मदन भण्डारीकी छोरीले नमानेपछि...

मदन भण्डारीकी छोरीले नमानेपछि...

अडान राख्ने नेताका रुपमा प्रचारित एमाले अध्यक्ष केपी शर्मा ओलीको एउटा विशेषता छ–आफूले चाहेको गरेरै छोड्ने । ‘बा’ भनेर टाउको निहुर्‍याउनेहरूलाई ‘निराश’ नपार्ने उहाँको अर्को विशेषता हो । त्यसैले अध्यक्षलाई रिझाउन सक्नेहरूले पार्टीभित्रको जिम्मेवारी र राजकीय भूमिकामा दोहोर्‍याई–तेहेर्‍याई अवसर पाइरहेका छन् । 

ओली अर्को एक कार्यकाल अध्यक्ष खाने तयारीमा हुनुहुन्छ । त्यसनिम्ति विधानमा रहेको ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान हटाएर आफूअनुकूल बनाउनुभएका उहाँलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको बढ्दो प्रभाव चुनौतीका रुपमा अगाडि आएको छ । पार्टीमा ५० प्रतिशत पकड रहेको भनिएकी विद्यालाई ‘ब्यालेन्स’ गर्न कतिपय भागबण्डामा सन्तुलन मिलाएर जानुपर्ने बाध्यता छ । सोहीमुताविक जननेता मदन भण्डारीकी जेठी छोरी उषाकिरणलाई राष्ट्रिय सभाको सांसद बनाउने प्रयास भने सफल भएन । 

विमला पौडेल राईलाई तत्कालीन राष्ट्रपति भण्डारीले आफ्नो विज्ञ समूहबाट राष्ट्रिय सभाको मनोनीत सांसद र परराष्ट्रमन्त्री बनाउनुभएको थियो । उनको कार्यकाल सकिएपछि कसलाई मनोनीत गर्ने भन्ने प्रश्न उठ्दा एक दिन ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग प्रस्ताव राख्नुभयो– मदन कमरेडकी जेठी छोरी उषाकिरणलाई लैजाँदा बेस हुन्छ । तर, त्यसमा असहमत भण्डारीले अध्यक्षको प्रस्ताव ठाडै इन्कार गर्दै भन्नुभयो– यसले बाहिर राम्रो सन्देश जाँदैन, विवाद मात्र निम्त्याउँछ, त्यसो नगरौँ होला ! 

एमालेका पूर्वमहासचिव, जनताको बहुदलीय जनवाद (जबज) का प्रतिपादक मदनकी छोरी भइकन उषा राजनीतिमा सक्रिय छैनन् । घर–गृहस्थी सम्हालेर बसेकी उनले राजनीतिमा आउन इच्छासमेत जाहेर गरेकी छैनन् । ओलीको प्रस्तावमा विद्याले भन्नुभयो– पिताजी एमालेको महासचिव र म राष्ट्रपति भएकाले उनले पाउने सुविधाको कुरा आफ्नो ठाउँमा होला तर राजनीतिमा आएर सांसद हुने दृढ निश्चयमा उनी नरहेको र त्यस्तो तयारीसमेत नभएकाले यो कुरा मलाई ठीक लागेको छैन ।

तैपनि, एकचोटी उषालाई नै सोधेर निधो लिने सल्लाह भयो । अनुमान गरेजस्तै उनले तत्काल राजनीतिमा आउन इच्छुक नरहेको र मनोनीत कोटामा सांसद बन्न त झन् चाहना नरहेको जवाफ दिइन् । पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयका टिमसम्बद्ध एक सदस्यका अनुसार त्यसपछि यो विषय त्यहीँ अन्त्य भयो । र, ओली अर्को पात्र खोज्नतिर लाग्नुभयो । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन छोडेर एमालेतिर आएपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सांसद एमालेले पाउने सहमति थियो । सोहीअनुसार एकदिन छलफलका क्रममा प्रचण्डले मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेललाई लैजाने अघिल्लो गठबन्धनको निर्णय ओलीलाई सुनाउनुभयो । पुरानो वामपन्थी नेताको परिवारकै सदस्यलाई सांसद बनाउने हो भने यसले राम्रै सन्देश जाने प्रचण्डको भनाइ ओलीलाई मन परेन । राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशबाट उम्मेदवार रहेर हराइएकी माओवादीकी चन्दा कार्कीको नाममा पनि ओलीको सहमति रहेन । जनयुद्धकी घाइते, एमालेबाटै राजनीति शुरु गरेकी उनको नाम प्रचण्डले निकाल्नेबित्तिकै ओलीले ठाडै अस्वीकार गर्दै भन्नुभयो– त्यो कुरै नगर्नुस्, यो एमालेको कोटा हो । अन्ततः ओलीको जोडबलमा अञ्जान शाक्य सांसद मनोनीत भइन् । 

आफूलाई मन परेको पात्रलाई अगाडि बढाउन जेसुकै गर्न पछि नहट्ने ओलीको स्वभावै हो । पार्टीमा योगदान नभए पनि अध्यक्षको रोजाइमा परेर ठुल्ठूला अवसर पाउने अञ्जान शाक्यजस्ता धेरै छन् एमालेमा । तीमध्ये उपमहासचिव विष्णु रिमाल र डा. युवराज खतिवडा अग्रपंक्तिमा छन् ।

यस्तै अर्को प्रसंग छ– धितोपत्र बोर्ड (सेवन)को अध्यक्ष नियुक्तिसम्बन्धी विवाद । बिचौलिया दीपक भट्टको रोजाइका सन्तोषनारायण श्रेष्ठलाई जसरी पनि अध्यक्ष बनाउने ओलीको चाहना थियो । त्यसनिम्ति उहाँले प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई पटक–पटक दबाब पनि दिनुभयो । एकदिनको कुरा हो, प्रधानमन्त्री निवास बालुवाटारमा गंगा दाहाललाई समेत अगाडि राखेर बिचौलिया भट्टले वर्षमान पुनसँग रिसाउँदै भने– केपी बालाई कुनै समस्या छैन, शेरबहादुर दाइले पनि हुन्छ भन्नुभएको छ भने तपाईं किन रोक्नुहुन्छ ! विगतमा गरेको सहयोगको फेहरिस्तसमेत सुनाउँदै आक्रोशित उनले डेढ वर्ष ऊर्जामन्त्री हुँदा केही पनि नमागेको भनेपछि वर्षमान नाजवाफ त भए । तर, ओली र भट्टले भनेअनुसार नियुक्ति दिएनन् ।  

यसैलाई अडान बनाएर ओली सत्ता समीकरण नै फेर्ने तहमा असन्तुष्ट बनेको सूचना पाएपछि एकदिन प्रधानमन्त्री प्रचण्डले ‘ओलीजीले असाध्यै गर्नुभयो, लौ न त्यति गर्दिनुपर्‍यो’ भन्दा वर्षमानले ‘पख्नुस् न म मिलाउँछु’ भनेर टारिदिए । यही कारण गठबन्धन भत्केला भन्ने सोचेनन् तर आफूले चाहेको गरेरै छाड्ने स्वभावका ओलीका लागि त्यो नै ठूलो कुरा बनिदियो । अहिले माओवादीको विश्लेषण छ– बिचौलिया भट्टका मान्छेलाई धितोपत्र बोर्डको अध्यक्ष नबनाउनु पनि सरकार ढल्ने यौटा कारक बन्यो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू