बेलायत पुगेका हर्कलाई रविको चिन्ता, उतैबाट अदालतलाई चुनौती

बेलायत पुगेका हर्कलाई रविको चिन्ता, उतैबाट अदालतलाई चुनौती
सुन्नुहोस्

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अदालतको आदेशलाई ठाडो चुनौती दिएका छन् । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक तोक्ने निर्णय अदालतले उल्ट्याइदिएपछि उनले आदेश अवज्ञा गर्ने बताएका हुन् । 

उपमेयर हुँदाहुँदै आफ्ना मामाससुरा पर्ने वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक जिम्मेवारी दिएर बेलायत गएका हर्क यतिखेर उतै छन् । यसैबीच वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने उनको निर्णयविरुद्ध उपमेयर आइन्द्रविक्रम बेघाले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले निवेदकको मागबमोजिम आदेश गरेपछि बेलायतबाटै हर्क ‘फायर’ भएका हुन् । 

अस्ति न्यायाधीश ध्रुवराज नन्दको इजालसले मेयरको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । तर, हर्कले भने आफूलाई अदालतले जनप्रतिनिधि नबनाएकाले आदेश मान्न बाध्य नहुने अराजक प्रतिक्रिया दिएका छन् । 

‘मैले नागरिकले दिएको अधिकार दिएर ११ नम्बरको अध्यक्षलाई कार्यवाहक छोडेको छु’, उनले भनेका छन्, ‘मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक ।’ 

विरोधीहरुलाई मुख छाड्न नपरोस् भन्दै उनले हल्ला नगर्न पनि चेतावनी दिएका छन् । ‘केही हल्ला नगर । मुख छाड्नु नपरोस् । म दुई दिन युके आउँदा बद्नाम गर्दै नबस है’, हर्कराजको भनाई छ । 

समाजिक सञ्जालमा व्यस्त रहने हर्कराजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विषयमा पनि उतैबाट टिका–टिप्पणी गरिरहेका छन् । रविलाई उनकै पार्टीका कतिपयले फसाउन खोजेको मेयरको अनुमान छ । 

‘रविलाई फसाउन आफ्नैहरु लागेका हुन सक्छन्’, उनले फेसबुकमा लेखेका छन्, ‘ऊ गएपछि को आउँछ हाइट र लाइटमा ? त्यो चाल त होइन ?’

लामिछाने पक्राउविरुद्ध कार्यकर्ताको प्रदर्शन देखेर होला ! उनले फेरि लेखेका छन्, ‘सहकारी पिडितहरुको पैसा फिर्ता गर्ने कुनै उपाय छ ? आन्दोलन त्यो दिशामा चाहिँ हुनुपर्ने हो ।’

टिप्पणीहरू