गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठ जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएका अन्यमा इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर २ का तत्कालिन वडाध्यक्ष खुशिलाल साह, उपभोक्ता समितिका अध्यक्ष जिवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी र सचिव राम उदगार खत्वे मण्डल रहेका छन् । 

उनीहरुको मिलेमतोमा गाउँपालिकाबाट आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजित बजेटबाट वडा नम्बर २, स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा भ्रष्टाचार भएको अख्तियारको आरोप छ । 

उनीहरुले फिल्डमा भएको वास्तविक कामभन्दा बढी मूल्यांकन गरी  झुट्टा नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयारी पारेर उपभोक्ता समितिलाई १२ लाख सात हजार २६० रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारले दाबी गरेको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम जफत गरी कैद र जरिवाना हुन मागदाबीसहित आज मुद्दा दायर गरेको हो ।
 

टिप्पणीहरू