‘अफलाइन राइडिङ’ मोटरसाइकलका कारण महिलाको प्राणान्त

‘अफलाइन राइडिङ’ मोटरसाइकलका कारण महिलाको प्राणान्त
सुन्नुहोस्

मोटरसाइकल दुर्घटनापछि फरार तीन युवक पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने जुम्लाका २२ वर्षीय तेज रावल, २५ वर्षीय सुरेश अधिकारी र मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अघिल्लो शनिबार राति साढे ९ बजे ललितपुरको हात्तिबन बस्ने ३५ वर्षीया अनु गुरुङ र उनका तीन जना साथीले काठमाडौंको गोंगबुबाट हात्तिबनसम्मका लागि तीन वटा छुट्टाछुट्टै अफलाइन राइडरको मोटरसाइकल प्रयोग गरे । 

सो क्रममा काठमाडौंको जमलस्थित होटल यल्लो पगोडा अगाडिको सडकमा रावलले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सर मोटरसाइकलमा सवार अनु खसिन् ।

 

उनी खसेपछि पछाडिबाट गइरहेका अर्का राइडर धितालले चलाएको बा.३६ प ३२४ नम्बरको सीबीजे मोटरसाइकलले ठक्कर दिएपछि उनको टाउकोमा गहिरो चोट लागेको बताइन्छ । उपचारको क्रममा अनुको गत मंगलबार निधन भयो । प्रहरीका अनुसार घटनापछि तीनै जना राइडर फरार थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले सञ्चालन गरेको ‘अपरेसन अफलाइन राइडर हन्ट’ अन्तर्गत उनीहरुलाई शुक्रबार गोंगबु एरियाबाट नियन्त्रणमा लिइएको हो । तीनैजना विरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू