सरकारी कार्यालयमा गाडीको बिजोग

सरकारी कार्यालयमा गाडीको बिजोग

जनता कर तिर्ने, त्यसबाट किनेको महँगा गाडी छोटो समय चलाएर थन्क्याउने प्रवृत्ति पछिल्लो समय व्यापक छ । अधिकांश सरकारी कार्यालयमा गाडी अलपत्र पाइन्छ । कतै गाडी राख्ने टहरोमा झार उम्रेको छ त कतै गाडी धुलोले छोपिएको छ । 

नयाँ गाडी किन्नका लागि चल्तीमा रहेको सवारी साधनलाई बेकामे बनाइएको छ । ललितपुरको हरिहरभवनस्थित कृषि विभागको प्रांगणमा एक वर्षदेखि एउटा सेतो रंगको गाडी थन्किएर बसेको छ । बागमती प्रदेश ‘बि एबि ९४९२’ नम्बरको गाडी धुलोले ढाकिएको छ । 

विभागका एक कर्मचारीले भने, ‘यो गाडी एक वर्षदेखि यहीं थन्किएको छ । हेर्दा खरिद गरिएको एकाध वर्ष मात्र भएजस्तो लाग्छ । गाडी नयाँ नै छ । तर, पूरै धुलोले ढाकिएको छ । मर्मत गराए त चल्थ्यो नि !’ विभागका सूचना अधिकारी तिलकराज चौंलागाईंले सो गाडी मर्मतका लागि पहल भइरहेको बताए । हुण्डाईको आधिकारिक बिक्रेतालाई गाडी चेकजाँचका लागि पत्राचार गरिएको जानकारी दिए । 

‘त्यो एकदमै महँगो गाडी हो । चल्ने अवस्थामा नरहेपछि थन्कियो । गाडी मर्मतका लागि यो आर्थिक वर्ष बजेट छुट्याइएको छ । हुण्डाईको आधिकारिक बिक्रेतालाई पत्र पठाइसकेका छौं । उहाँहरूले एकाध दिनमा आउँछौं भन्नुभएको छ’, उनले भने । 

त्यो गाडी कसले चढ्नुहुन्थ्यो ? भन्ने जनआस्थाको प्रश्नमा उनी भन्छन्, ‘म यहाँ आएको ६ महिना भयो । म आउनुअगावै थन्क्याइएको रहेछ । को चढ्नुहुन्थ्यो ? कहिलेदेखि थन्कियो ? जानकारी भएन ।’

यता, शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसबाहिर पनि एउटा सरकारी गाडी लामो समयदेखि बेवारिसे अवस्थामा छ । अस्पतालको सो गाडी कसले ल्याएर राख्यो ? कसैलाई जानकारी छैन । 

कतै एम्बुलेन्स नभएर सर्वसाधारण ज्यान गुमाउन बाध्य भइरहँदा सरकारी कार्यालय परिसर गाडी थन्काउने ग्यारेज बनिरहेको छ । सिंहदरबारदेखि लिएर विभिन्न कार्यालय, विभागका पार्किङमा गाडी थन्किएका छन्् । पछिल्लो समय सरकारी कर्मचारीमा नयाँ गाडी किन्ने होडबाजी छ । बजारमा नयाँ मोडल भित्रिएपिच्छे सवारी साधन खरिद गरिन्छ । आवश्यकता नहेरिकन गाडी खरिद गर्दा वर्षेनि अर्बौं रूपैयाँ ‘बालुवामा पानी’ बनिरहेको छ । 

माथिल्लो तहदेखि तल्लो तहसम्मका कर्मचारी चढ्न महँगो मूल्य हालेर खरिद गरिएको गाडी प्रयोगविहीन बनेका छन्् । नयाँ गाडी किन्दा कोशेली आउने लोभमा चलिरहेकै गाडी थन्क्याउने गरिन्छ । यता, मर्मत गरेर चलाउन सकिने अवस्थाका सवारी साधनसमेत थन्क्याइन्छन् । जसका कारण अर्थ मन्त्रालयले गाडीका लागि वर्षेनि ठूलो बजेट छुट्याउनुपरेको छ । 

जथाभावी गाडी खरिद गर्ने र थन्क्याउने प्रवृत्तिका कारण प्रायःजसो सरकारी कार्यालय दुर्गन्धित र अस्तव्यस्त पाइन्छ । गाडी किन्न आँखा चिम्लेर बजेट दिने अर्थले त्यसको प्रयोगबारे नियमन नगर्दा बेथिति मौलाएको आरोप छ । 
 

टिप्पणीहरू