विदेश जान रविलाई बाधा

विदेश जान रविलाई बाधा
सुन्नुहोस्

‘इलाका मेरा, धमाका तेरा’ भनेजस्तो पार्टी रवि लामिछानेको, मान्छे बालेनको !

सत्ता राजनीतिमा उलटपुलट भएसँगै जसपामा उपेन्द्र यादवलाई एक्ल्याइएकै शैलीमा रास्वपामा रविको हालत हुने अनुमान गरिँदै छ । त्यसमाथि पार्टीभित्र केही प्रतिशत मानिस बालेन पक्षधर हुनु, कार्यसमिति र संसदीय दलमा असन्तुष्टहरू बढ्नु सबभन्दा खतराको विषय बनेको छ ।

गत शनिवार रास्वपा महामन्त्री मुकुल ढकाल र बालेनबीच कीर्तिपुरमा लामो छलफल भयो । मुकुलको स्वरमा लय मिलाउनेहरू निशा डाँगी, डा. चन्दा कार्की, सोविता गौतम, डा. तोसिमा कार्की, अशोक चौधरी, गणेश पराजुली, विनिता कडायत, मनीष झाहरू हुन् भनिन्छ । डा.स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठहरू त झन् कांग्रेस पृष्ठभूमिकै भइगए । 

बालेनसँग विभिन्न अस्त्र बाँकी नै छन् । रास्वपा कब्जा गर्ने वा अलि पछि अलग्गै पार्टी खोलेर अगाडि बढ्ने विकल्प पनि छ । अर्को अस्त्र हो, सिके राउत, रेशम चौधरीलगायतलाई मिलाएर मोर्चा गठन गर्ने । त्यसमध्ये पहिलो मिशन रविलाई उपेन्द्र यादव बनाउने हो । यी भित्री खेल केही दिनभित्रै पटाक्षेप हुने सम्भावना देखिन्छ । 

विराजभक्तलाई जसरी पनि फकाउने कुरामा बालेनका निकटस्थ कुमार बेन जोडतोडसँग लागेका छन् । मुकुलको प्रतिवेदनमा जिल्ला–जिल्लाको वस्तुस्थितिसँगै बालेनका विचार पनि समेटिएको चर्चा रास्वपाभित्र छ । भनिन्छ, प्रतिवेदन तयार पार्दा मुकुल र बालेन सँगै थिए । 

अर्कातिर, राहदानी मुद्दाको छिनोफानो समयमा नलाग्दा यत्तिका महिना गृहमन्त्री भइसकेकालाई विदेशयात्रामा बाधा पुगेको छ । खानेपानी र महिला, महिला, बालबालिकाजस्ता हेपिएका मन्त्रालयका हाकिमसमेत विदेश धाइरहँदा देशको जल्दोबल्दो उपप्रधान र गृहमन्त्रीले भारतसमेत जान नपाउनु विडम्बना हैन र ! कोही नागरिकको राहदानीजस्तो संवेदनशील मुद्दाको छिनोफानो लगाउन न्यायाधीश वा अदालत प्रशासनका कारणले ढिलाई हुने र नागरिकको विदेश आवत जावत गर्ने अधिकार निरन्तर कुण्ठित हुने कुरा जायज मानिँदैन ।

रविले अमेरिकी राहदानी त्यागेको भन्दै नेपालबाट नागरिकताको दोस्रो प्रति लिएका छन् । अमेरिकाले नागरिकता लिनेभन्दा त्याग्नेलाई नराम्रो मान्छ । अमेरिकी नागरिकता त्यागेर सिक्किमको महारानी बनेकी होप कुककै नजिर यसमा काफी हुनेछ । त्यहाँका राजा चोग्यालकी पत्नी होप कुक पछि अमेरिका गइन्, तर नागरिकता पाइनन् । बरु, राष्ट्रपतिले एउटा विशेष कानुनमा सही गरेपछि पिआरसम्म बल्लतल्ल पाइन् र त्यही आधारमा आफ्नो जन्मभूमिमा बस्न सकिन् ।

अहिले रविको पनि हालत त्यस्तै हुने देखिन्छ । यस्तो मुद्दा विचाराधीन हुँदा विश्वका विभिन्न मुलुक प्रवेश गर्न कठिनाई हुन्छ । त्यस सन्दर्भमा देशैपिच्छे फरक–फरक व्यवस्था छन् । प्रचण्ड, जनार्दन शर्माहरू अमेरिका गए । तर, अष्ट्रेलिया, नर्वे, डेनमार्कजस्ता देश जान सक्दैनन् । यदि, मानवअधिकार वा कुनै देशमा कानुनी प्रश्न उठेको व्यक्ति छ भने पनि अमेरिकाले ‘यो मान्छेलाई यो मितिसम्म पक्राउ नगर्नु’ भनेर निर्देशन जारी गरेको हुन्छ ।

नत्र, त्यहाँको कानुन र अदालतले जुनसुकै ठाउँमा मानवअधिकार उल्लंघन गरेकोलाई पक्राउ गर्छ । त्यसमाथि अमेरिकामा राज्यपिच्छे फरक–फरक कानुन छन् । यसअघि प्रचण्डको अष्ट्रेलिया भ्रमण अन्तिम अवस्थामा रद्ध भएकै हो । रविको हकमा पहिला नागरिकता विवादमा उम्मेदवारी नै खारेज भयो । पछि उनले अमेरिकी नागरिकता र राहदानी त्यागेको निस्सा देखाएर नेपाली नागरिकतासम्म लिएका हुन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू