उठ युवा, देशले तिम्रो नेतृत्व मागिरहेको छ

उठ युवा, देशले तिम्रो नेतृत्व मागिरहेको छ

प्रिय नेपाली युवा मित्र, मैले तिमीलाई मित्र भनेर सम्बोधन गरेँ किनकि तिमी परिवर्तनको चाहना राख्ने हामी सबै नेपालीको सच्चा मित्र हौ । तिमीलाई थाहा छ, संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ । तर तिमी, अझै पनि मौन बसेरहेका छौ । आफ्नो देशको उन्नतिका लागि संगठित हुन तिमीले किन चासो दिएका छैनौ ? मैले बुझ्न सकिनँ । तिमीले बुझ्नुपर्छ कि टुलुटुलु हेरेर स्ने समय अब हामीसँग रहेन । आफ्नो देशमा परिवर्तन ल्याउने जिम्मेवारी तिम्रो काँधमा आइसकेको छ । देशको भविष्य तिम्रो हातमा छ । त्यसैले अब तिमी उठ्नुपर्छ, र आफ्नो जिम्मेवारी बोक्नुपर्छ । तिमीमा जोश, र ऊर्जा छ । अनि परिवर्तनको नेतृत्व गर्ने क्षमता छ, नयाँ दृष्टिले सुसज्जित विचार पनि छ । त्यसैले अब तिमीले पुराना नेताको प्रभुत्वलाई तोड्ने शाहस गर्नै पर्छ र नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ । तिम्रो सिर्जनशील शक्ति र दृष्टिकोणले सबै नेपालीको भविष्य उज्ज्वल बनाउन सक्छ । त्यसैले तिमी आफ्नो भूमिकाको पहिचान गर, समृद्धिका लागि सबै क्षेत्रको नेतृत्व गर । नेतृत्व गर्ने केवल तिम्रो व्यक्तिगत उन्नतिको कुरा होइन, यो त सम्पूर्ण राष्ट्रको भविष्यसँग जोडिएको छ । तिम्रो सक्रियताबिना देशको प्रगति सम्भव छैन ।

समाज निर्माणमा तिम्रो भूमिका

नेपाल अहिले एक निर्णायक मोडमा आएर उभिएको छ । वर्तमान परिस्थितिले युवाको मौनता सहन गर्न सक्दैन । संसारभर अहिले १० देखि २४ वर्ष उमेरका करिव १.८ अर्ब युवा छन् । यी सबै युवा परिवर्तनका लागि शक्तिशाली स्रोत हुन् । भन्नका लागि त मान्छेले युवालाई भविष्यका कर्णाधार भन्छन् । तर आजको युगमा तिमी भविष्य मात्र नभएर वर्तमान पनि हौ । नयाँ नेपाल निर्माणमा योगदान दिन अब तिम्रो पालो आइसकेको छ । त्यसैले तिमीले अव समाजका हरेक क्षेत्रमा रचनात्मक मार्गको खोजी गर । देशमा दिगो विकास र परिवर्तनका लागि अब तिमी प्रत्येक गाउँबाट उठ, प्रत्येक बस्तीबाट उठ । परिवर्तनको सच्चा वाहक तिमी नै हौ । तिम्रो योगदानले देशलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ । समाजमा तिम्रो सक्रियता अत्यन्तै महत्वपूर्ण छ । किनकि तिमीले समाजको अनुहार बदल्न सक्छौ । तिम्रो सिर्जनशीलता र नवीन सोचले नयाँ बाटो खोल्न सक्छ । तिमीले आफ्नो क्षमताको अधिकतम प्रयोग गर्नुपर्छ । समाजमा सामूहिक प्रयासमार्फत सकारात्मक परिवर्तन ल्याउनुपर्छ । तिम्रो सानो प्रयासले नेपालमा ठूलो परिवर्तनको सुरुवात हुन सक्छ ।

