केराघारीमा मृत भेटिएका दुई नाबालिकाको मृत्यु रहस्यमय

केराघारीमा मृत भेटिएका दुई नाबालिकाको मृत्यु रहस्यमय

मोरङको सुन्दरहरैँचाका नाबालिका दिदीबहिनीको मृत्यु रहस्यमय बनेको छ । बेलगाछीकी ३० वर्षीया अस्मिता कार्कीकी छोरीहरु डेढ वर्षीया आयिका र तीन वर्षीया अर्पणा अस्ति साँझ घर नजिकै केराघारीमा मृत फेला परेका थिए । 

घाँस काट्न गएका स्थानीयले केराघारीमा बालिकाहरु मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरे । बालिकाहरुको छेउमा विषको बट्टा समेत भेटिएको थियो । अर्कोतर्फ, उनीहरु आमासँगै घरबाट बाहिर गएको पाइएको छ । 

अस्मिताका श्रीमान अर्जुन हुन् । उनीहरु दुई छोरीसहित केही समययता सुन्दरहरैँचामा नातेदारको घरमा कोठा भाडामा लिएर बस्दै आाएका थिए । दुई वटा सुमो जीप भएका अर्जुनले एउटा भाडामा लगाएका छन् । अर्को जीप भने व्यावसायिक प्रयोजनका लागि उनी आफैँ चलाउँछन् । 

अर्जुन र अस्मिताले सुन्दरहरैँचामा जमिन खरिद गरेर आफ्नै घर पनि बनाउन थालेका थिए । गत शुक्रबार निर्माणाधीन घरमा पानी हाल्ने विषयमा उनीहरुबीच भनाभन भयो । त्यसपछि साँझ अस्मिता छोरीहरु लिएर बेपत्ता भइन् । 

आमा बेपत्ता भएको अवस्थामा छोरीहरु मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले अस्मिताको तीव्र रुपमा खोजी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार बालिकाहरुको मृत्यु प्रकरणबारे पनि अनुसन्धान भइरहेको छ । 

अस्मिताले प्रयोग गर्ने मोबाइलसमेत प्रहरीले फ्याँकेको अवस्थामा फेला पारेको जनाएको छ । यता, घर झगडाको निहुँमा अस्मिताले विष खुवाएर आफ्ना छोरीहरुको हत्या गरेको हुनसक्ने स्थानीयको आशंका छ ।

टिप्पणीहरू