भीर खतराको रूपमा हेरेको थियो ।
राष्ट्रपति भ्लादिमिर पुटिनलगायत रुसी नेताहरूले निरन्तर रूपमा नाटोसँग युक्रेनको पङ्क्तिबद्धताले रुसको ढोकामा पश्चिमी सैन्य बलहरू खडा गर्ने तर्क गर्दै आएका थिए । नेटो र यसका सदस्य राष्ट्रहरूले युक्रेनलाई नाटोमा समावेश गराउनेबारे, नेटोको सन् २००८ को बुखारेस्ट शिखर सम्मेलनमा घोषणा गरेका थिए, जहाँ युक्रेनको भावी नाटो सदस्यताको वाचा गरिएको थियो । प्रतिक्रियास्वरुप रुसी राष्ट्रपति पुटिनले यदि युक्रेन नाटोमा सामेल भएमा क्रिमिया र उसका बाँकी पूर्वी क्षेत्रहरू समेत गुमाउन सक्ने चेतावनी दिएका थिए ।

सन् २०१४ मा एक महत्वपूर्ण क्षण आयो जब युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचको नेतृत्वमा युक्रेनी सरकारले ठूलो इयु व्यापार सम्झौतालाई अस्वीकार गर्यो । यसको प्रतिरोध स्वरुप युक्रेनमा ठूलो विरोध फैलियो फलस्वरुप उनी पदच्युत भए । यानुकोभिचको सत्ता बहिर्गमनपछि, रूसले सन् २०१४ मा युक्रेनविरुद्ध एक महत्वपूर्ण कदम चाल्दै दक्षिणी युक्रेनको प्रायद्वीप, क्रिमियालाई रुसमा गाभेको हो ।

क्रिमियामा रुसी मूलका नागरिकहरूको जीवन रक्षा तथा उनीहरूको दीर्घकालीन संरक्षणका निम्ति जनमत संग्रहको आयोजना गरेर यसलाई औचित्य साबित गरियो । यद्यपि रुसको उक्त कदमलाई युक्रेन र धेरै अन्तर्राष्ट्रिय समुदायले गैरकानूनी भन्दै कडा निन्दा गरे । क्रिमियाको विलय रुस–युक्रेन सम्बन्धमा एउटा टर्निङ प्वाइन्ट थियो, जसले फराकिलो द्वन्द्वको चरण तय गर्यो । क्रिमियाको विलयपछि, रुस समर्थक पृथकतावादीहरूले रुसी समर्थनको साथ, पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रका केही भागहरूमा स्वतन्त्रताको घोषणा गरे, जसले युक्रेनी सेना र पृथकतावादीहरू बीच चलिरहेको लडाइँलाई थप हौसला प्रदान गर्यो । यस संघर्षमा युक्रेन र पश्चिमाहरूले रुसलाई ती पृथकतावादीहरूलाई हतियार र सेना आपूर्ति गरेको आरोप लगाउँदै आएका छन्, तर रुसले प्रत्यक्ष संलग्नता अस्वीकार गर्दै आएको छ ।

सन् २०१४ पछि नेटो विस्तार रोकिएको तर्कको बावजुद, पश्चिमले युक्रेनको सेनालाई निरन्तर तालिम दिँदै नेटो सम्बन्धलाई अझ गहिरो बनाउँदै गयो, जसले रूसलाई थप आक्रोशित बनायो । नेटोको निरन्तर प्रयासले २०२१ सम्ममा युक्रेनको सेना राम्रोसँग सुसज्जित र प्रशिक्षित भइसकेको थियो । त्यसको बलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला रूपमा नेटोको विस्तारलाई समर्थन गर्दै रूससँगको सम्बन्धलाई थप तनावपूर्ण बनाए । नेटोको विस्तार रोक्न पुटिनले युक्रेनमा विशेष माग गरेका थिए, जुन पश्चिमले बेवास्ता गर्यो । यसले युक्रेनको सिमानामा रूसको सैन्य निर्माण र अन्ततः २०२२ मा रुसको विशेष सैन्य अपरेसनलाई निम्त्यायो ।

