को हुन् बहुचर्चित यी बेचन झा ?

को हुन् बहुचर्चित यी बेचन झा ?

भारतको मधुवनी जिल्लाबाट सिराहाको एउटा प्रतिष्ठित परिवारमा ज्वाइँ नाता लाउँदै छिरेको मान्छेले देशका गनेचुनेका नेतालाई घुमाईघुमाई कसरी आफ्नो साम्राज्य खडा गर्छ ? नक्कली भुटानी प्रकरणका फरार अभियुक्त बेचन झाको प्रसंग हो यो । 

अर्थमन्त्री वर्षमान पुनले सत्ता गठबन्धनमा आएको संकटसँग बेचन झा पक्राउ मुख्य कारक भएको अभिव्यक्ति दिएपछि उनी को हुन् ? भन्नेबारे विभिन्न चर्चा चल्न थालेका छन् । त्यसो त कांग्रेस–एमाले नेताहरू अहिले सत्ता गठबन्धनमा आएको तरंगसँग बेचन पक्राउको साइनो नभएको दावी गरिरहेका छन् । यद्यपि, उनी कांग्रेस र एमालेका खासखास नेतासँग लामो समयदेखि सम्पर्कमा रहेको देखिन्छ ।

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहमा उनको संलग्नता देखिएपछि प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको थियो । उक्त प्रकरणमा पक्राउ परेका धापासीका रामशरण केसीले बेचनले मन्त्रिपरिषदबाट निर्णय गराउनका निम्ति २ करोड मागेको र आफूले चेक पनि दिएको बयानमा भनेका थिए । सोही आधारमा उनी फरार सूचीमा राखिएका र अहिले पक्राउ गरिएका हुन् ।

धेरै वर्षदेखि नेपालमा ठेक्कापट्टाको काम गर्ने र उच्च राजनीतिक पहुँच बनाएका उनीसँग अहिलेसम्म नेपालको सक्कली नागरिकता छैन । तराईका चर्चित नेता बेदानन्द झाका दाइ कुलानन्दकी छोरीसँग विवाह गर्नका निम्ति नेपाल भित्रिएका उनी नेपालकी छोरी लिएर आफ्नो देश गएनन्, यहीँ बसेर पत्नीका नाममा व्यावसायिक कारोबार चलाइरहे । 

बेदानन्द पञ्चायतकालमा गृह र वाणिज्यमन्त्री हुँदै राजसभा स्थायी समितिको सभापतिसम्म भएका व्यक्ति हुन् । दाइ कुलानन्द ००७ सालको क्रान्तिदेखि नै बिपी कोइरालाका विश्वासिला नेता । पछि तराई मामिलामा दृष्टिकोण मिलेन र कुलानन्दले बिपीको छाथ छाडेर तराई कांग्रेस गठन गरे । उनकै राजनीतिक सहयात्री थिए, गजेन्द्रनारायण सिंह, जसले ०४६ सालपछि मधेसी पहिचानको नारालाई स्थापित गर्दै नेपाल सद्भावना पार्टी बनाए । 

कुलानन्दले तराई कांग्रेस स्थापना गर्दा बेदानन्द पटनामा अखबारको सम्पादक थिए । दाजुले पार्टी खोलेपछि त्यसलाई फैलाउन र त्यहीमार्फत राजनीतिक गतिविधि गर्न स्वदेश फर्किए । तराईका विभिन्न जिल्लामा संगठन फैलाउँदै २०१५ सालको आम निर्वाचनमा तराई कांग्रेसले भाग लियो, एउटा सीट पनि जित्न सकेन । कुलानन्द त जीवनभर प्रजातान्त्रिक र तराई पहिचानको आन्दोलनमै लागिरहे । बेदानन्द भने पञ्चायतमा प्रवेश गरे । कुलानन्दको निधनपछि उनको परिवारलाई बेदानन्दले नै अभिभावकत्व दिए । र, दाजुको निधनपछि बेचनले दाजुकी छोरीसँग विवाह गरेका हुन् । 

पत्नी नेपाली भएपछि उनकै नाममा बैंक खाता, चल र अचल सम्पत्तिको कारोबारमा सक्रिय भए । शुरुमा नेपाल विद्युत प्राधिकरणका ट्रान्समिटर लाइन जडान गर्ने ठेक्काबाट कुस्त रकम कमाए । फर्म पत्नीको नाममा, काम उनको । पैसा कमाएपछि घरबारसहित सामाजिक प्रतिष्ठा हासिल भयो । राजनीतिमा मधेसी खेमासँग त्यति राम्रो सम्बन्ध भएका व्यक्ति होइनन् । बरु, डा.आरजु राणा, कृष्ण सिटौलासहित एमाले र माओवादीका नेतासँग नजिक छन् र गफाडीका रूपमा चिनिन्छन् । सक्ने नसक्ने सबै कामको जिम्मा लिने बानी छ । त्यहीअनुसार नक्कली भुटानी शरणार्थी बनाई नेपालीलाई अमेरिका पठाउने विषयमा मन्त्रिपरिषद्बाटै निर्णय गराउने भनेर दुई करोड लिएबापत अहिले पक्राउ परेका हुन् ।

करिब ३० वर्षदेखि उनले काठमाडौंमा विद्युतीय उपकरणको ठेकेदारी गर्दै आएका छन् । श्रीमतीको नाममा ‘फर्म’ खोलेर थापागाउँमा बंगला ठड्याएका छन् । पहिलेपहिले हरेक महिना सत्यनारायणको पूजा लगाउने गर्थे । बेचनले छोराको नाममा रहेको ‘विभांशु ब्रदर्स’ मार्फत विद्युत प्राधिकरणबाट ठेक्का लिँदै आएका छन् । 

प्राधिकरणले बिजुलीको ट्रान्सफर्मरदेखि एअर कण्डक्टरसम्म उनकै कम्पनीबाट खरिद गर्दै आएको छ । यति मात्र नभई भारतीयसहित विदेशी ठेकेदारहरूको नेपाल प्रतिनिधिको रुपमा पनि काम गर्दै आएका छन् । देउवापत्नी आरजु राणा, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि, महन्थ ठाकुर, माओवादी नेता टोपबहादुर रायमाझीलगायतसँग सम्बन्ध बनेको छ । 

आरजुका भाइ भुषण राणासँग पनि व्यवसायिक चिनजान रहेकै हो । भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेसँग मिलीभगत गरेका झाले सो प्रकरणका अन्य बिचौलियाहरूलाई गृहसचिवसँग भेटाउने कामको समन्वय गरेका थिए । 

सिटौलाले पनि झालाई भेटेर कुरा सुनिदिनु भन्दै गृहसचिव पाण्डेलाई सिफारिस गरेको स्रोत बताउँछ । केसीले २०७८ मंसिर ८ गते राति ८ बजे उनको घर थापागाउँमा दिएको दुई करोडको चेक प्रहरीले फेला पारेको छ । बेचनका छोराहरूले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । एक जना हाल फ्रान्स र अर्को अमेरिकामा छन् ।

एउटी छोरीको विवाह भारतमै भएको छ । एउटा छोराको विवाह सप्तरीकी नेतृ ममता झाकी छोरीसँग भएको हो । ममता पूर्वअञ्चलाधीश जगदीश झाकी छोरी हुन् । गत उपराष्ट्रपतिको निर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीबाट उठेकी थिइन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू