आरजू राणालाई समात्न लागेको समाचार नलेख्न प्रहरीको आग्रह

आरजू राणालाई समात्न लागेको समाचार नलेख्न प्रहरीको आग्रह

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले भ्रामक समाचार प्रसारण तथा प्रकाशन नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा सो पार्टीकी सांसद डा. आरजु राणालाई पक्राउ गर्न सिआइबीबाट टोली परिचालन भएको भनी समाचार प्रकाशन भएको जनाउँदै ब्यूरोले त्यस्तो आग्रह गरेको हो । आज विज्ञप्ति जारी गर्दै ब्यूरोले त्यस्ता समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । 

‘केही अनलाइन मिडिया तथा पत्रपत्रिकामा केही दिनदेखि यस ब्युरोबाट विभिन्न व्यक्तिको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटिएको भनी असत्य र भ्रामक विषयवस्तु राखी ब्यूरो प्रमुख तथा सूचना अधिकारीसँग समेत प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुशी आम जनमानसमा भ्रम सिर्जना गरी,अराजकता फैलाउने उद्देश्यले कपोकल्पित समाचार बनाई अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रसारण गरेको पाइएको हुँदा त्यस्ता आधारहिन र अपुष्ट समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यस्ता भ्रामक, कपोकल्पित र सत्यता परीक्षण नगरी प्रकाशन तथा प्रसारण गरिएका समाचारहरुको ब्यूरो खण्डन गर्दछ ।’ 

विज्ञप्तिमा व्यक्ति पक्राउ सम्बन्धमा भए गरेका सूचनाहरु सूचना अधिकारीमार्फत प्रेषित हुँदै आएको उल्लेख गर्दै प्रहरी कारबाही सम्बन्धमा सत्यता परीक्षण नगरी आधारहीन समाचार प्रसारण तथा प्रकाशन नगर्न सचेत गराएको छ ।

टिकापुर जग्गा हिनामिना प्रकरण र नक्कली भुटानी शरणार्थी काण्डमा आरजूलाई सिआइबीले १४ गते सादा पोशाकका प्रहरी पठाई पक्राउ गर्न लागेको भन्दै केही सञ्चार माध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् ।

टिप्पणीहरू