चुनौतीलाई जित्न सिक

हाम्रो देशमा अहिले धेरै चुनौती विद्यमान छन् । शिक्षाको अभाव, कमजोर स्वास्थ्य व्यवस्था, बेरोजगारी, भ्रष्टाचार र सामाजिक बहिष्करण त केही उदाहरण मात्र हुन् । तर यी चुनौतीलाई तिमीले अवसरमा बदल्न सक्छौ किनकि तिमीमा फरक हिसाबले सोच्न सक्ने क्षमता छ । पुराना विचार र पुरानो मानसिकताले अब तिमीलाई बाँध्न सक्दैन । काम गर्न तिमीले नयाँ दृष्टिकोण अपनाउनुपर्छ । समाजले तिमीलाई युवा बेरोजगारी, युवा दुव्र्यसनजस्ता समस्याको रूपमा मात्र देख्न सक्छ । तर, तिमीले बुझ्नु पर्छ, तिमी सबै किसिमका समस्या समाधान पनि हौ । त्यसैले सिर्जनात्मकता र दृढ इच्छाशक्तिको प्रयोग गरेर सबै चुनौतीलाई तिमीले जित्न सिक । तिम्रो सोच र दृष्टिकोणले समाजमा परिवर्तन ल्याउन सक्छ । हरेक चुनौतीलाई अवसरमा बदल्ने शक्ति तिमीमा छ । समाजमा विद्यमान असमानता, गरिबी र अन्यायविरुद्ध लड्न तिम्रो भूमिका महत्वपूर्ण छ । त्यसैले देशमा विद्यमान विभिन्न चुनौतीको सामना गर्न सिक । वास्तविक नेतृत्व चुनौती सामना गरेर मात्र प्राप्त हुन्छ । तिमीमा पनि प्रयास गर्दागर्दै आत्मविश्वास र दृढताको विकास हुनेछ । 

राजनीतिको नेतृत्व गर्न तिमी उठ

नेपालको राजनीतिक दृश्यमा अहिले पुराना नेताको प्रभुत्व छ । स्वाभाविक हो, पुराना नेता आफूअनूकल व्याख्या गर्छन र सधैँ सत्तामा रहिरहन चाहन्छन् । तर त्यसले अब तिमीलाई थामेर राख्न सक्दैन । तिमीले नेतृत्व आफ्नो हातमा लिने समय आइसकेको छ । यसका लागि विश्वभरका युवा नेताबाट प्रेरणा लिन सक्छौ, जसले कम उमेरमै ठूलो जिम्मेवारी उठाएका छन् । तिनीहरूले उमेरको बाधालाई जिते । तिमीले पनि त्यसै गर्न सक्छौ । जस्तो कि जासिन्डा आर्डर्नले ३७ वर्षकै उमेरमा न्युजिल्याण्डको प्रधानमन्त्री बनिन् । र, उनले प्रधानमन्त्री भएर सामाजिक न्याय, जलवायु परिवर्तन र स्वास्थ्य सुधारमा ठूला कदम चालिन् । एमानुएल माक्रोनले ३९ वर्षको उमेरमा फ्रान्सको राष्ट्रपति भएर आर्थिक सुधार र युरोपियन संघको मजबुतीकरणमा ध्यान दिए ।

अलेक्जान्ड्रिया ओकासिओ–कोर्टेजले २९ वर्षको उमेरमा अमेरिकी कांग्रेसकी सदस्य बनेर हरियो नयाँ सम्झौता र आर्थिक समानताको लागि आवाज उठाइन् । सेबास्टियन कुर्जले ३१ वर्षको उमेरमा अष्ट्रियाको काउन्सलर बनेर प्रवास नीति र आर्थिक सुधारमा केन्द्रित भए । सन्ना मारिनले ३४ वर्षको उमेरमा फिनल्याण्डकी प्रधानमन्त्री बनेर सामाजिक कल्याण, शिक्षा सुधार र लैंगिक समानतामा ठूला काम गरिन् । यी नेताले युवा उमेरमै नेतृत्वको शक्तिशाली उदाहरण प्रस्तुत गरेका छन् । तिमीले पनि उनीहरूबाट प्रेरणा लिएर आफ्नो देशमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ र देशको सेवा गर्न उमेरले छेक्न सक्दैन भन्ने प्रमाणित गरेर देखाउन सक्नुपर्छ । शीर्ष राजनीतिक नेतृत्वलाई सम्मान गर, आदरसाथ उनीहरूका अनुभवबाट प्रेरणा पनि लेऊ । तर, नेताको दास नबन । दास मनोवृत्ति र एकतन्त्रीय भावनाविरुद्ध निर्मम भएर लड । नेतृत्व भनेको मात्र केवल पदमा बस्ने कुरा होइन । यो एउटा यस्तो जिम्मेवारी पनि हो, जसले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ । तिमीले आफू मात्र होइन समाजका सबै अंगसँग सहकार्य गरेर अरूलाई पनि साथ लिएर अघि बढ्नुपर्छ । तिम्रो नेतृत्वले समाजमा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ । तिम्रो नेतृत्वबिना समाजमा समृद्धिको कल्पना पनि गर्न सकिँदैन ।

भ्रष्टाचाररहित कानुनी राज्यको अवधारणाका लागि दृढ बनेर लड

तिमीलाई थाहै छ, देशका नियम र कानुन सबैका लागि समान र अनिवार्य हुनुपर्छ । तर, एक पटक सजग भएर हेर त, राजनीतिक शक्तिमा रहेकाहरूले अहिले के गरिरहेका छन् ? के तिनीहरूले आपसमा लुछाचुँडी र मनपरीतन्त्र चलाइरहेका छैनन् ? त्यसैले तिमीले यो एकाधिकार समाप्त गरेर कानुनी राज्यको अवधारणा लागू गराउनका लागि अघि बढ्नै पर्छ । सरकार, प्रशासन, र प्रहरीलाई कानुन पालनामा सबैका लागि समान र कठोर बन्न दबाब दिनुपर्छ । तिम्रो दृढता र निष्पक्षताले मात्र देशमा समानता र न्याय स्थापनामा योगदान गर्न सक्छ । देशमा व्याप्त भ्रष्टाचारले देशलाई पछि धकेलिरहेको छ । भ्रष्टाचारले समाजमा असमानता, अन्याय र गरिबी फैलाउँछ । यसले विकासलाई अवरुद्ध मात्र गर्दैन, सामाजिक सद्भाव पनि बिगार्छ । त्यसैले तिमीले भ्रष्टाचारविरुद्ध संगठित भएर लड्नुपर्छ । हाम्रा लागि अब भ्रष्टाचारीहरू पार्टी नेतृत्व र सत्तामा रहिरहने कुरा सह्य हुनु हुँदैन । यसका लागि हामीले जनतालाई सुसूचित गर्नै पर्छ । तिमीले यो मुद्दामा आवाज उठाउनुपर्छ, समाजमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ । 

सिर्जनात्मत्क विचार र प्रविधिको सदुपयोग गर

आफ्ना सिर्जनात्मक विचार र प्रविधिको उपयोग गर्दै समाजलाई बदल्ने अद्वितीय अवसर अहिले छ । भ्रष्टाचारको प्रभावकारी रूपमा सामना गर्नका लागि तिमीले यसको प्रचलन र प्रभावबारे राम्ररी जानकारी राख्नुपर्छ, भ्रष्टाचारका विभिन्न रूप बुझ्नुपर्छ । त्यसका साथै यसले राष्ट्रको वृद्धि र विकासमा कस्तो असर पारिरहेको छ भन्ने कुरा बुझ्न जरुरी छ । सूचना प्रविधिले यस लडाइँमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । इन्टरनेट र प्रविधिको प्रयोगले भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउन मद्दत पुर्‍याउन सक्छ । त्यसैले तिमीले प्रविधिको माध्यमबाट भ्रष्टाचारको निगरानी गर्नुपर्छ । यसका लागि तिमीले अनलाइन प्लेटफर्ममा सञ्जाल निर्माण गर्न सक्छौ । प्रविधिको प्रयोगले समाजमा सूचना प्रवाहलाई सहज बनाउनेछ, जसले गर्दा भ्रष्टाचारविरुद्ध एकजुट हुन सम्भव हुनेछ ।

भ्रष्टाचारविरुद्धको लडाइँमा सूचना र प्रविधिको सही उपयोगले मात्र दीर्घकालीन सफलता प्राप्त गर्न सकिन्छ । तिमीले यो जानकारी प्रयोग गरेर भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन सक्छौ । त्यसैले तिमीले आफ्नो ऊर्जालाइ सही ठाउँमा प्रयोग गर । आफ्नो क्षमता र ज्ञानलाई वास्तविक समस्याको समाधानमा केन्द्रित गर । शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा तिमीले ठोस समाधान खोज्ने हो भने हाम्रो समाज समृद्धितिर लम्किनेछ । तिमी आफ्नो कलम, इन्टरनेटको पहुँच वा आफ्नो आवाज जे प्रयोग गर्न सक्छौ, प्रयोग गर, तर, राष्ट्रका लागि संगठित भएर अघि बढ । नेतृत्वमा रहेकाले केही गर्लान् कि भनेर परिवर्तनको प्रतीक्षा नगर, आफैं परिवर्तनको अगुवा बन । तिम्रो सिर्जनशीलता नै समाजमा सकारात्मक परिवर्तन ल्याउने मुख्य आधार हो । तिमीले आफ्नो ज्ञान, सीप, र साधनहरूको अधिकतम प्रयोग गरेर समाजमा नयाँ सोचको सुरुवात गर्न सक्छौ । तिम्रो सृजनशील पहलले समाजमा नयाँ चेतना ल्याउन सक्छ, जसले दीर्घकालीन परिवर्तनको सुरुवात गर्नेछ । सिर्जनशीलतामा कुनै सीमा छैन, तिम्रो हरेक विचारले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ । तिमीले सधैं नयाँ समाधान खोज्नुपर्छ, किनकि परिवर्तनका लागि तिमी नै प्रमुख शक्ति हौ ।

निःशुल्क शिक्षा र स्वास्थ्यका लागि आवाज उठाऊ

निःशुल्क शिक्षा र स्वास्थ्य हाम्रो मौलिक अधिकार हो । तिमीले यो अधिकारका लागि लड्नुपर्छ । शिक्षाको पहुँच सबैका लागि हुनुपर्छ । स्वास्थ्य सेवा सबैलाई उपलब्ध हुनुपर्छ । यो अधिकार सुनिश्चित गर्नका लागि तिमीले एकताबद्ध आवाज उठाउनुपर्छ । शिक्षा र स्वास्थ्य सेवामा पहुँचले मात्र समाजमा वास्तविक समानता ल्याउन सक्छ । यसका लागि तिमीले सरकारलाई जवाफदेही बन्नका लागि निरन्तर दवाव दिनु पर्छ । निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता नै समृद्ध र समान समाजको आधार हो । यसका लागि पनि तिमीले निरन्तर आवाज उठाइरहनु जरुरी छ । निशुल्क शिक्षा र स्वास्थ्यको पहुँच सुनिश्चित गर्दा मात्र समाजमा दीर्घकालीन विकास सम्भव छ । त्यसैले तिमीले यो मुद्दामा संगठित भएर लड्नुपर्छ ।

देशभक्त बन 

तिमीले बुझ्नुपर्छ कि देशभक्ति केवल नारा होइन । यो जिम्मेवारीको व्यावहारिक अभिव्यक्ति हो । तिमीले समाजका सबै तप्कासँग संवादको थालनी गर्नुपर्छ र सामाजिक र आर्थिक विकासका लागि काम गर्नुपर्छ । यो सुरुवात तिमीले आफ्नै वरिपरिका स्थानबाट गर्नुपर्छ । यो कार्य तिम्रो घर, विद्यालय, समुदाय, धार्मिक स्थल वा कार्यस्थलमा हुन सक्छ । यी प्रभावकारी स्थानले तिमीलाई कर्तव्यबोध गराउन सक्छ । नैतिकता निर्माण गर्न सक्छ । समाजमा सकारात्मक योगदान दिन सक्षम बनाउँछ । देशप्रेमको वास्तविकता तब मात्र देखिन्छ जब तिमीले आफ्नो व्यवहार र क्रियाकलापमार्फत समाजमा योगदान दिन्छौ । यसरी तिम्रो दैनिक जीवनका स–साना कुराबाट देशभक्तिको भावना जागृत गर्न सकिन्छ । तिमीले देशप्रतिको जिम्मेवारीलाई व्यावहारिक बनाउनुपर्छ ।

एकताबद्ध भएर अघि बढ

देशमा आर्थिक समृद्धि चाहने एक नागरिक तिमीलाई, आह्वान गरिरहेछ । तिमी एकताबद्ध होऊ, संगठित होऊ, र सबै वर्ग र समुदायसँग मिलेर काम गर । समुदायमा रहेका समस्या समाधान गर्न सक्ने शक्ति तिमीमा छ । तिमीले एकतामा शक्ति छ भन्ने कुरा बुझ्नुपर्छ । जब तिमी एकताबद्ध हुन्छौ, तिमीलाई कसैले रोक्न सक्दैन । युवाबीचको एकताले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ र एकताबद्ध प्रयासले मात्र सामाजिक न्याय, समानता र समृद्धि सुनिश्चित गर्न सक्छ । त्यसैले तिम्रो एकता नै राष्ट्र निर्माणको मुख्य आधार हो । तिमीले एकता र समन्वयको महŒव बुझ्नुपर्छ । जब युवा एकजुट हुन्छन्, तब मात्र समाजमा दीर्घकालीन परिवर्तनको सम्भावना हुन्छ । एकताको बलले मात्र देशको प्रगति सुनिश्चित गर्न सकिन्छ । 

तिमी हामी एक नयाँ युगको शुरुवातमा छौ । त्यसकारण तिमीले समाजमा छाएको निराशालाई आशामा बदल्ने प्रयासमा लाग । तिम्रो राजनीतिक जागरणले नयाँ ऊर्जा, दृष्टिकोण र विचार ल्याउनेछ । तिमीले आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । शुरूवात तिमी आफ्नै गाउँबाट गर्न सक्छौ । यो नेपाललाई समृद्ध, न्यायपूर्ण र समान समाजको रूपमा रूपान्तरण गर्ने समय हो । यसकारण तिमी उठ, संगठित होऊ, एकताबद्ध होऊ र पारदर्शी नेतृत्वका लागि लागिपर । तिमी नै हौ, जसले राष्ट्रको अनुहार बदल्न सक्छ । उठ, नेपाली युवा देशलाई तिम्रो आवश्यकता छ । तिम्रो जागरूकता र सक्रियताले मात्र समाजमा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ । तिम्रो प्रत्येक कदमले राष्ट्रलाई समृद्धि र न्यायको मार्गमा अग्रसर गर्नेछ । तिम्रो नेतृत्वले मात्र नेपाललाई एक समृद्ध, न्यायपूर्ण, र समान समाजको रूपमा स्थापित गर्न सक्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू