सरकारले सुनेको, पढेको र देखेको चीन
– नारायण नेपाल
चीन बन्द समाजबाट विस्तारै खुला समाजतिर अघि बढिरहेको छ । चीन विश्वका विभिन्न राज्य व्यवस्थासँग प्रतिष्पर्धा गरेर आफूलाई अब्बल सावित गर्ने यात्रामा छ । चीन धेरैको चासो, जिज्ञासा र कौतुहलताको विषय पनि हो । चीन बुझ्न उपयोगी पुस्तक हो, दिपक सरकारको नियात्रा वर्णन– चीन सुनेको, पढेको, देखेको । आजको चीन र उसको विकासमा छलाङले दुनियाँलाई चकित पारेको छ । भाषा शैली तथा राज्यको नीतिका कारण नेपालीले दक्षिण छिमेकी भारतभन्दा चीन बारे बुझ्न जटिल छ । नेपालमा कतिपयले कम्युनिष्ट नजरबाट मात्रै चिनलाई हेर्ने गरेका छन् ।
चीन २३ प्रान्त, ४ महानगर ५ स्वशासित क्षेत्र र २ उच्चस्तरीय विशेष प्रशासनिक क्षेत्र भएको देश हो । यहाँ ५६ जनजाति छन्, यीमध्ये हानबाहेक ५५ अल्पसंख्यक जनजाति हुन् । चीनको विभिन्न ठाउँमा भएको उत्खननमा दुई लाखदेखि १० लाख वर्ष पुराना मानव अवशेष भेटिएका छन् । चिनियाँ आदि मानवहरू आठ हजार वर्षदेखि ५ हजार वर्ष पहिला गुफा छोडेर समथर भूमिमा सरेको मानवशास्त्र अध्येताको दाबी छ । पहेँलो नदी सभ्यता र संस्कृति ६००० वर्ष पुरानो ढुङ्गे युगसँग जोडिएको छ । यङ्चे नदी चीनको सबैभन्दा लामो नदी हो । यो नदीले छुने उपत्यकाहरू प्राग ऐतिहासिक मानव जातिको अन्वेषणले निक्र्यौल गरेको छ । पैचिङ अपेराको इतिहास २०० वर्षभन्दा पुरानो भएको तथ्य पुस्तकमा वर्णन गरिएको छ (पृ १२, १३ ।
हामीले सूर्यपात्रोलाई मान्छौँ, चिनियाँहरूको चन्द्र पात्रो हो । उनीहरूले यिन र याङ आकाश मण्डलको अध्ययन गर्ने विधि ३५०० वर्ष पहिले थालेको मानिन्छ । कालो र सेतो दुई रङ्गले सकारात्मक र नकारात्मक अर्थ राख्छ । ईपू ५५१ मा जन्मिएका कन्फुसियस दार्शनिक र विचारक थिए । उनैको दर्शनले २५०० वर्षदेखि चिनियाँ समाजलाई उत्प्रेरित गर्दै आएको छ । चिनियाँ संस्कृतिको एउटा अविच्छिन्न भाग कन्फ्युसियस संस्कृति हो । यसबारे पुस्तकमा सविस्तार उल्लेख गरिएको छ । सम्राट छिनको आदेशमा हजारौँ कामदारले ३९ वर्ष लगाएर समाधिस्थल निर्माण गरे । यो परियोजनामा सात लाख २० हजार कामदार खटाइए । त्यतिखेर छिन राज्यको जनसंख्या नै जम्माजम्मी २ करोड थियो । त्यहाँ हाल टेराकोटा संग्रहालय स्थापना गरिएको छ ।
सानसिंङतुई संग्रहालयको मुख्य विशेषता ३००० वर्षभन्दा पुरानो काश्य युगकालीन वस्तुसँग साक्षात्कार गर्नु हो । छिङ राज्यकालभन्दा अगाडिका विद्वान लुइ वसन्त र शरद ऋतुको इतिहासमा लेख्छन्, ‘स चोङले गाडीको आविष्कार, कानचेले लेख रचना, हउचीले बाली रोपाईं, गाओ ताओले दण्ड जरिवानाको सुरुवात, कुन उले भाँडाकुँडा र सिआन गुनले ग्रेटवालको थालनी गरे । चिनियाँ इतिहासमा असल व्यक्ति भनेर उनीहरूलाई चिन्ने गरिन्छ । अक्षर कुँदिएका हाडका टुक्राहरू चीनको शाङ शासनकालका हुन् । यही कालमा चाँदीका भाँडाकुडासमेत प्रचलनमा आयो ।’
चीनको ग्रेटवाललाई अन्तहीन पर्खाल अर्थात् १० हजार लिको पर्खाल भन्ने गरिन्छ । यो नागबेली पर्खाल पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । ग्रेटवाल निर्माण कार्यले २००० वर्षको इतिहास बोकेको छ । यो अवधिमा २१९६, १८ किलोमिटर लम्बाइको पर्खाल बन्यो । अहिलेको ग्रेटवाल ६७०० किलोमिटर खण्डमा बनेको र पश्चिम मरुभूमि चिआयुपासदेखि पूर्वी समुद्रसम्म फैलिएको छ । यस्ता तथ्यगत कुरालाई लेखकले आफ्नो पुस्तकमा सन्दर्भसहित उल्लेख गरेका छन् ।
सेतो घोडा बिहार चीनको पहिलो बौद्ध विहार हो । आधिकारिक अभिलेखअनुसार चु सि सिंह पहिलो चिनियाँ भिक्षु हुन् । अन्य भिक्षुहरूमा फासियान र स्वयनचाङको नाम पनि उल्लेख छ ।
लुम्बिनीलाई शाक्यमुनि बुद्धको जन्मथलो भनी भौगोलिक र ऐतिहासिक आधार सहित प्रमाणित गर्ने चिनियाँ भिक्षु स्वेन चाङ हुन् । पश्चिमको तीर्थयात्रा सकेर फर्केपछि उन तयार पारेको यात्रा वृत्तान्तमा ११० राज्यहरूको वर्णन र २८ राज्यको विवरण संकलित छ । उनको ६४ वर्षको उमेरमा निधन भएको थियो ।
मञ्जुश्रीलाई बोधीसत्व ज्ञान र नैतिकताको प्रतीक मानिन्छ । उनी चीनको पञ्चशीर्ष पहाडबाट नेपाल आएको भनाइ छ । पुस्तक ‘चीन सुनेको, पढेको, देखेको’मा यस प्रसंगलाई यसरी उल्लेख गरिएको छ, ‘अरनिकोको कलाकारिताबाट खुशी भएका शाक्य पण्डितका भतिजा भिक्षु फाकपाले यआन वंशका सम्राट् कुबलाई खानसमक्ष अरनिकोलाई लिएर गएका थिए । तिब्बत हुँदै चीन यात्राको तय सो घटनाबाट भएको हो । उनको मृत्यु ६१ वर्षको उमेरमा भयो । उनको देहलाई पैचिङको उत्तरपश्चिम कुनामा पर्ने बाङफिङ स्याङसानमा समाधिस्थ गरिएको थियो ।’
सेतो चैत्य चीनको सांस्कृतिक क्रान्तिको बेलासमेत नबिगारिएको एउटा सांस्कृतिक सम्पदा हो । यस सम्पदाको प्रसंग पनि नियात्राकारले पुस्तकमा सरल रूपमा गरेका छन् । सम्राट् कुब्लाई खानको पालामा २४ वर्ष बिताएर भेनिस फर्किएका मार्कोपोलोले चीनसम्बन्धी यात्रा पुस्तक लेखे । जुन युरोपमा चर्चित भयो, पुस्तकमा उल्लेखित यात्रामार्ग नै रेशम मार्गको रूपमा चर्चित भयो भन्ने कुरा दीपक सरकारले आफ्नो पुस्तकमा कोट्याएका छन् । पुस्तकमा नियात्राकारले चर्चहरूको चर्चासमेत गरेका छन् । सेन्ट सोफिया चर्च सन् १९०७ मा रुसीहरूले बनाएका थिए ।
तिब्बती राजासँग बिवाह गरेकी नेपाली राजकुमारी भृकुटी कसकी छोरी हुन् यो प्रश्नको निक्र्योल अझै हुन सकेको छैन । लेखकले उक्त कुराको पुष्ट्याइँ हुने गरी तथ्य प्रस्तुत गर्न सकेका छैनन् ।
गोरो छाला भएका सबै चिनियाँको मन गोरो नहुन सक्छ, कालो मन र कालो धन्दामा लागेकाहरूले चीन देश र चिनियाँ जनताको मात्रै होइन नेपालका नेताहरूको समेत सुन तस्करीमा नाम जोडिएर हरिविजोग भएकै छ । यो चीनलाई नचिन्नु वा चिन्न नसक्नुको समस्या हो । सबै पहेंलो धातु सुन होइन भनेजस्तै सबै चिनियाँ कम्युनिष्ट होइनन् र सेतो छाला हुनेको पनि मन कालो हुन सक्छ भन्ने बुझ्न चीनको समाज र राजनीतिको अध्ययन जरुरी हुन्छ । चीनको प्रारम्भिक ज्ञानको लागि यो पुस्तक उपयोगी हुन सक्छ ।
टिप्पणीहरू