प्रहरी र महिला वकिलवीच झडप

प्रहरी र महिला वकिलवीच झडप

काठमाडौं जिल्ला अदालतभित्र भएको झडपमा एक जना महिला कानुन व्यवसायी घाइते भएकी छन् । सिन्धुपाल्चोक माइती र विराटनगर माइत भएकी अधिवक्ता लक्ष्मीनानी थापाको गालामा गहिरो चोट लागेको छ ।

उपचारपछि उनी हिजै घर फर्केकी छन् । उक्त घटनाबारे सत्यतथ्य अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन कानुन व्यवसायीहरुको माग छ । 

कानुन व्यवसायीमाथि भएको कुटपिटको घटनालाई वास्तविक तथ्यभन्दा फरक तरिकाले अतिरञ्जित गरिएको अर्को पक्षको आरोप छ । घटनाको वास्तविकता लुकाउन खोजिएको थापानिकट कानुन व्यवसायीहरु बताउँछन् । उनीहरुले कानुन व्यवसायीहरुलाई एकजुट हुन आग्रह पनि गरेका छन् ।
उनै थापाविरुद्ध हिजै प्रहरी वृत्त सिंहदरबारमा जाहेरी परेको छ । जिल्ला अदालतको सुरक्षार्थ खटिएका प्रहरी जवान जीवन छिनालले महिलाले अभद्र व्यहार गरेकाले आवश्यक कारबाहीको निम्ति उजुरी दर्ता गराएका हुन् ।

प्रहरी वृत्त सिंहदरबारमा हालिएको जाहेरीमा उनले आफू नेपाल प्रहरीको कर्मचारी रहेको र हिजो दिउँसो साढे १ बजे जिल्ला अदालतको सुरक्षार्थ ३ नम्बर गेटमा कार्यरत रहँदा उक्त घटना भएको उल्लेख गर्दै लेखेका छन्-आफूसँगै वकिलले आफ्ना क्लाइन्टलाई पनि गेटबाट लैजान खोज्नुभयो । यताबाट अरुलाई लैजान मिल्दैन भनेपछि ममाथि अपशब्द र दुर्व्यवहार भयो । मैले पनि आत्मरक्षाका लागि धकेल्दा चोट लाग्यो होला । सिसिटिभी हेरेर अपशब्द र दुर्व्यवहार गर्ने अधिवक्ता थापामाथि कारबाही गरियोस् ।’

टिप्पणीहरू