घर जान लागेका प्रधानमन्त्रीलाई गीत सुनाउनेकाे लर्काे

सुन्नुहोस्

प्रतिनिधि सभामा केही दिनयता पुराना गीतको लहर चलेको छ । हिजोको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्रीलाई रामकृष्ण ढकालको गीत सुनाएका थिए ।  बोल थियो, ‘ओराली लागेको हरिणको चाल भो’ । 

आजकाे बैठकमा फेरि नेकपा (एमाले) का सांसद महेश बर्तौलाले अन्जु पन्तको गीत सुनाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘तिमीले पराई ठानेपछि’ बोलको गीत समर्पण गरेका हुन् । 

‘हाम्रो पार्टीले असार १९ गते समर्थन फिर्ता लिएर बालुवाटारमा राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीले हामीलाई फत्तेमानको एउटा गीत सुनाउनु भयो’, उनले भने, ‘तर आज म उहाँलाई अन्जु पन्तको एउटा गीत समर्पण गर्न चाहन्छु- तिमीले पराई ठानेपछि पराई हुन के भयो र,तिम्रो मेरोवीचको नाता भन्नु पनि के रह्यो र ...’

‘उहाँको चुलबुले स्वभाव र उथलपुथलको मारमा परेपछि कांग्रेससँग सहकार्य गर्न पुग्यौँ,हामी साथी खोजिरहेका थियौँ र कांग्रेसले पनि साथी खोजिरहेको थियो ।’

सांसद बर्तौलाले प्रधानमन्त्रीको चुलबुले स्वभाव र उथलपुथलको शैलीका कारण कांग्रेससँग सहकार्य गर्नु परेको बताए । प्रधानमन्त्रीले कहिले कांग्रेस र कहिले एमालेसँग गैँडाले चाटेजस्तो गरी मायाको स्वाङ पारिरहेको अरोप समेत लगाए । उनले थपे, ‘उहाँको चुलबुले स्वभाव र उथलपुथलको मारमा परेपछि कांग्रेससँग सहकार्य गर्न पुग्यौँ,हामी साथी खोजिरहेका थियौँ र कांग्रेसले पनि साथी खोजिरहेको थियो ।’

उनले कांग्रेससँग प्रधानमन्त्रीको जस्तो उथलपुथल नगर्ने सहमति भएको पनि जानकारी गराए । ‘हामीबीच लभ एउटासँग गर्ने,लिभिङ टुगेदर अर्कोसँग नबस्ने समझदारी भएको छ, कुनै उथलपुथल नगर्ने सल्लाह पनि छ’, उनले सुनाए ।

टिप्पणीहरू