करिब ३० प्रतिशत रुसी भाषीहरू बसोबास गर्ने युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “रूसी भाषा बोल्ने मानिसहरूको सुरक्षा“ को मिशनको रूपमा व्याख्या गरे । साथै, युक्रेन र रूस सांस्कृतिक र ऐतिहासिक रूपमा अभिन्न रूपले जोडिएका छन् भनी ऐतिहासिक दाबीहरू गर्दै आएका छन् । पुटिनले युक्रेन रूसको प्रभाव क्षेत्रको हिस्सा हुनुपर्छ भन्ने दृष्टिकोण व्यापक रूपमा विवादित रहेको छ । धेरै विश्लेषकहरूले पुटिनले रुसी शक्तिलाई पुनः स्थापित गर्न र युक्रेनलाई पश्चिमतर्फ जानबाट रोक्न खोजिरहेका थिए भन्ने विश्वास गर्छन् ।

अमेरिका तथा युरोपेली मुलुकहरूले पुटिनको कदमलाई अरूको स्वतन्त्रता र अस्तित्व स्वीकार नगर्ने, लोकतान्त्रिक प्रणालीको खिल्ली उडाएको र व्यक्तिगत साम्राज्यवादी महत्वाकांक्षा भनेर विश्लेषण गरिरहेका छन् । उनीहरूले युक्रेनलाई आफ्नो सुरक्षा गर्न पाउने अधिकार रहेको र त्यसको लागि नाटो तथा अमेरिकाले युक्रेनलाई सबै प्रकारले सहयोग गर्न तयार रहेको बताइरहेका छन्। यस्ता वर्षौदेखिका परिदृश्यहरूका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कमजोर कूटनीतिक क्षमताका कारण यो युद्धको जन्म भएको भन्न सकिन्छ ।

रुस–युक्रेन युद्धको शुरुवाती चरणमा विश्वसमुदायले यो युद्धको अवधि छोटो हुने अनुमान गरेका थिए, तर ती अनुमानहरू विपरीत युद्ध अगाडि बढिरहेको छ । रुस र युक्रेनबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धको इतिहास नबुझेका मानिसहरूले भनेका थिए कि रुसले ४८ घण्टाभित्र युक्रेनलाई कब्जा गर्छ । त्यसैगरी, पश्चिमी देशहरू तथा नेटोले युक्रेनले रुसको सामना गर्दै अन्ततः रुसलाई घुँडा टेकाउने ठानेका थिए । तर रुसले शुरुवाती चरणबाटै यस युद्धको निम्ति लामो र दीर्घकालीन तयारी गरेर युक्रेन र रुसको राजनीतिक र कूटनीतिक परिस्थितिलाई परिपक्व ढङ्गले विश्लेषण गरी, विश्व भू–राजनीतिक परिस्थितिको मिहिन विश्लेषण गरेर, आफ्नो दीर्घकालीन राजनीतिक उद्देश्य पूरा गर्नका लागि दृढ युद्ध लडेको देखिन्छ ।

रुसले युक्रेनलाई कब्जा गर्न नचाहेको, तर नेटोद्वारा सुसज्जित हातहतियार निष्क्रिय पार्ने र उसलाई नेटो तथा यूरोपेली यूनियनमा आबद्ध हुन नदिने आफ्नो लक्ष्य रहेको बताउँदै आएको छ । तर युक्रेनको छटपटी अत्यन्तै तीव्र छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो प्रतिरक्षाका लागि पश्चिमी र यूरोपेली देशहरूलाई हारगुहार गरिरहेका छन् । कहिले धम्की दिँदै त कहिले भाववेश व्यक्त गर्दै, आफू र आफ्नो देशलाई बचाउनका लागि अमेरिका र नेटो सम्बद्ध देशहरू समक्ष झुकेका छन् र सहयोग प्राप्त गर्न जुनसुकै तहसम्म पनि जान तयार देखिएका छन् । यसमा जेलेन्स्की केही हदसम्म सफल पनि भएका छन् ।

खासगरी अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले ठूलो मात्रामा युक्रेनलाई हर तरिकाबाट सहयोग गरिरहेका छन् । युद्धको शुरुवातदेखि नै दुवैतर्फ सैनिक र गैरसैनिक गरी हजारौं मानिसहरूको मृत्यु भइसकेको र लाखौं मानिसहरू विस्थापित भइसकेका छन् । गत अगस्ट ६ मा युक्रेनी सेनासहितको सैनिक जत्थाले रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेर रुसभित्र आक्रमण तीव्र पार्दा, यो युद्ध नयाँ तर जटिल मोडमा पुगेको देखिन्छ ।

