विद्युतीय सवारी, यो खबरले मन भारी

विद्युतीय सवारी, यो खबरले मन भारी

विद्युतीय सवारी साधनको बजार विश्वव्यापी रूपमा बढ्दो छ । नेपालमा पनि यस्ता सवारी साधनप्रति सर्वसाधारणको आकर्षण बढेकै देखिन्छ । पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनको तुलनामा कम खर्च उठ्ने र एलन मस्कजस्ता अन्तरीक्ष यात्रा गराउने सपनाका सौदागरको महत्वाकाँक्षी टेस्ला गाडी चढ्ने फेसनका कारण यस्ता सवारी साधन धनीमानीदेखि सर्वसाधारणसम्मको रोजाइमा पर्न थालेको दावी गरिएको छ । पेट्रालियम पदार्थ खरिदका नाममा बाहिरिने ठूलो धनराशी जोगिने भएपछि सरकारले पनि विद्युतीय गाडीको प्रयोगमै जोड दिन थालेको अवस्था छ । वातावरणमैत्री र ध्वनी प्रदुषणमुक्त भएकाले पनि विद्युतीय सवारी साधन पछिल्लो पुस्ताले रोज्न थालेको बुझ्न सकिन्छ । माग बढेसङ्गै आयातमा पनि वृद्धि भैरहेकै छ । पछिल्लो समय बजारमा विभिन्न कम्पनीका विद्युतीय सवारी साधन आएका छन् । जसमा चिनियाँ बिवाइडी, कोरियाली हुण्डाई, जापानी निशान, भारतीय टाटा, पहिले बेलायती र हाल चिनियाँ स्वामित्व रहेको एमजीलगायत छन् । 

तर, सँगसँगै विद्युतीय गाडीको सुरक्षालाई लिएर एकपछि अर्को चुनौती पनि थपिँदो छ । यसै क्रममा गत पुस ९ गते चार्जिङमा राखिएको एउटा विद्युतीय गाडीमा आगलागी भएको थियो । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ देउवाचोकस्थित एमजी कम्पनीको गाडीमा ह्वारह्वारती आगो बलेपछि सवारी धनीले आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सलाई जानकारी गराएकोमा कम्पनीको प्राविधिक टोलीले लाइन सर्टकै कारण यस्तो भएको दाबी गरेको थियोे । त्यो बेला प्रदेश ०१–०२७ ख १५८१ नम्बरको एमजी जेट एस जलेर पूर्ण रूपमा नष्ट भयो ।

हालै विद्युतीय गाडीको सुरक्षामाथि प्रश्न उठाउने अर्को घटना भएको छ । असार १८ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अराइभल गेटअगाडि दुर्घटनामा एक महिला र सवारी चालक गम्भीर रूपमा घाइते भए । बा.०२७ च १५७० नम्बरको विद्युतीय सवारी साधन अनियन्त्रित भएपछि अर्को सवारी साधनमा ठोक्किएको थियो । अर्को गाडीलाई ठक्कर दिएको विद्युतीय गाडी क्षतविक्षत भएको छ । सशस्त्र प्रहरी निरीक्षक विश्वनाथ पोखरेलको कमाण्डमा खटिएको टोलीले तत्काल घाइते महिला विद्या प्रधान र चालकलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पुर्‍यायो । सो अस्पतालले नसक्दा निकै गम्भीर अवस्थाकी उनको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

उनी बिदेश जान लागेकी छोरी पुर्‍याउन विमानस्थल गएकी थिइन्, काठमाण्डौका काङ्ग्रेस नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानकी धर्मपत्नी हुन् । वैशाख २७ गते बिहान ललितपुरको कुपण्डोलमा विद्युतीय गाडी बिजुलीको पोलमा ठोक्कियो । बागमती प्रदेश ०१–०२९ च ४२८२ नम्बरको कार अनियन्त्रित भएर सडक छेउको पोलमा ठोक्किँदा गाडीको एक साइड पूरै कुच्चिएको थियो । उक्त घटनामा सवारी साधनको भन्दा चालकको गल्ती रहेको प्रहरीको भनाइ छ ।

उता भारतमा गुड्दागुड्दै आगलागी भएका खबर सार्वजनिक भइरहेको छ । त्यहाँका विद्युतीय स्कुटरमा व्यापक आगलागी हुने गरेको छ । केही समयअगाडि भारतमा अचानक नेक्सन ईभीको गाडीमा आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । विद्युतीय गाडीमा सुरक्षा चुनौती देखिएपछि उपभोक्ता केही हच्किएको अवस्था छ । यसले गर्दा नयाँ गाडी किन्ने सोच बनाएकाहरू पनि पर्ख र हेरको अवस्थामा पुगेको बताइन्छ ।

विद्युतीय सवारी चलाउँदै आएका एक चालक भन्छन्, ‘यस्ता गाडी चलाउन निकै आनन्द आउँछ । यसले धुँवा फाल्दैन, आवाज पनि आउँदैन । पेट्रोलबाट चल्ने सवारी साधनको तुलनामा लागत कम लाग्छ । तर, सवारी साधनको विषयमा जुन किसिमका खबरहरू आइरहेको छ, त्यसले अलि चिन्तित बनाउने गरेको छ ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ प्राविधिक पक्ष भएकाले विद्युतीय सवारी साधनको दुर्घटनाबारे केही भन्न नसकिने बताउँछन् । विद्युतीय सवारी साधन दुर्घटनाको छुट्टै तथ्याङ्क नराखिएको उल्लेख गर्दै उनी भन्छन्, ‘विद्युतीय सवारीसाधन दुर्घटना भइरहेको छ । तर, यो प्राविधिक पक्ष भएकाले हामीले केही भन्न सक्दैनौं । विद्युतीय सवारी साधन दुर्घटनाको छुट्टै तथ्यांक राख्ने गरेका छैनौं ।’ सिप्रदी ट्रेडिङले चैतमा ट्राफिक प्रहरीलाई दुर्घटनापछिको व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको थियो । तालिममा विद्युतीय गाडीसम्बन्धी जानकारी, सुरक्षाका उपाय र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीबारे बताइयो । सर्ट सर्किट हुँदा वा खराब चार्जरको प्रयोग गर्दा आगलागी हुने गरेको उनीहरूको भनाइ छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू