राजनीतिमा युवाको सहभागिता, वर्तमान अपरिहार्यता

राजनीतिमा युवाको सहभागिता, वर्तमान अपरिहार्यता

युवाले राजनैतिक नेतृत्व लिनुपर्ने आवश्यकता टड्कारो देखिँदा यतिबेला नेपाली राजनीतिले एक असफल कोर्षको अभ्यास गरिरहेको छ । यो कोर्षले नेपाली राजनीतिको ठूलो हिस्सा ओगटेको युवामाझ वितृष्णा पैदा गरिरहेको छ । राष्ट्रिय राजनीतिको यस प्रकारको अभ्यास आमरुपमा रहिरहेमा, एवम् रितले राजनीतिले आफ्नो कोर्षको परीक्षा दिइरहेमा यसले निर्माण गर्ने नजिरहरु भविष्यमा हाम्रा लागि कति दुःखदायी हुन्छन् भन्नेतर्फ कसैले सोचेका छैनौं ।

निश्चित रुपमा त्यसको नतिजा अत्यन्तै निर्मम, पूर्ण असफल, आमरुपमा तुच्छ र नेपाली राजनीतिको सबैभन्दा अप्रिय कोर्ष बन्ने छ । विश्वका दुई महाशक्ति राष्ट्रको समकालीन विकास, समद्धि र परिस्कृत समाजको निर्माण आगामी दिनमा ती राष्ट्रको रणनीतिक योजनाहरुको आलोकमा नेपाली राजनीतिले  लिनुपर्ने कोर्षको बारेमा घनिभूत छलफल हुन सकेको छैन । युवा राजनीतिक शब्दभित्र नेपाली राजनीतिको भार उठाउने सामथ्र्य, सुसंस्कृत राजनीतिक प्रादुर्भाव गराउने दायित्व, नेपाली समाजको आकांक्षा र उन्नतीका लागि आगामी दिनमा बृहत्त रुपमा थालिनुपर्ने अर्को राजनीतिक कोेर्ष, ऐतिहासिक आवश्यकता, युवा राजनीतिको सक्रियतामा यो लेख केन्द्रित छ ।

राजनीति केवल रजाइँ गर्ने थलो मात्र हैन यो समाजको सर्वाङ्गीण विकासका लागि निर्माण गरिएको एक यन्त्र हो । यो सही नभएमा वा उपयुक्त तरिकाले अगाडि नबढेमा वा बक्र दिशामा अगाडि बढे राजनीति, आर्थिक र समाजिक महाविनाशको विपत्ति सामना गर्नु बाहेक अरु विकल्प हुँदैन ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यहाँको राजनीतिमा बिछट्ट शालिनता प्रदर्शन गरिरहेका छन् । उनीहरुको रहनसहन र जीवनशैलीका बारेमा हेर्दा उक्त वातावरण संसारका युवा राजनीतिकर्मी र राजनीतिमा आउन चाहनेका लागि प्रेरणाको स्रोत बनिरहेको छ ।

आज नेपाली राजनीतिसँगै विश्वका अधिकांश मुलुकको राजनीतिमा कुनै न  कुनै प्रकारका युवा राजनीतिकर्मीको माग भइरहेको छ । प्रश्न उठ्न सक्छ अन्य देशमा वृद्धहरु पनि राजनीतिमा उत्तिकै सक्रिय र लोकप्रिय छन् । कतिपय समृद्ध देशमा सबैलाई समान प्रकारले त्यहाँको राजनीतिक व्यवस्थाले बाँधेको छ । त्यहाँको कानुन कार्यान्वयनमा एक साधारण नागरिक र मुलुकको कार्यकारीमाथि विभेद गरिँदैन । जनता र मुलुकको हितमा काम गर्न त्यस देशको व्यवस्था कठोर छ ।

तर आर्थिक रुपमा पछौटे अधिकांश मुलुकमा राजनीतिक नेतृत्व असफल छन् । त्यहाँ दिन दहाडै कार्यस्थलमा नर्स, डाक्टर कुटिँदा आक्रमणकारी आफ्नो पार्टीको कार्यकर्ता भएको अवस्थामा बचाउने संस्कार र संस्कृतिको निर्माण गरेर दण्डहीनताको पराकाष्ठा सिर्जना गरिएका कैयौं दृष्टान्त छन् । समाजमा भ्रष्टाचार खुलेआम छ । त्यसमा पनि आफ्ना कार्यकर्तालाई उम्काउने काम निरन्तर भइरहँदा समाजको आधारभूत न्याय निरुपण प्रणाली ध्वंश पारिएको छ । यसबाट आम मानिसमा कुशल नेतृत्वको रिक्तताको महशुससँगै आफ्नै समाजमा आफूले कुनै न कुनै प्रकारको अन्यायको भागिदार बन्नुपर्ने भयबाट नेपाली जनजीवन त्रस्त छ ।

नेपाली समाजमा युवा राजनीतिको प्रादुर्भाव एक प्रकारले भइसकेको अवस्था एकातिर छ । एउटा कोणबाट नेपाली समाजले अपेक्षा गरेझैँ युवाहरु विभिन्न रुपमा राजनीतिमा प्रवेश गरेको देखिन्छ । यद्यपि परम्परागत रुपमा भोटको महत्व, संस्कारयुक्त राजनीतिको विकास तथा सबैका लागि एकै प्रकारको व्यवस्था लागू गराउने युवा नेतृत्वको खाँचो टड्कारो छ।
हाम्रो राजनीतिक व्यवस्था, कानुन, प्रशासन र राज्यका हरेक अंगले तोकिएको प्रणालीको आधारमा काम गर्नुपर्ने कुरालाई नजिरको रुपमा स्थापित गर्न सक्ने युवा नेताको खाँचो देखिन्छ । जब राज्यमा तोकिएको व्यवस्था र प्रणाली कार्यान्वयनमा आउँछ, विकासको मुल स्वाभाविक रुपमा खुल्ने छ ।

आज हामी समकालीन चीन र भारतभन्दा पछाडि पर्नुको मूल कारण हाम्रो व्यवस्थाको असफल कार्यान्वयन हो । अर्थात् तन्त्र फेरियो, सोच फेरिएन । व्यवस्था फेरियो, तर व्यवहार पहिलेकै कायम रह्यो । भ्रष्टाचार विरुद्ध चर्का नारा लगाइयो तर भ्रष्टाचारको निम्ति उक्साइयो । नेपाली राजनीतिको आजको नारकीय अवस्थामा सुधार गर्दै चौतर्फी रुपमा राज्यको विकास र उन्नतिको लागि काम गर्ने शक्ति युवा बाहेक अर्को नहुने अवस्था देखिएको छ ।

आज नेपाली समाज सबै प्रकारका निरंकुश बन्धनबाट मुक्त भएको छ । नेपाल पूर्णरुपले प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गरिरहेको छ । कुनै न कुनै प्रकारले आज हामी स्वतन्त्र छौं, समाज स्वतन्त्र छ । पटक पटक युवाहरुको बलिदानीबाट मुलुक यो अवस्थामा आइपुगेको हो । त्यसको आलोकमा हामी नेपाली समाजको लागि संस्कारयुक्त नैतिकताको राजनीति, समाजप्रति पूर्ण उत्तरदायी नेतृत्वको विकास गर्न ढिलो भइसकेको छ ।

अब हामीले सबैलाई समान न्यायको कार्यान्वयन र आभाष दिलाउन सक्नुपर्छ ।  कर्मचारीतन्त्रलाई सशक्त जनताको सेवामा समर्पित संस्था बनाउनुपर्छ । भ्रष्टाचार, विकृति विसंगतिको अन्त्य र प्रगतिशील आर्थिक विकासको ढाँचा कोर्न हाम्रो समाजले सचेत युवाहरुको आश गरिरहेको छ । नेपाली युवाको श्रमलाई नेपाली श्रम बजारमा नै उपयोग गरेर मुलुकको विकासलाई द्रुत गतिमा हाँक्न सक्छौं । 

मुलुकको राष्ट्रिय युवा नीतिबमोजिम १६ वर्षदेखि माथि र ४० वर्ष मुनिका सम्पूर्ण नागरिक युवा हुन् । यसका साथै कम्युनिष्ट दार्शनिक कार्ल मार्क्सले युवाबारे भनेका छन्, ‘युवा भनेको त्यो हो, जसलाई उमेरले छेक्दैन, तर उसको विचार जुझारु र युवामैत्री हुनुपर्दछ ।’ नेपाललगायत विश्वका अधिकांश मुलुकमा नीति निर्माण तहमा युवाहरूको सहभागिता कम देखिन्छ । ‘युवा नै देशको अग्रगामी विकासका मूल आधार हुन र उनीहरुको मेहनतले नै देश बन्छ’ भन्दै विभिन्न युवा समूह तथा सञ्जालमा देखिँदा पनि युवाको सहभागिता भने निकै कमजोर छ । तर, विश्वका विभिन्न देशको युवा सम्बन्धी आन्दोलनले उनीहरुको महत्वलाई यसमा प्रष्ट पारेको छ ।

विश्वका युवाहरूको सञ्जालको कुरा गर्दा ग्लोबल युथ एक्सन नेटवर्क अग्रपङ्क्तिमा आउँछ । यसले युवाहरूको प्राविधिक क्षमतालाई विश्वव्यापीकरण गराउने काम गरेको छ । युरोपमा रहेको वन युथ एम्बास्डर संस्थाले युवाहरूको नेतृत्व विकासको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको छ ।

त्यस्तै, विश्वव्यापी सञ्जालको रूपमा रहेको स्काउट्स विश्वभरका युवाहरूको लैङ्गिक, वैचारिक, सामाजिक तथा मनोभावनात्मक विकासका क्षेत्रमा काम गर्दै आएको छ । यसरी विश्वका धेरै देशले युवाहरूको विकासका लागि उनीहरुको सामाजिक सञ्जालबाटै नेतृत्व विकास गरिरहेको देखिन्छ । 
२१ औं शताब्दी विश्वव्यापीकरणको युग हो । एक ठाउँमा उत्पादित सामान विश्वको अर्को कुनामा उपयोग गर्न सकिन्छ । त्यसैले आजको युगमा युवाको भूमिकालाई सही ढंगले सदुपयोग गर्नुपर्दछ । पछिल्लो प्राविधिक युगलाई युवामैत्री बनाउँदै युवा शक्तिलाई सदुपयोग गर्न सकिएको खण्डमा सहज ढंगले उत्पादन वृद्धि र राष्ट्रिय आम्दानीमा वृद्धि हुने छ । 

हामीले पनि आफ्नो देशमा उत्पादित वस्तुलाई विश्वका विभिन्न देशमा पुर्याउन ढिलो भइसकेको छ । त्यसका लागि उत्पादनको क्षेत्रमा युवाहरूलाई परिचालन गर्नुपर्छ । उनीहरूसँग भएको प्राविधिक, सामाजिक र मनोवैज्ञानिक ज्ञानलाई उत्पादनको क्षेत्रमा लगाउँदा मुलुकको आर्थिक विकासले फड्को मार्ने निश्चित छ ।

टिप्पणीहरू