भन्नलाई राजधानी, आपत पर्दा कताबाट जानी ?

भन्नलाई राजधानी, आपत पर्दा कताबाट जानी ?

लामो राजनीतिक संघर्ष, बलिदान र रक्त सिञ्चित राजनीतिबाट हामीले संघीयता र गणतन्त्र ल्यायौँ भनी सगर्व भाषण गर्नेहरूलाई बागमती प्रदेशको अवस्था देख्दा लाज लाग्ला कि नलाग्ना कुन्नि ? 

कुरा राजधानी हेटौँडाको हो । यहाँबाट काठमाडौँ जोड्ने ६ वटा बाटा छन् । तर, कुनै पनि बाटोले आपतको बेला काम दिँदैन । धन्न, कुशकुमार जोशीहरूले खोल्ने भनेको भीमफेदी–काठमाडौँ सुरुङमार्ग खुलेन र ! नत्र त्यो बाटोको पनि हविगत त्यस्तै हुन्थ्यो कि ? अचेल चियापसलतिर जोशी र पूर्व सांसद एवं सुरुङमार्गका अभियन्ता सुवासचन्द्र ठकुरीप्रति मानिसले यस्तै व्यंग्य गर्छन् । 

यो साताको निरन्तर वर्षाले हेटौँडा–सिस्नेरी काठमाडौँ, हेटौँडा–फाखेल काठमाडौँ, हेटौँडा–चन्द्रागिरी–काठमाडौँ, हेटौँडा–ठिंगन हुँदै काठमाडौँ (कान्तिलोकपथ), हेटौँडा–पालुङ हुँदै काठमाडौँ (त्रिभुवन राजपथ), र हेटौँडा–मुग्लिन हुँदै काठमाडौँ (महेन्द्र राजमार्ग) सबै ठप्प बनायो । सबैभन्दा बढी क्षति त हेटौँडा–सिस्नेरी–काठमाडौँलाई भएको छ, जहाँ मकवानपुरको सिस्नेरी बजार, प्रहरी चौकी नै रातारात बगेको छ ।

अहिले पो प्रदेशको राजधानी हेटौँडा बन्यो र अलि अलि बाहिरका सुकिला मुकिला मान्छेहरू हेटौँडा आउँछन् । नत्र हेटौँडाबाट काठमाडौँ पुग्ने यति धेरै बाटो किन बनाइनुपर्‍यो ? भन्ने प्रश्न उत्तिकै टड्कारो रुपमा उठिरहेको छ । आफ्नो गाउँ हुँदै काठमाडौँ शहरमा मोटर पुगोस् भन्ने चाहना सबैमा हुन्छ, त्यो यहाँका नेताले पनि गरे । तर, ती सबै बाटोहरूको सट्टा एउटै बलियो बाटो किन बनाइएन भनेर व्यापक प्रश्न उठेको छ । यतिखेर सिस्नेरीमा त्यति ठूलो विपद् आयो, मान्छेहरू १९ घण्टा लगाएर हिँड्दै काठमाडौँ पुगेर आफ्ना पीडा सुनाइरहेका छन् ।

सिस्नेरीस्थित एन्फा एकेडेमीमा रहेका ६ जना बालक पहिरामा परे । यदि, हेलिकोप्टर पुग्दैनथ्यो भने ती शव अहिलेसम्म आफन्तलाई बुझाउन सकिने स्थिति नबन्न सक्थ्यो । प्रदेश राजधानीबाट संघीय राजधानी जोड्ने बाटोहरूको यस्तो हालत छ । 

अरु बेला मन्त्रीहरूका लावालस्कर

अरु सामान्य बेला भने मन्त्रीहरूको लावालस्करले हेटौँडा–कुलेखानी–सिस्नेरी काठमाडौँ खण्ड भरिभराउ हुने गर्छ । यस्तो दृष्य हेर्न शुक्रबारको दिन यो बाटोमा यात्रु गर्नुपर्छ । एकपछि अर्का गर्दै बिहानैबाट मन्त्री र कर्मचारीका सरकारी प्लेटका झण्डै १ सय वटाजति गाडी यो बाटोमा चलेका भेटिन्छन् । शुक्रबार काठमाडौँ नपुगे के–के नै बितिहाल्ला जसरी उनीहरू काठमाडौँ फर्किरहेका हुन्छन् । त्यसो त शक्ति केन्द्रहरू काठमाडौँमै सीमित हुने, शक्ति केन्द्रहरू नधाइकन मन्त्री र सचिवहरूको ‘स्थायित्व’ नहुनेजस्ता कारण पनि यो लावालस्कर देखिन्छ । संघीयताको मूलमर्म अझै काठमाडौँ केन्द्रित भइदिने र विकास, सेवा, सुविधा उतै थुप्रिरहने जस्ता कारणले मन्त्रीहरूको लावालस्कर देखिन्छ । तर, उनै मन्त्रीहरूले आफू हिँड्ने बाटोलाई ‘स्थायी’ र बलियो बनाउन चुँक्क बोलिरहेका हुँदैनन् । धन्न, तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको जोडबलले हेटौँडा–कुलेखानी खण्ड फराकिलो पारिएकाले दुर्घटनाका ठूला समाचार आइरहेका छैनन् । 

कुलेखानी जलविद्युत् आयोजना किन दोषी ?

मकवानपुरमा पनि एन्फाले फुटबल एकेडेमी सञ्चालन गरेको र नयाँ खेलाडी उत्पादन गरिरहेको भन्ने कुरा सर्वसाधारण मान्छेले यसपटक पहिरामा परेर ६ जना खेलाडीको निधन भइसकेपछि मात्रै थाहा पाए । 

निरन्तर पानी परिरहेकै थियो । मानव निर्मित इन्द्रसरोवर तालको पानी भरिँदै थियो । सोही तालबाट नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम, द्वितीय र तृतीय आयोजनाहरु सञ्चालित छन् । कुलेखानी जल विद्युत् आयोजनाले ताल भरिन लागेको भनी आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदै तालका ढोकाहरू खोल्न लागेकाले सिमसार क्षेत्रका मानिसलाई सजग गराउन लगायो । नभन्दै गएको शनिबार साँझ ढोकाहरू पनि खुले । तर, खुलेको त्यही पानी बाढीमा परिणत भयो र ३ किलोमिटर तल रहेको सिस्नेरी बजार पूर्ण रूपमा बगाइदियो । 

त्यसो त त्यसरी बाढी बढेको र पहिरोको समेत जोखिम देखिएपछि इन्द्रसरोवर गाउँपालिका २ स्थित बत्सलादेवी माध्यमिक विद्यालयमा रहेको एन्फा फुटबल एकेडेमीको होस्टलमा त्यसको असर पर्‍यो । झण्डै ४० जना जुनियर फुटबलरलाई सुरक्षित स्थानमा सार्न खोजियो । त्यसमध्ये ६ जना पहिरामा परे । उनीहरूको प्राणान्त भयो । मृत्यु हुनेमा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानका छोरा अनुपमसमेत थिए ।

यसरी जलविद्युत् आयोजनाले सूचना जारी गर्न लगाएर आतंकित पार्ने, पूर्व तयारीका लागि कुनै पनि काम नगरिदिनेजस्ता घटनाक्रमका कारण यतिखेर कुलेखानी जलविद्युत् आयोजनाप्रति सिस्नेरीबासीको आक्रोश छ भने ६ जना बालकको ‘मृत्यु होइन, हत्या हो’ भन्दै यसको जिम्मेवारी एन्फा एकेडेमी र जल विद्युत् आयोजनाले लिनुपर्छ भन्ने दबाब बढेको छ । एन्फा एकेडेमीका अध्यक्ष एवम् पूर्व सांसद सुवासचन्द्र ठकुरीले यो घटनामा जल विद्युत् आयोजना दोषी रहेको आरोपसहित फेसबुक स्टाटस लेखेर फोन स्वीच अफ गरी बसेका छन् । मृतक ६ जनाकै शव आफन्तलाई जिम्मा लगाएर सद्गत गरिसकिएको छ । घटनाबारे छानबिनको तयारी कहीँकतैबाट भएको छैन ।

–    शिवकुमार काशी

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू