आफ्ना गल्तीले नबिगारौं छोराछोरीको बिहे

आफ्ना गल्तीले नबिगारौं छोराछोरीको बिहे

जो मानिसमा सहनशीलता छैन त्यो मान्छेलाई पूर्ण गुणको हो भन्न सकिन्न । महिलामा ३२ लक्षण हुनुपर्छ भनिन्छ तर पुरुषमा यो व्यवस्था छैन । हुन त यो आधुनिक युगको कुनै संहिता वा नियममा उल्लेख गरिएको कुरा पनि होइन । पहिलेका मानिसमा इमानदारी र समझदारी कायम हुन्थ्यो । कुनै नाजायज र अव्यावहारिक काम गर्नुपरेमा धेरै सोच्नुपथ्र्याे भने अहिले कोही–कोहीले तत्काल खराब निर्णय गरेर नाजायज, अनुचित र अव्यावहारिक काम गरिहाल्छन् । चोरी, डकैती, पाकेटमारी, अनैतिक र बेइमानीको काम हो । परिश्रम गरेर खानु इज्जतभित्रको कार्य हो । पौराणिककालमा पनि त्यस्ता अनुचित काम धेरै भए । जस्तै रावणले सीतालाई हरण गरे, कंशले कृष्णमाथि दुश्मनी गरे । शास्त्रहरूमा यस्तैयस्तै नकारात्मक काम कुरा उल्लेख भएको पाइन्छ । यो त झन् कलियुग हो, अहिले त्यतिबेलाको भन्दा झनै क्रुरता र हिंसामा उत्रिन बेर लगाउँदैन मानिस । उदाहरणका लागि केही वर्षअघि बाटोमा धक्का लागेको निहुँमा एकले अर्कोलाई छुरा नै प्रहार गरेका थिए । सायद घाइतेको ज्यान नै गए जस्तो लाग्छ ।

अञ्जानमा भएको सानो गल्तीमा पनि सहन नसक्नु, झनक्क रिसाउनु, अपशब्द प्रयोग गर्नु, त्यस्तै परे हात छोड्नु र जे पनि गर्न तयार हुनु भनेको संयमता अर्थात् सहनशीलताको अभाव हो । गाउँघरमा दाजुको बाख्रा वा गाईले भाइको खेतबारीको बाली खायो भने त्यही निहुँमा विवाद उत्पन्न भई जीवनभर पानी बाराबारको अवस्था आएको पनि देखिन्छ । सरकारी कार्यालयमा सेवा लिन पालो कुरेर पंक्तिमा बस्न नसकी पालो मिच्ने मुख्र्याइँ गर्नु पनि सहनशीलताको कमी हो । छिटोछरितो काम सबैलाई चाहिएको हुन्छ । नेपालको सन्दर्भमा धेरै भीडभाड हुने सरकारी निकायमा सेवाग्राही छिटो काम बनोस् भनेर कर्मचारीलाई घुस खुवाउने चलन अहिलेको होइन । जसले घुस खुवाउँछ उसको काम छिटो र छरितो हुने गरेको छ । घुस खुवाउने क्रममा अख्तियारको फन्दामा परेमा र मुद्दा खेप्नुपरेमा अनि जेल सजायँ भोग्नुपरेमा त्यस्ता कर्मचारीका छोराछोरीको विवाह हुन मुस्किल पर्छ । बंश नै बिटुलिन्छ । सजायँ भुक्तान भइसकेपछि ऊ अन्यत्रै बसाइँ सरेमा मात्र छोराछोरी र नातिनातिनीको बिहे हुन सक्छ, नत्र हुँदैन । किनकि समाजले उसको दाग सधैंदेखि नै रहन्छ ।

घुस खुवाउने क्रममा अख्तियारको फन्दामा परेमा र मुद्दा खेप्नुपरेमा अनि जेल सजायँ भोग्नुपरेमा त्यस्ता कर्मचारीका छोराछोरीको विवाह हुन मुस्किल पर्छ । 

कसैले रकम सापटी लगेर समयमा नतिरे उसमाथि जाइलाग्नु पनि उचित हुँदैन । किनकि बेलैमा सापटी तिर्न नसक्नुमा विविध कारण हुन सक्छन् । त्यसैले समय थपिदिनु राम्रो हुन्छ । अरुको समस्या बुझिदिनु पनि बुद्धिमानी ठहर्छ । मीटर व्याजमा सापटी दिनुचाहिँ सामाजिक अपराध हो । कसैको गर्जो टर्छ भने आर्थिक क्षमता भएकाले सकेसम्म केही दिनका लागि चाहिएको रकम दिनु राम्रो पक्ष हो । कुनै मानिस आर्थिक वा सामाजिक हिसावले कमजोर देखिएमा ऊमाथि नकारात्मक टिप्पणी गर्नु पनि असामाजिक काम हो । धनीमानीलाई मात्र ठूलो मान्छे गन्ने र गरिबलाई हेप्ने काम असामाजिक र अभद्र व्यवहार हो ।

यात्रुवाहक गाडीमा पाँच रुपियाँका लागि यात्रुले सहचालकमाथि हातपात गरेको पनि पाइन्छ । सहचालकले पनि यात्रुमाथि मुख छोडेको सुनिन्छ । जुन व्यवहार सभ्य र सकारात्मक सोचका अन्य यात्रुलाई असहज हुन जान्छ । ट्राफिक प्रहरीलाई तथानाम गाली गर्नु कुनै पनि चालकका लागि घातक हुन्छ । लामो दूरीको गाडीमा यात्रु र चालक र सहचालकवीच विवाद नभएको कुनै यात्रा छैन । 

पसलमा फलफूललाई औँला गाडेर छाम्ने गर्दा पसले रिसाउन सक्छन्, तरकारी पसलमा गएर भिण्डी छिप्पिएको छ छैन थाहा पाउन दुई औँलाले थिच्ने वा टुप्पो भाँच्ने काम गरिन्छ । यो पनि राम्रो काम होइन । यसरी छामेर फलफूल वा तरकारीमा क्षति पु¥याई नकिन्नु भनेको पसलेलाई दिक्क पार्नु हो । उपभोक्ताको यो अर्को बेइमानी पनि हो ।

मुस्कानसहितको सेवा भनेर नेपाल प्रहरीले सार्वजनिक गरेको नारा हो । प्रहरीको काम बदमासी गर्नेहरूलाई सम्झाउने, चेतावनी दिने र नमानेमा कारवाही अगाडि बढाउने हो । आर्मी होस् वा प्रहरी– अफिसरहरूले सहायक वा जवानलाई अश्लील शब्दसमेत प्रयोग गरेको पाइन्छ । निजामतीतर्फ पनि हाकिम र कारिन्दावीचमा यस्तै व्यवहार हुनु जरुरी छ ।

एउटा घरको कुकुरले अर्को घरको पर्खालमा पिसाब गरेपछि त्यस विषयमा कुटपिटको अवस्था आएको र घरवाला घाइते हुनुपरेको यो लेखक प्रत्यक्षदर्शी नै हो । 

गाउँघरमा सार्वजनिक धारामा दलित जातिलाई अछुत भनेर अन्तिममा मात्र पानी भर्न दिने, अगाडि वा बीचमा थाप्यो भनेर तथानाम गाली गर्ने र दुव्र्यवहार गरेको समाचार सञ्चारमाध्यमबाट प्रकाशमा नआएका होइनन् । संविधानले जे व्यवस्था गरेको छ सोबमोजिम समाज चल्नुपर्छ । पुरातनवादी भएर काम गर्दा कानुनको घेरामा परिने सम्भावना हुन्छ ।

दाजुभाइबीच पनि सम्मान र स्नेहको आवश्यकता पर्छ । एकै परिवारमा चार जना दाजुभाइ फरक–फरक वा चारै पार्टीका समर्थक रहेका धेरै उदाहरण छन् । भाइ फुटे गँवार लुटे भन्ने त उखानै छ । दाजुभाइको विवाद समाजमा फैलिनु राम्रो होइन । सानोतिनो विवाद सबै मिलेर, छलफल गरेर, सल्लाह गरेर समाधान गर्नुपर्छ । विवादमा उत्रिएर भाइभाइमा फाटो ल्याएमा कुनै पनि सभ्य समाजले स्वीकार्दैन । 

शहरमा बाटो काट्न गाह्रो मानिरहेका बृद्ध, अपांग र बालबालिकालाई बाटो कटाइदिनु मानवीय धर्म हो । अरुको समस्यालाई देखेर नदेखेझैँ गर्नु अमानवीय कार्य हो । पसलमा सामान किन्दा मोलमोलाई हुनु सामान्य कुरा हो । तर भएभरका सामान छान्दाछान्दा अन्त्यमा नकिनेर त्यसै हिँड्नु राम्रो होइन । सानोतिनो भए पनि एउटा सामान किनिदिएमा पसलेलाई सन्तुष्टि हुन जान्छ । पसलेले जानाजानी म्याद नाघेका सामान बिक्री गर्नु हुँदैन । खरिद गर्नेले पनि मिति हेर्दा उचित हुन्छ । आधुनिक जमानामा हरेक व्यवसायका मापदण्ड हुन्छन् । ती मापदण्ड व्यवसायीले पालना गर्नै पर्छ । उपभोक्ता पनि सचेत हुनुपर्छ ।

संयम नहुँदा अर्थात् सहनशील नहुँदा आफैँलाई र अर्कालाई समेत क्षति हुन जान्छ । यसैले संयमित हुनु सबैका लागि उत्तम हुन्छ र सबैको भलो र कल्याण हुन्छ । संयमित हुनेको व्यक्तिगत मान हुन्छ, त्यस्ता व्यक्तिको समाज सभ्य हुन्छ । देशबासी सबैले यस्तै व्यवहार र सोचअनुसार जीवन बिताउने हो भने मुलुकको छवि नै उच्च रहनेमा कुनै सन्देह छैन । त्यसैले संयमित बनौँ, सभ्य बनौँ, सुखी रहौँ ।
 

टिप्पणीहरू