प्रहरी जवानबाट ‘बलात्कृत’ युवतीद्धारा माइतीघरमा धर्ना

प्रहरी जवानबाट ‘बलात्कृत’ युवतीद्धारा माइतीघरमा धर्ना

बलात्कार आरोपितलाई अदालतले जोगाउन खोजेको भन्दै जाजरकोटकी सराकुमारी शाही पुन: आन्दोलनमा उत्रिएकी छन् । 

विवाहको प्रलोभनमा पारेर प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्नाले जबर्जस्ती करणी गरेको उनको आरोप छ । त्यसविरुद्ध कानुनी लडाई लडिरहेकी साराकुमारी सडक संघर्ष पनि गरिरहेकी छन् । यसैबीच उच्च अदालत, पाटनले भुपेन्द्रलाई जेल पठाउन नमिल्ने मिसिल सर्वोच्च अदालत पठाएपछि उनी पुन: सडकमा ओर्लिएकी हुन् । 

आजदेखि माइतीघर मण्डलामा धर्ना बसेकी उनले ठगुन्नालाई जेल नपठाएसम्म धर्ना जारी राख्ने बताइन् । जुनिचाँदी गाउँपालिका-९ घर भएकी साराकुमारी पढाइको सिलसिलामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ मा बसोबास गर्दै आएकी छिन् । सुर्खेत बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत उनको टिकटकमार्फत भुपेन्द्रसँग चिनजान भएको हो  

त्यतिबेला भुपेन्द्रको ‘पोस्टिङ्ग’ सुर्खेतमै भएकाले उनीहरुको भौतिकरुपमा पनि भेटघाट हुन थाल्यो । प्रेम सम्बन्धमा रहेका दुबै ‘लिभिङ टुगेदर’ मा बसे । पछि भुपेन्द्र सरुवा भएर सर्वोच्च आए । सराकुमारी पनि निम्न माध्यमिक तहसम्म पढाउने शिक्षक लाइसेन्सको परीक्षा दिन काठमाडौं आइन् । 

सराकुमारीका अनुसार त्यसपछि उनी भुपेन्द्रकै कोठामा बसिन् । त्यसक्रममा भूपेन्द्रले ‘विवाह गर्छु’ भनेर पटक-पटक शारीरिक सम्बन्ध राखेको र आफू गर्भवती भएको उनको भनाई छ । तर, त्यसपछि उनीहरुको सम्बन्ध राम्रो हुन सकेन । भुपेन्द्रको कुटाइबाट आफ्नो गर्भ खेर गएको सराकुमारीको आरोप छ । 

आफूसँग शारीरिक सम्बन्ध राखेर छोडिदिएपछि सराकुमारीले सुर्खेत जिल्ला अदालतमा ‘बलात्कार’ मुद्दा दायर गरेकी थिइन् । न्यायाधीश मनोजकुमार श्रेष्ठको इजलासले भुपेन्द्रलाई धरौटीमा रिहा गर्न आदेश दियो । 

जिल्लाको आदेशविरुद्ध उनले उच्च अदालत, पाटनमा रिट दायर गरिन् । उच्चले पनि भुपेन्द्रलाई पुर्पक्षका लागि थुनामा पठाउन नमिल्ने भनि मिसिल सर्वोच्च पठाएको छ । 

पेशी चलिरहेको सो मुद्दामा दबाब दिनका लागि आजदेखि धर्नारत साराकुमारीले ‘भुपेन्द्रलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने’,‘न्यायाधीश मनोजकुमार श्रेष्ठलाई कारबाही गर्नुपर्ने’लगायतका माग राखेकी छिन् ।

 

टिप्पणीहरू