सबै श्रेणीहरू

एमालेलाई जग्गा दिने निर्णयमा अदालतको रोक्

एमालेलाई जग्गा दिने निर्णयमा अदालतको रोक्

व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा (एमाले) ले जग्गा लिने निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज जग्गा दानको निर्णय तत्काल यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

भ्रष्टाचारमा दोषी ठहर भइसकेका व्यवसायीबाट प्रधानमन्त्रीको सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा दान लिँदा स्वार्थ बाझिने भन्दै अधिवक्ता ज्ञानकुमार बस्नेतले गत बुधबार रिट दायर गरेका थिए । यद्यपि,शुरुमा सर्वोच्चको प्रशासनले उनको रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दरपिठ बदर गर्दै दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चले कात्तिक २६ गते पेसी तोकेर दुवै पक्षलाई बोलाएको छ। 

अधिवक्ता बस्नेतले सरकारको नेतृत्व गरिरहेको दलले विवादित व्यक्तिबाट जग्गा लिनु भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको रिटमा दाबी गरेका छन् । 

ललिता निवास प्रकरणमा दोषी ठहर भएका व्यवसायी गुरुङलाई विशेष अदालते दुई वर्ष कैद सजाय सुनाएको थियो । तर उनी साढे दुई करोड धरौटी बुझाएर छुटे । त्यस्तै उनीविरुद्धको किर्ते सम्बन्धी मुद्धा अहिले पनि अदालतमा विचाराधीन छ । उनै व्यवसायी गुरुङसँग अबौँ बराबरको सम्पति दान लिएपछि पछिल्लो समय एमालेको सर्वत्र आलोचना भइरहेको छ । 

जग्गा दान लिने विषयमा पार्टीभित्रै पनि चर्को असन्तुष्टी रहेको बताइन्छ । यद्यपि, नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निर्णयविरुद्ध मुख खोलेर बोल्न सकेका छैनन् । सामाजिक सञ्जालमार्फत असन्तुष्टी जनाउने भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई भने पार्टीले स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सिनाले आज च्यासलमा लिखित जवाफ बुझाएको बताइएको छ । भने, रावले अझै आफू अध्ययनको प्रक्रियामै रहेको प्रतिक्रिया दिएका छन् ।