ताप्लेजुङ गोल्डकपको फाइनलमा सिरहा र मोरङका क्लब भिड्दै

ताप्लेजुङ गोल्डकपको फाइनलमा सिरहा र मोरङका क्लब भिड्दै

दोस्रो ताप्लेजुङ गोल्ड कप २०८१ को सेमीफाइनलको आज भएको दोस्रो खेलमा सलहेश युवा क्लब सिरहा विजयी भएको छ । स्थानीय भानु माविको खेल मैदानमा भएको खेलमा सलहेश युवा क्लब र झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो । 

निर्धारित समयभित्र दुबै टिमबीच एक एक गोल गरेर बराबर भएपछि समय थपिएको थियो । उक्त समयमासमेत दुबै टीमले गोल गर्न नसकेपछि पेनाल्टीबाट निर्णय गरिएको हो । पेनाल्टीमा बिर्तामोड युनाइटेड झापाले ३ र  सलहेश युवा क्लब सिरहाले ४ गोल गरेका हुन् ।     

प्रतियोगिताका चार वटा क्वार्टरफाइनल खेलबाट पहिलो दिन २ लाख २० हजार, दोस्रो दिन १ लाख ३५ हजार १ सय, तेस्रो दिन १ लाख ४० हजार ८ सय र चौथो दिन २ लाख १३ हजार ९ सय गरी कुल ७ लाख ९ हजार ८ सय टिकट बिक्रीबाट उठेको जानकारी दिइएको छ । सेमिफाइनलदेखि टिकटको मूल्य २ सय तोकिएको हो । 

हिजोको सेमिफाइनलबाट ३ लाख ८ हजार ८ सय र आजको दोस्रो सेमिफाइनलमा टिकटबाट ३ लाख ४४ हजार उठेको छ । फाइनल पर्सि सोमबार दिउँसो हुँदै छ ।

टिप्पणीहरू