सैन्य भण्डारमा रद्दी सामान

सैन्य भण्डारमा रद्दी सामान

देशको रक्षार्थ खडा गरिएको राष्ट्रिय सेनाका लागि आवश्यक सामानको बन्दोबस्ती गर्ने सम्भार रथी विभागलाई कमसल सामानको भण्डार बनाइएको छ । लामो समयदेखि उक्त विभागको जिम्मेवारीमा रही महासेनानीमा पदोन्नत भएका दीपक भण्डारी र जर्नेल प्रकाश देउजाले शुभलाभमा प्रतिस्पर्धा गरिरहेको आरोप छ ।

यी सैनिक हाकिमनिकट आरए इन्टरनेशनलले पोलिस्टर वेभ बेल्ट बुझाएर जंगी असवावखानालाई सामान नाइलनकै हो भनी बुझ्न बाध्य बनाए । यही कम्पनीबाट गेम ड्रेसका सामग्रीहरू पनि गुणस्तरहीन ल्याएर भण्डारण गरिसकिएको छ । ठेकेदार रितेश अग्रवालले पनि नमूनामा पेश गरेकोभन्दा निकै कमसल र गुणस्तरहीन ज्याकेट र ट्र्याकसुट ल्याएर भिडाइसकेका छन् ।

दीपकले आफूनिकट ठेकेदारमार्फत एकथरी कमसल सामान भित्र्याउनासाथ प्रकाशले फेरि उनी निकट ठेकेदारमार्फत अर्को त्यस्तै सामान भिडाइहाल्छन् । हाकिमहरूको स्वभावलाई सम्बोधन गर्दै अल्पाइन हार्डवेयरले पनि रद्दी सामान भिडाउँदै आएको छ ।

यस आर्थिक वर्षको शुरुवातमै अल्पाइनले अत्यन्तै कमसल गुणस्तरका म्याट्रेस, लघु उद्योगका लागि प्रयोग गरिने विभिन्न कपडा र कच्चा पदार्थहरू दाखिला गरी सैनिक मुख्यालयलाई धोका दिइसकेको छ । अल्पाइन, आर ए, अल्बेलो, एडी सप्लायर्सलगायतले कमसल सामान बुझाएर राम्रो कमाइ गरेको र यसबाट सेनाप्रतिको धारणा नै नराम्रो हुँदै गएको चिन्ता सैनिक हाकिमहरूले व्यक्त गरेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू