'पोएट्री कन्सर्ट': परम्परागत शैलीमाथि चुनौती

'पोएट्री कन्सर्ट': परम्परागत शैलीमाथि चुनौती

साहित्य अनुरागीहरुले पठनमा नयाँ प्रयोग खोजिरहेका छन् । मुख्यत: कविता प्रेमीहरुले कवितालाई संगीतसँग एकीकृत गरेर यसको मजा लिने गरेको पाइन्छ । त्यसैले, केही वर्षयता 'पोयट्री कन्सर्ट'को नयाँ अभ्यास शुरु भएको छ । 

यसैबीच हिजो जमलस्थित राष्ट्रिय नाचघरमा ‘पोएट्री कन्सर्ट-२०२४’ सम्पन्न भएको छ । सम्भव समूहले आयोजना गरेको कन्सर्टमा १० जना कविले कविता सुनाएका थिए । आयोजकका तर्फबाट सुरज राना, उत्तम तुम्सा लिम्बू, युग सर्वनाम र सन्जित फलानाले कविता वाचन गरे । 

त्यस्तै, आमन्त्रित कविको रुपमा अस्मिता वादी, अनिता न्यौपाने र शकुन आँशुले पनि कविता प्रस्तुत गरेका थिए । अतिथि कवि स्वप्निल स्मृति, रिमा केसी र सीता तुम्खेवाले पनि आ-आफ्नो कविता वाचन गरे । 

कार्यक्रममा फोक्टो ब्याण्डले संगीत दिएको थियो । अनुप तिमिल्सिनाको गितार, अच्युत थापा मगरको बाँसुरी र अनिल गन्धर्वको सारंगीको धुनले प्रस्तुति आकर्षक बनाएको थियो । 

वरिष्ठ साहित्यकारदेखि युवा पुस्ताका नयाँ अनुहारसमेत सहभागी कन्सर्टमा बरिष्ठ कवि श्रवण मुकारुङले संगीतसहितको प्रस्तुतिले कविता वाचनको परम्परागत शैलीलाई चुनौती दिएको बताए । 

त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङले पनि युवा पुस्तामा साहित्य चेत समय सापेक्ष हुँदै जानुलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे । 

कार्यक्रममा विप्लप ढकाल, हेमन यात्री, विमला तुम्खेवालगायतका चर्चित कविहरु पनि सहभागी थिए ।
 

टिप्पणीहरू