शुरुवाती केही दिनमा करिब १२६३ वर्ग किलोमिटर क्षेत्रफल रुसी भूभाग कब्जा गरेको युक्रेनले कुर्स्क घुसपैठको लागि उसका सहयोगी राष्ट्रहरूलाई समेत कुनै सूचना नदिएको हल्ला मच्चिएको थियो। तर समयसँगै ती दावीहरू उदाङ्गो परेका छन् । जब अमेरिकीलगायत नेटो देशका लडाकुहरूले आफू कुर्स्क क्षेत्रमा लडिरहेको देखाउने भिडियोहरू बनाएर सामाजिक सञ्जालहरूमा सार्वजनिक गरे, त्यसले समग्र पश्चिम र युक्रेनको बाहिरी दुनियाँ र पश्चिम देशका जनतालाई कसरी यो युद्धमा आफ्नो देशको संलग्नता भैरहेको भनेर ढाँटिरहेको स्पष्ट देखिन्छ । त्योसँगै घुसपैठको लागि प्रयोग भएका हातहतियार र गोलीगठ्ठाहरू समेत अमेरिकी र यूरोपेली देशहरूमा बनाइएका आधुनिक र शक्तिशाली थिए। १२ हजार सेनाको संयुक्त जत्थाले गरेको घुसपैठले झन्डै एक लाख १० हजार मानिस उक्त क्षेत्रबाट विस्थापित भए, जुन कार्य रुस सरकारले नै गरेको थियो ।

युक्रेनी राष्ट्रपतिलगायत पश्चिमा र नेटो देशहरूले यस घटनाबाट रुस आत्तिने र युद्धविरामको लागि आफैँ मध्यमार्गी प्रस्तावमा सहमत हुने भन्ने रटान लगाएता पनि रुस झन् शान्त र उच्च किसिमको योजना बनाएर बसिरह्यो र अब युद्धविरामको लागि आफ्ना सर्तहरूबाहेक कुनै पनि सर्तहरू मान्य नहुने बयान जारी गर्यो । यसले युक्रेनसँगै पश्चिम र नेटोलाई झन् तनावको स्थितिमा पुर्यायो । यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले, अमेरिका र बेलायतमा बनेका र उनीहरूका स्याटेलाइटको माध्यमबाट चल्ने लामो दूरीका घातक हातहतियारको प्रयोग गरेर रुसमा आक्रमण गर्ने र रुसलाई थप क्षति पुर्याउने प्रस्ताव अमेरिकासमक्ष राखेका थिए । जेलेन्स्कीको यो प्रस्तावलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले मौखिक रूपमा सहमति दिने बताए पनि, बाइडेनले बेलायती प्रधानमन्त्री केयर स्टार्मरसँग यो लगायत विकसित घटनाक्रमहरूलाई कसरी लिने र आगामी रणनीति के बनाउने भन्ने विषयमा गत सेप्टेम्बरमा अमेरिकामा भेटवार्ता गरेर छलफल गरे । तर सार्वजनिक रूपमा कुनै पनि निष्कर्ष निकाल्न सकेनन्, त्यसपछि उनीहरूले अस्पष्ट र अपुरो बयानहरू विश्वसामु जारी गरे । रुसको कटिबद्ध युद्धनीति, उसको परिपक्व युद्धकला, समग्र राष्ट्रिय अर्थतन्त्रमा देखिएको बढ्दो संकट र जनताको व्यापक विरोधका कारण जर्मनी, इटालीलगायतका देशहरूले युक्रेनलाई थप सैन्य तथा आर्थिक सहायता प्रदान गर्न नसक्ने बताउँदै आएका छन्। जसको फलस्वरुप अमेरिका र बेलायत पनि अहिले यो युद्ध छिटोभन्दा छिटो अन्त्य होस् भन्ने चाहना बाहिरी रूपमा प्रकट गर्न थालेका छन् ।

यसले के देखाउँछ भने, रुसको सामना गर्न पश्चिमा मुलुक र नेटोलाई निकै कठिन छ । रुस युद्धका सानातिना पराजय वा नोक्सानीका घटनाले विचलित हुँदैन, बरु युद्धलाई परिपक्व ढंगबाट अगाडि बढाउँछ भन्ने नै देखिन्छ । यसका पछाडि रुसको लामो तयारी, युद्धका सम्भावित घुसपैठहरूको सही र गहिरो आकलन र विश्वको राजनीतिक नक्सामा परिवर्तन गर्नुपर्ने दीर्घकालीन मान्यता र त्यो लक्ष्य प्राप्तीका लागि उनीहरूमा रहेको दृढ संकल्प र त्यसलाई पूरा गर्ने आत्मविश्वास नै प्रमुख कारक देखिन्छ ।

युद्ध अन्त्यका लागि अमेरिकाले पटक–पटक युद्धविरामको लागि युक्रेन र रुसलाई बाहिरी रुपमा आह्वान गरेको जस्तो देखिएता पनि, युद्धमा नेटो सेनाको अघोषित प्रत्यक्ष संग्लग्नता र उनिहरुबाट युक्रेनमा भइरहेको हातहतियार आपूर्तिको विषयलाई लिएर युरोपेली देशहरुमा दैनिकजसो प्रदर्शन चर्किन थालेका छन् । यसैबीच, आफ्नो राष्ट्रियतामाथि आँच आउने कुनै पनि प्रकारको खतरा कहिँकतैबाट महशुस गर्नासाथ, यस्तो खतरा पैदा गर्ने देश वा समूहहरुमाथी रुसले सिधै आणविक हतियार प्रयोग गर्नसक्ने कुरा सार्वजनिक रुपमै प्रष्ट पारिसकेको छ । त्यससँगै रुसले आफ्नो आणविक हातियारको प्रयोगसम्बन्धी सिद्धान्तलाई समेत खुकुलो बनाई परिमार्जन गरेको छ ।

कुर्स्क क्षेत्रमा रुसले गरेको रणनितिक प्रतिकार रुसको लागी आणविक हतीयारको प्रयोग गर्न सहज बनाउने महत्वपूर्ण अस्त्र हो, जुन कार्य उसले आफ्ना दीर्घकालीन लक्ष्या प्राप्त नभएसम्म यथावत नै राख्न सक्दछ । पश्चिमा मुलुकबाट रुसमाथि लगाएका विभिन्न नाकाबन्दी र रुसी राष्ट्रपती माथिका धेरैजसो निराधार आरोपले वाक्क भएको रुसले आणविक हतियार प्रयोग गरेर नेटो देशहरुलाई ध्वस्त पारिदिने धम्की पटक पटक दिँदै आएसँगै आणविक हतियारको प्रयोग सम्बन्धी सिद्धान्तको परिमार्जन गरेर यस युद्धमा हुनसक्ने नेटोका छद्म सहभागिताका सबै प्रकारका बहानालाई पूर्णरुपमा खारेज गरेको छ ।

आफ्नो स्वतन्त्रतापछि आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरूमा पश्चिमा र नेटो देशहरूमा पूर्ण निर्भर रहेको युक्रेन अहिले लगभग समाप्तिको दिशामा तीव्र गतिमा अगाडि बढिरहेको देखिन्छ । कमजोर कूटनीति र अरूको आशीर्वाद थापेर बाँच्न सिकेको युक्रेनलाई रुसविरुद्ध प्रयोग गर्ने देशहरू नै अहिले रुससँग भिड्न हजार पटक सोच्न बाध्य भएका छन्, यो युद्ध लम्बिँदै जाँदा युक्रेनको भविष्य झन अन्धकारमय बन्दै गइरहेको छ । युक्रेनको कुल भूभागको १८ प्रतिशत जमिनसहित उसका रणनीतिक शहर तथा बन्दरगाहहरू कब्जा गरेको रुसले निरन्तर युद्ध लडिरहँदा युक्रेनका आर्थिक गतिविधिहरू पूर्णरुपमा धराशायी भइसकेका छन् । देशमा आम्दानी लगभग शून्य छ । सम्पूर्ण पुँजी समाप्त भएपछि यो युद्ध लड्न उसले आफ्नो ५० प्रतिशत कृषियोग्य भूमि पश्चिमा व्यापारीहरूलाई बेच्न बाध्य भएको बताइन्छ । उसको मुख्य सेनाको बल समाप्त भइसकेको छ, युद्धभूमिमा साधारण तालिमप्राप्त मानिसहरू बन्दुक समातेर लड्न बाध्य छन् । रुसलाई गलाउन सम्पूर्ण फौजी सामर्थ्य कुर्स्क क्षेत्रमा जम्मा गरेको युक्रेनको राजधानी किभको सुरक्षा जिम्मा तिनै नयाँ सैनिकहरूको जिम्मामा छ । उनीहरु नै दैनिक हजारौंको संख्यामा मृत्युको समाचार बनिरहेका छन् । पश्चिमी देशहरूका आन्दोलन र मध्यपूर्वको तनावका कारण अब पश्चिमी देशहरूले लामो समयसम्म यो युद्धलाई थेग्न सक्ने देखिँदैन । कुर्स्कमा फसेका युक्रेनी तथा नेटो सेनाहरू अब त्यहाँबाट फिर्ता हुन लगभग असम्भव देखिन्छ ।

१७ अक्टोबर २०२४ मा, युक्रेनी संसदमा राष्ट्रपति जेलेन्स्कीको भिक्ट्री प्लान पेश भयो । उक्त योजना उनले यसअघि नै अमेरिका र युरोपेली देशसमक्ष प्रस्तुत गरेका थिए । योजना लामो दूरीका हतियार प्रयोगको अनुमति, संयुक्त सैन्य कारबाही, कुर्श्कमाथिको नियन्त्रण कायम राख्ने, युद्धविराम र त्यसपछिको पुनर्निर्माणजस्ता मुख्य विषयहरु समेटिएको छ । जसमा, रुसको चेतावनीका कारण जेलेन्स्कीले अमेरिका र युरोपेली देशहरूबाट यसमा सकारात्मक प्रतिक्रिया पाउन सकेका छैनन् । अमेरिका तथा युरोपको आर्थिक मन्दी र यस युद्ध सुरु भएदेखि रुसको जी.डि.पी. को उकालो यात्राले संकेत गर्दछ कि अब रुसलाई कुनै पनि किसिमले हराउन सम्भव छैन ।

त्यसो त रुसले कहीँ कतैबाट सहयोग नलिई युद्ध लडेको भन्नु गलत हुन्छ । युद्धको शुरुवातदेखि नै राष्ट्रपति पुटिनले उनका मित्र राष्ट्रहरूको भ्रमण गरेर युद्धमा आवश्यक सहयोगका लागि आह्वान गर्दै दीर्घकालीन रूपमा विश्वभरबाट पश्चिमी हस्तक्षेप अन्त्यका लागि महत्वपूर्ण योजना बनाउँदै सम्झौता गरेका छन् । जसले गर्दा राजनीतिक, वैचारिक र सामरिक रूपमा एकरूपता भएका रुस, चीन, उत्तर कोरिया, इरानलगायत देशहरू सबै प्रकारको लडाइँका लागि तयारी अवस्थामा रहेको बुझ्न सकिन्छ । सम्झौता अनुरुपका सबै प्रकारका सहयोगहरु रुसले पाइरहेको बुझ्न सकिन्छ । यसका उदाहरणहरूः उत्तर कोरियाको दक्षिणप्रतिका गतिविधिहरू, चीनको ताइवानप्रतिका गतिविधिहरू र इरानको इजरायलमाथिका आक्रमणहरू हुन् ।
 
अहिले अमेरिकाले युरोपेली युनियन र नेटोको प्रयोग गरेर युक्रेनमा थप सैन्य सहायता र पुँजी प्रवाह गरिरहेको छ, जसले उसको लगानी र आफ्नो देशका धनाड्यहरूको सम्पत्ति बचाउन उ यस युद्धको अन्तसम्म लतारिनुपर्ने बाध्यतामा पनि छ । युक्रेनको डोनबास क्षेत्र, जहाँ बहुसंख्यक रुसी भाषीहरू बसोबास गर्छन् । रुससँग प्रत्यक्ष सीमा जोडिएको उक्त क्षेत्रलाई बफर जोनको रूपमा विकास गर्ने अमेरिकी रणनीति नै यस युद्धको प्रमुख कारण हो । अमेरिकाले युक्रेनलाई नेटोको सदस्य राष्ट्र बनाएर उक्त क्षेत्रमा सैन्य आधारशिविरहरू खडा गरेर रुसको सम्प्रभुतालाई चुनौती दिँदै, अन्ततः रुसलाई धेरै संख्यामा विभाजन गरी कमजोर बनाउने उसको दिर्घकालीन रणनीति नै यस युद्धको अर्को महत्वपूर्ण कारक हो ।

केही हप्ताअघि, रुसी राष्ट्रपति पुटिनले भनेका थिए कुर्स्क ‘घुसपैठपछि, युक्रेन, नेटो, अमेरिका कुनै पनि देशले युद्धविराम सम्बन्धी अब गर्ने मध्यमार्गी प्रस्ताव रुसको लागि खतरनाक मानिनेछ । त्यो खतरा रुसको हारको संकेत हुनेछ ।’ यस्तो अवस्थामा, रुस संसारमा नरहेको बराबर मानिनेछ । यदि रुस रहँदैन भने, यो संसारमा कोही पनि रहँदैन । पुटिनको यो भनाइले यो देखाउँछ कि रुस अब संसारको जुनसुकै शक्तिसँग पनि आवश्यक परेमा युद्ध लड्न तयार छ र यो युद्ध रुसले नजितेसम्म रोकिँदैन । युद्धस्वरुप आणविक नै हुनेछ । यस अवस्थामा, अमेरिकासामु मुख्य दुईवटा विकल्प रहन सक्छन् : पहिलो, युक्रेनलाई विभिन्न आरोप लगाएर युद्धबाट भाग्ने; अर्को, रुससँग आफ्नो सम्पूर्ण सामर्थ्य लगाएर युद्ध लड्ने । तर अमेरिकाको अहिलेको अवस्था हेर्दा, उसले यो युद्धमा खुलेर सामेल हुन सम्भव देखिँदैन । किनभने उसले बाहिरी सुरक्षा बजेटको करिब ४० प्रतिशत यही युद्धमा खर्च गरिसकेको छ । बाँकी मध्यपूर्वमा तनाव बढेसँगै इजरायल जोगाउने जिम्मा उसैको छ ।

त्यसैगरी, विश्व बजारको ४० प्रतिशत निर्यातको मार्ग दक्षिण चीन सागरमा आफु रहनका लागि ताइवान जोगाउने जिम्मा पनि उसले लिएको छ । यदि अमेरिका रुससँग युद्ध लड्ने मानसिकता बनायो र युद्धमा होमियो भने, तेस्रो विश्वयुद्ध नै हुनेछ, जुन अत्यन्तै भयानक र डरलाग्दो हुनेछ । त्यो युद्ध आणविक युद्ध नै हुनेछ र पृथ्वीबाट सम्पूर्ण मानव तथा प्राणीजगतको अन्त्यसम्म हुन सक्छ । तर अहिले संसारलाई लुटेर खाइरहेको अमेरिकालाई मर्ने डर पक्कै पनि रुस र यसका गठबन्धनका देशहरूभन्दा बढी हुनेछ । त्यसैले अमेरिका युद्धमा होमिने छैन । त्यसकारण, यस युद्धमा उसको पराजय निश्चित भइसकेको देखिन्छ ।

यदी अमेरिकाले आफ्नो हालसम्मको भूमिका यथावत राख्ने वा अहिलेभन्दा कमजोर रहने अवस्था आउँदा नेटो र युरोपेली देशहरुले सहजै टाउको थापेर अगाडि बढ्ने स्थिति देखिँदैन । यस प्रकारको अवस्थामा रुसले यो युद्ध लगभग जितिसकेको स्थितिलाई बताउँछ । विशेष रूपमा जर्मनी, फ्रान्स, इटलीलगायतका शक्तिशाली नेटो सदस्य राष्ट्रहरूमा हाल भइरहेका प्रदर्शनले अमेरिकी प्रभुत्वको विरोध गर्दै युरोपेली जनताले अमेरिकी दबाबबाट मुक्ति खोजिरहेको प्रस्ट पार्छ । आशा गरौं, टर्की र हंगेरीले नेटोमा गरेको संघर्ष, युरोपेली जनताका मानवता पक्षधर प्रदर्शनहरु र अन्ततः यसले ल्याउने परिणामले विश्व आतंकवादी अमेरिका र उसको रक्षक नेटोको विघटन छिटै हुनेछ र संसारले आतंकवादबाट छिटै मुक्ति पाउनेछ ।

(नोटः यो लेखमा प्रयोग भएका विवरण तथा घटनाक्रम विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्ययममा प्रकाशित सूचनामा आधारित हुन् । विभिन्न अन्तर्राष्ट्रिय भूराजनीतिक विश्लेषक तथा कूटनीतिज्ञहरुका अन्तर्वार्ता तथा चिन्तनहरु समेटेर घटनाक्रमलाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।)

टिप्पणीहरू