राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई घोचपेच गरेका छन् । खासगरी व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले लिएको दानको विषयमा सांसदहरुले प्रश्न उठाएका हुन् ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रकी सांसद दुर्गा राईले आयोगका प्रमख राईलाई एमालेले जग्गा लिनु भ्रष्टाचार हो कि होइन ? भनेर प्रश्न गरिन् ।
‘१० रोपनी १४ आना जग्गा सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ? एम्नेष्टीले यसलाई भ्रष्टाचार भनेको छ’,उनले सोधिन्, ‘म अख्तियार प्रमुखबाट उत्तर चाहन्छु त्यो भ्रष्टाचार हो कि हैन ?’
एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले पनि आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै प्रमुख राईको चर्को आलोचना गरे । सोधे, ‘भ्रष्टाचार कन्ट्रोल नै भएन । फेलियर भएको हो ?’
नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईले पनि एमाले प्रधानमन्त्री तथा मन्त्रीहरुले धमाधम दान लिए के हुन्छ ? भनेर राईलाई प्रश्न गरिन् । ‘प्रधानमन्त्री,मन्त्री, सांसदहरुले ड्यामका ड्याम गिफ्ट लिन थाले मुलुक के हुन्छ ? लिनेलाई मात्रै होइन गिफ्ट दिनेलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने हुनसक्छ’, उनको भनाई छ ।