यौन हिंसाको आरोपमा डाम्ने प्रवृत्ति बढ्दो
पछिल्लो समय जर्बजस्ती र यौन दुर्व्यवहारको घटना दिनहुँ बढिरहेका छन् । यस्ता घटनामा सामान्यतयाः महिला पीडित र पुरुष पीडक हुने गरेको पाइन्छ । तर कतिपय अवस्थामा सहमतिमै भएको र राखिएको सम्बन्धलाई पनि जबर्जस्तीमा परिणत गराउने प्रवृत्ति निकै डरलाग्दो तरिकाले बढेको बताइन्छ ।
हुनतः मुलुकको प्रचलित कानुनले दिएको सुविधालाई प्रयोग गरेर पुरुषलाई पीडक करार गराउन गलत विचार बोकेका केही महिलालाई तुलनात्मक रुपमा सजिलो पनि हुने गरेको छ । तर यही प्रवृत्ति मौलाइरहने हो पुरुषको पीडा कसले सुन्ने?
कतिपय अवस्थामा सुरक्षा निकायहरुभित्रै पनि यस्ता प्रश्न उठ्ने गरेको छ । तर, धेरैजसो घटनामा महिला पीडित पाइन्छन् । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा कार्यरत एक जना इन्सपेक्टरमाथि एक महिला प्रहरी जवानले यौन शोषणको आरोप लगाएकी छन् । तर, आरोपित इन्सपेक्टरले त्यसको खण्डन गरेका छन् । उनी भन्छन्, ‘हुँदै नभएको कुरोलाई अनेक रंग दलेर प्रचार गरेपछि पुरुष पनि पीडामा परेको उदाहरण धेरै सुनिएको थियो । मेरो विरुद्धको प्रचार पनि त्यसैको एक हो भन्नेमा म ढुक्क छु । अनाहकमा अरुलाई आरोप लगाउने काम गर्न भएन नि ।’
नाम नबताउने शर्तमा प्रहरी प्रधान कार्यालय, नक्सालका एकजना डिआईजी भन्छन्, ‘हाम्रो समाजको प्रभाव अन्यत्रझैँ प्रहरी संगठनभित्र पनि पर्न थालेको छ । नयाँ पुस्ताबीच प्रेमको नाममा सहमतिमा लिभिंग टुगेदरमा बस्ने प्रवृत्ति जताततै भेटिन थालेको छ । त्यही टुगेदर टुटेपछि एकोहोरो आरोप लाग्ने गरेको पक्षलाई पनि अब केलाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा महिला निकै पीडित हुने गरेको पाइएको छ । तर, सबैमा पुरुष पीडक भए भन्ने अर्थ लगाउन मिल्दैन । यो निकै संवेनशील विषय हो ।’
टिप्पणीहरू