धनराजकी 'पूर्वपत्नी' खोज्न इन्टरपोललाई पत्र

धनराजकी 'पूर्वपत्नी' खोज्न इन्टरपोललाई पत्र
सुन्नुहोस्

नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । 

ललितपुरस्थित मितेरी सहकारीको रकम अपचलनमा मुछिएकी उनीविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर, भागेर अमेरिका पुगेकी उनलाई समात्न प्रहरीले इन्टरपोलको सहयोग लिन लागेको हो ।  

सिआइबीले नेशनल कन्ट्रोल ब्यूरो (एनसिबी) मार्फत् ज्योतीसहित उक्त सहकारी ठगीमा जोडिएका दुई जनाविरुद्ध रेडकर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्र पठाउने तयारी गरेको बताइएको छ । नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।

गुरुङ मितेरीको प्रबन्धक निर्देशक रहँदा बचतकर्ताको साढे १२ करोड हिनामिना भएको थियो । यस सम्बन्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सिआइबी र सूर्य थापा नेतृत्वको संसदीय समितिमा पनि उजुरी दिएका थिए । 

कुम्भराजका अनुसार सहकारीको रकम हिनामिना भएको खुलेपछि सञ्चालक समितिले ज्योती र धनराजलाई बोलाएर छलफलसमेत गरेको थियो । छलफलमा गुरुङ दम्पत्तिले पैसा फिर्ता गर्ने प्रतिबद्धता पनि जनाएका थिए । तर, पछिल्लो समय धनराजले भने ज्योतीसँग डिभोर्स भइसकेको दावी गर्दै आरोपबाट मुक्त हुन खोजेको देखिन्छ । 

मितेरी सहकारीको प्रकरण सतहमा आएपछि धनराजले भदौ २५ संसदमा भनेका थिए, ‘सम्बन्धमा दरार आएपछि हामीले २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद गरेका हौँ । त्यसैले पूर्वपत्नीको जानकारी मलाई हुने कुरा भएन ।’

उनले ०७६ मा सम्बन्ध विच्छेद गरिसकेको दावी गरिरहँदा कुम्भराजले भने ०७९ को अन्तिमसम्म धनराजले नै ज्योतीको नामबाट फरक-फरक मितिमा करिब ८० लाख फिर्ता गरेको बताएका थिए । धनराजको दावी र कुम्भराजको अभिव्यक्ति विरोधाभासपूर्ण देखिएपछि   कतिपयले ठगी आरोपबाट जोगिन 'फेक डिभोर्स' गरेको टिप्पणी गरेका छन् ।

टिप्पणीहरू