‘ताक परे तिवारी’ को शैलीमा अपहरणको नाटक गरेका भरत प्रहरी खोरमा

‘ताक परे तिवारी’ को शैलीमा अपहरणको नाटक गरेका भरत प्रहरी खोरमा

नमस्कार शाह

बाँकेमा आफू अपहरणमा परेको खबर दिने एक युवक अन्ततः प्रहरी फन्दामा परेका छन् । आफूलाई अरु कसैले अपहरण गरेको खबर गरेर प्रहरीलाई दुःख दिएक ती युवकविरुद्ध प्रहरीले उपद्रवको मुद्दा अघि बढाएको छ । 

अपहरणको नाटक गरेका भरत तिवारीलाई प्रहरीले पक्राउ गरेपछि उपद्रवको मुद्दा चलाएको हो । उनले प्रहरीसहित आफन्त, साथीहरुलाई सास्ती दिएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका ११ का २६ वर्षीय तिवारीले ह्वाट्सएपबाट साथीहरुलाई आफू अपहरणमा परेको म्यासेज पठाएर सहयोगका लागि अनुरोध गरेका थिए । गत साउन ३० गते आफ्नै ह्वाट्सएप नम्बरबाट साथीहरुलाई आफू अपहरणमा परेको म्यासेज गरेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । 

सोही सूचनाका आधारमा प्रहरीले खोजतलासको निम्ति प्रहरी परिचालन गर्यो । उनले आफू अपहरणमा परेको र आफ्नो मोटरसाइकल नेपालगञ्जको न्यूरोडमा रहेको म्यासेज पठाएका थिए ।
सोही राति १० बजेतिर भरतले प्रहरीलाई फोन गरेर आफू भागेर डुडुवाको कम्दीस्थित खेतको बीचमा भागेर पुगेको बताएपछि प्रहरी टोली तत्काल त्यहाँ पुगेको थियो । उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयमा पुर्यायो । त्यसपछि प्रहरी टोलीले उनले दिएका तीन वटा ह्वाट्सएप आईडी तिवारीकै मोबाइलमा फेला पार्यो । 

प्रहरीका अनुसार तिवारीले आफ्नो मोबाइलमा राखिएको नयाँ नम्बरबाट ह्वाट्सएप खोलेर साथीहरुलाई आफू अपहरणमा परेको कुरा सोही ह्वाट्सएप मार्फत् जानकारी गराएको तथ्य खुलेको हो । तिवारीले आफैंले अपहरणको म्यासेज पठाएर अनावश्यक दुःख दिएको पुष्टि भएपछि उनलाई उपद्रवको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यसअघि उनी आफूलाई धर्मगुरु भन्दै कथा, प्रवचन गर्दै हिँडेको स्थानीयले बताए ।

टिप्पणीहरू